भक्तहरूको यौन र सम्पत्ति शोषण गर्ने बाबाहरूको अपराध-लीला
सर्वसाधारणलाई अन्धविश्वासमा भुलाएर स्वास्थ्यमा खेलबाड गर्ने र सम्पत्ति लुट्नेहरूलाई न नियमन छ न त कारबाही।
मेरा हरेक पाइला पाइला उही गुरुको दिव्य ज्योति
हरेक शब्द अमृतसरि फैलिदिन्छ जगत्भरि
सारा पीडा हरिलिने आफ्नो खुशी सबलाई बाँड्ने
लरबरिंदा हात समाई स्नेहले जङ्घार तार्ने।
सात वर्षअघि चर्चित गायक आनन्द कार्कीले गाएको र शंकर प्रधान ‘शौर्य’ ले लेखेको यो भजनको भिडिओमा एक व्यक्तिलाई भगवान्को अवतारका रूपमा प्रस्तुत गरिएको छ। सेतो वस्त्र र घाँटीमा रुद्राक्षको माला पहिरेका उनी घरी पद्मासन मुद्रामा ध्यान गरेको त घरी हात उठाएर आशिष दिएको अभिनय गर्छन्। भिडिओमा मात्र होइन बाहिरको दुनियाँमा पनि उनका हर्कत यस्तै नै थिए। आफूलाई मार्गदर्शक र मुक्तिदाताका रूपमा चिनाउँथे।
त्यसैले त ‘शिवशुत गौरी भक्त’ भनिने उनको आश्रममा भक्तहरूको भीड लाग्यो। तर, भक्तहरू त्यति वेला छाँगाबाट खसे जस्ता भए जब आफूले आँखा चिम्लेर भरोसा गरेका ‘गुरु’ बाटै आफ्नो श्रीसम्पत्ति लुटिइरहेको चाल पाए।
खास नाम पुरुषोत्तम काफ्ले रहेका कथित गुरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी, विश्वासघात गरेको तथा आपराधिक लाभ (एक्स्टर्शन) लिएको आरोपमा पक्राउ गरेको छ। काफ्लेका सहयोगी लक्ष्मी न्यौपाने, कान्छीमाया लामा र निशा तिवारी विरुद्ध पनि प्रहरीले मुद्दा चलाएको छ।
असार ९ मा पक्राउ परेका काफ्लेले ४० जनाबाट कुल पाँच करोड रुपैयाँ र ६९ तोला सुन ठगी गरेको साउन २ मा जिल्ला अदालत काठमाडौंमा दायर गरिएको अभियोगपत्रमा उल्लेख छ। अहिलेको बजार मूल्य अनुसार उक्त परिमाणको सुनलाई रुपैयाँमा हिसाब गर्दा ७८ लाखभन्दा बढी हुन आउँछ। पूरक जाहेरी आउने अपेक्षा सहित अदालतमा मुद्दा दायर गरिएकाले बिगो बढ्न सक्ने सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा बताउँछन्।
पुरानो बानेश्वर-गौशाला खण्डको होटल द्वारिकाभन्दा अगाडि बढेर दाहिने मोडिएपछि करीब २०० मिटर पर एउटा चौबाटो भेटिन्छ। चौबाटोबाट दाहिने मोडिनासाथ दाहिनेतिरै ठूलो कम्पाउन्ड छ जहाँ नेपाली सेनाका पूर्व सहायक रथी बीजेन्द्र गौतम खलकका घर छन्। तिनैमध्येको एउटामा दुई वर्षअघिसम्म ओम आश्रम थियो, काफ्लेको आपराधिक कर्मथलो। उनीबाट ठगिने सबै महिला छन्। “पारिवारिक समस्यामा परेका महिलाको अशान्त, अस्थिर मनमा खेलेर यिनले ठगेको पाइन्छ,” एसपी थापा भन्छन्।
दोलखाकी चन्द्रकुमारी मैनाली (परिवर्तित नाम) चिनारु लक्ष्मी न्यौपानेको सङ्गतबाट दशकअघि आश्रममा जोडिइन्। काठमाडौंको तीनकुनेस्थित हाम्रो अभियान नेपाल संस्थाले नारी सशक्तीकरणबारे दिएको तीनदिने तालीम उनलाई खूब चित्त बुझेको थियो। महिला शक्तिशाली भए पनि पुरुषको भर पर्दा कमजोर भएको तालीमबाट सिकेपछि उनी ‘स्वमुक्ति’ खोज्दै आश्रम पुगेकी थिइन्। तालीम उनै काफ्लेले दिने गर्थे। निरक्षर उनी अहिले पतिले खाडीमा कमाएको ६१ लाख रुपैयाँ र आधा तोला सुन ठगिएको उजुरी लिएर सीआईबी धाइरहेकी छन्। पारिवारिक सम्बन्ध भत्कने जोखिममा पुगेको छ। “मलाई त धर्ती नै फनफनी घुमे जस्तो भएको छ,” उनी भन्छिन्, “पैसा उठेन भने घरमा के भन्ने? कस्तो पातकीको फेला परिएछ!”
