‘अन्तर’ को अन्तरकुन्तर
लेखकलाई लाग्यो, ठमेल र रत्नपार्कका रातहरू बेगर शब्दको शहर यात्रा अपूरो हुन्छ। तर, शहरको उन्मुक्त ठाउँमा पनि कुनै अर्को समलिङ्गी नभेट्नुले चाहिं कथा अपूरो बनेको छ।
ओसन वोङको अन अर्थ वी आर ब्रिफ्ली गर्जियस, निरञ्जन कुँवरको बिट्वीन क्वीन्स एन्ड द सिटीज र रमेश सायनको अन्तरबीचको समानता के हो भने यी तीन वटै पुस्तकका नायक समलिङ्गी पुरुष हुन्। तीनै लेखकले लैङ्गिक अल्पसंख्यक समुदायको कथा भन्ने जुन प्रयास गरेका छन्।
रमेश सायनको उपन्यास अन्तरको कुरा गर्दा, यसको नायक ‘शब्द’ हो। उपन्यासको शुरूआत शब्दको किशोरावस्थाबाट हुन्छ। शारीरिक र मनोवैज्ञानिक दुवै हिसाबले जटिल मानिने किशोरकालीन दिनहरूमा ऊ आफ्नै शरीरमा आएका परिवर्तन देखेर पुलकित र अचम्मित हुन्छ।
आफ्नै शरीरबाट प्राप्त हुने रोमाञ्चकता देखेर छक्क पर्छ। तर, समाजले खोज्ने केटा मान्छेको परिभाषाभित्र नपरे झैं महसूस गर्छ। साथीवृत्तमा पर्न वा भनौं साथीहरूको लहडमा प्रेममा परे झैं गर्छ। तर, अरू साथी झैं महिला शरीरलाई प्रेम गर्न सक्दैन। प्रेम गर्दिनँ भन्न पनि सक्दैन।
ऊ उच्च शिक्षाका लागि शहर छिर्छ। शहरमा फरक यौनिक पहिचानका कारण लहडिन्छ। बहकिन्छ। तर, उठ्छ पनि। अन्त्यमा ऊ सबैलाई पछाडि राखेर आफ्नो यौनिकतालाई सम्बोधन गर्छ।
उपन्यास शब्दको जीवनयात्रा हो। उसको किशोरावस्थादेखि वयस्क हुँदासम्मको करीब १० वर्षको भोगाइ हो।
यसभित्र उसको भौगोलिक यात्रा मात्र छैन, उसले आफैंभित्र पहिचान गरेको मानसिक यात्रा पनि छ। अरूको नजरमा सबै कुराले भरिपूर्ण एक सग्लो मानिस झैं देखिए पनि फरक यौनिक पहिचानका कारण उसले गरेको यात्रा फरक छ।
उपन्यासमा शब्दको यौनिक पहिचानको कारण उसका टुक्रिएका मनोभावहरू प्रशस्तै छन्। शायद यसअघि फरक यौनिक पहिचानका मानिसको कथा आख्यानमा आएको थिएन। आएको भए पनि त्यसै विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएको थिएन। विषयवस्तुको हिसाबले यो पृथक् र गह्रौं प्रयास हो।
उपन्यासको कथानक सरसर्ती हेर्दा कुनै चलचित्रको पटकथा झैं लाग्छ। शब्द चलचित्रको नायक झैं लाग्छ।
तर, कतिपय अवस्थामा चाहिं कथानकलाई नचाहिने व्याख्या गरिए झैं महसूस हुन्छ। कतिपय अवस्थामा कथानक अचानक अघि बढे झैं लाग्छ।
‘कलेज टपर’ मेधावी केटो गाँजाको अम्मली बन्छ। उसले एकाएक कसरी गाँजा खान कसरी शुरू गर्यो? यसको उचित कारण नदेखाई लेखकले उसलाई अम्मली बनाइदिन्छन्। गाँजालाई पनि ध्यान ठानेर रमाएको रोमाञ्चकताको कथा मात्र छ। फेरि एकाएक दिव्य ज्ञान पाएर ऊ अम्मलबाट पर पुग्छ। कसरी? यी प्रश्न अनुत्तरित छन्।
स्कूलबाट क्याम्पस पढ्न काठमाडौं छिरेपछि एकाएक हराएकी अनुजा अन्त्यमा योद्धा बन्छे। किन बन्छे? कसरी बनी? पुस्तकले बोल्दैन।
पुस्तकले समलैङ्गिकता त बोल्छ, तर त्यसका सूक्ष्म पाटाहरू बिर्से झैं लाग्छ। अनेकौं भिन्नताबीच पनि शब्दको चित्रण उपन्यासमा एक आम चित्रण झैं लाग्छ। काठमाडौंको फराकिलो महफिलमा छिरेर पनि किन उसले यौनिकताले फराकिलो क्यानभास पाएन? किन उसका साथीहरू अमन बाहेक अरू कसैले पनि उसको पहिचान सहित उसलाई स्विकार्न सकेनन्? शहरको कोलाहलमा किन आफू जस्तै अर्को मानिस भेटेन? यी यस्तै कुराहरूले कथानकलाई साँघुरो बनाएका छन् र पात्रहरूको चरित्र चित्रण आलोकाँचो बनेको छ।
फरक यौनिक पहिचानको कथा भनिरहँदा कथा बढी खुकुलो र समलैङ्गिकताले निम्त्याएका अनुभूतिका अरू पत्रहरूलाई त्यसै छोडेको महसूस हुन्छ। शब्दले यदाकदा अनुजालाई प्रेम गरे जस्तो पनि गर्छ र कयौं पटक उसको शरीरको छुवाइलाई पीडा झैं सम्बोधन पनि गर्छ।
स्कूले शिक्षापछि काठमाडौं छिर्ने समयमा शब्द भन्छ, “मेरो मन अमिलो भयो। अनुजालाई कसेर अँगालो हाली रुन मन थियो। तर, केटा थिएँ, उसको प्रेमी थिएँ। केटा त बलियो हुनुपर्छ। प्रेमिकाको अघि बाहुबली हुनुपर्छ भन्ने लाग्थ्यो। हामी दुवै अलग अलग पीडामा सँगै रोयौं।”
कहिल्यै ऊसँग प्रेममा भएको महसूस नगरे पनि किन उसले प्रेमिका भनेर सम्बोधन गर्यो भन्न आवश्यक नहुँदा पनि लेखकले किन अनुजालाई प्रेमिकाकै सम्बोधनमा राखिरहे? यस्ता कमजोरीबाट भने अन्तर उम्कन सकेको छैन।
उपन्यासकारले ‘सेल्फ प्लेजरको’ को पाटोलाई व्याख्या गर्न जति शब्द खर्चेका छन्, त्यति शब्द अरू सामाजिक पाटोमा आएको हलचललाई खर्च नगरेको देखिन्छ।
ससाना नानीहरू सजिलै प्रेमीको हात समाएर चलचित्र हलसम्म पुग्नु, मेला घुम्नु जस्ता घटनाक्रमले उपन्यासकारले सिर्जेको संसार र वास्तविक संसारबीच तुलना गर्न बाध्य बनाउँछ।
पात्रको उमेरभन्दा पात्रहरूले गरेको प्रेम परिपक्व लाग्छ। कथाको परिवेश ५० देखि ६० को दशकको छ। तर, कथाका पात्रहरू समयभन्दा अझ धेरै अगाडि छन्।
उपन्यासकारले शब्दको शहर बसाइँका क्रममा उसलाई ठमेलका रङ्गीन गल्लीदेखि रत्नपार्कका रातहरूसम्म पुर्याएका छन्। शायद लेखकलाई लाग्यो, ठमेल र रत्नपार्कका रातहरू बेगर शब्दको शहर यात्रा अपूरो छन्। तर, शहरको उन्मुक्त ठाउँमा पनि कुनै अर्को समलिङ्गी नभेट्नुले चाहिं कथा अपूरो बनेको छ।
गाउँभन्दा फराकिलो संसारमा पनि स्वामी तेज बाहेक कोही अरू ऊ जस्तै नभेटिनुले कथालाई अझ एकात्मक र फितलो बनाएको छ।
विषयवस्तु र भाषाका हिसाबले अब्बल हुँदाहुँदै पनि विविध कमजोरीका कारण पुस्तक औसत बनेको छ। पात्रहरूको निर्माण र कथा भन्ने शैलीमा सायनले पुरानै शैली प्रयोग गरेका छन्। माओवादी विद्रोह, रमाउनका लागि उही ठमेल जस्ता धेरै कुरा अरू कुनै लेखकको चित्रणभन्दा फरक छैन।
पुस्तकको नाम नै अन्तर राखिए पनि विषयवस्तु बाहेक पुस्तकमा अरू कुनै विशेषता भेटिंदैन। सायनका गैरआख्यान जसरी पृथक् र आकर्षक लाग्छन्, आख्यानमा उनको प्रस्तुति त्यस्तो भेटिंदैन।
सायनले उपन्यासमा समलैङ्गिकतालाई उज्यालो दृष्टिकोणबाट देखाए होलान्, तर पात्रको रूपमा शब्दको मनोभाव उतार्दा उनको प्रस्तुति अलि आदर्शवादी लाग्छ। अलि अपत्यारिलो पनि।
ऊभित्रको आक्रोश र कुण्ठा, समाजकै भएर पनि समाज बाहिर बस्नुपरेको पीडा बिरलै उपन्यासमा भेटिन्छ। शब्द बारम्बार भन्छ, “मलाई स्त्री शरीर देखेर डर लाग्छ।” उपन्यास पढ्दा यो वाक्य अनौठो लाग्छ- के मानिस आफूभन्दा फरक प्रकृतिको शरीर देखेर डराउँछ र?
खैर, सायनले यस्तो विषय उठाए, जुन लेख्न सजिलो थिएन। उनले त्यो यौनिकताको अनुभवलाई लेखे, जुन उनको होइन। शायद एक सफल लेखक हुनु भनेको पनि अरू कसैको कथालाई शब्दमा उतारिदिनु हो।
आज पनि यौनिकताबारे हाम्रो समाज खुलेर बोल्दैन। त्यो वर्जित विषयमाथि सायनले गरेको प्रयास केही कमजोरीका बाबजूद सफल प्रयास हो।