संस्थाले ७०० महिलालाई यस्तो तालीम दिएको थियो। शुरूमा १०८ रुपैयाँ शुल्क लिन्थ्यो। “११० रुपैयाँ दिंदा २ रुपैयाँ फिर्ता गरिदिन्थे,” उनी सम्झन्छिन्, “दुई रुपैयाँ समेत फिर्ता दिएको देखेर इमानयुक्त ठाउँ भन्ने लाग्थ्यो। तर, शुरूमा विश्वास दिलाउने जाल पो रहेछ।”
आश्रमका सबै भक्त महिला मात्र थिए। उनीहरूलाई प्लास्टिकको कुर्सीमा लहरै राखिन्थ्यो। दुवै नाडी खप्टिई हत्केला छातीमा टाँसेर आँखा चिम्लिन लगाइन्थ्यो। “बाबाले प्रवचन दिन्थे र प्रत्येकको टाउको, कुम, छातीमा छुन्थे। के के जातिले छर्कन्थे,” मैनाली भन्छिन्, “हामी लट्ठ पर्थ्यौं।” प्रायः बिहानदेखि साँझ नपरुन्जेल यसरी नै आश्रममा बिताउने भक्तजनबीच सामान्य भलाकुसारीभन्दा बढी कुराकानी हुँदैनथ्यो। “बाबासँग एक्लाएक्लै भेट गर्न जान्थ्यौं,” उनी भन्छिन्, “अहिले पो सबै एउटै समस्यामा रहेको चाल पाउँदा कति मूर्ख बनेछौं भन्ने भो।”
आश्रममा भारतीय बहुराष्ट्रिय कम्पनी टाटा, बिरला, अम्बानी समूहका मानिस समेत आउने गरेको बताइन्थ्यो। पशुपतिनाथबाट भट्ट झिकाएर वेदपाठ हुन्थ्यो। “यी कार्यक्रम गर्ने पैसा हामीसँगै मागिन्थ्यो। पैसा नभए गरगहना फुकाउन लगाइन्थ्यो,” मैनाली भन्छिन्, “हामी पनि खुशीसाथ दिन्थ्यौं। खै किन हो?”
पछि त काफ्लेले भक्तकै घरमा केही मानिस पठाएर पैसा तथा गरगहना माग्न थाले। आफूले पहिलेको रकम फिर्ता माग्दा काफ्लेले कपालमा समातेर घिसार्दै लात्ताले कुटेको मैनाली बताउँछिन्। “मेरो यौनाङ्गबाट रगत आयो, पाठेघरमा धक्का लागेछ,” उनी भन्छिन्, “अब बाहिर गएर बाबाको हर्कतबारे बोल्छु भन्ने सोच्थें। तर, उसले मेरो शिरमा हत्केला राखेर के के मन्त्र पढेपछि त्यो विचार नै हराइसकेको हुन्थ्यो।”
एसपी थापा पीडितहरूको त्रासपूर्ण मानसिकतासँग खेलेर काफ्लेले आपराधिक लाभ लिएको बताउँछन्। “समस्यामा परेकाहरूको घाउमा शुरूमा मलमपट्टी लगाए जस्तो गर्ने र पछि ठगी गर्ने गरेको देखिन्छ,” उनी भन्छन्।
२०७१ मा खुलेको आश्रममा आठ वर्षमा थुप्रै महिलाले करोडौंको धनमाल लुटाएका छन्। ‘परिवारको भविष्य आमाको हातमा, हाम्रो अभियान तपाईंको साथमा’ नारा दिएको आश्रममा लुटिएकी अर्की पात्र हुन्, कोटेश्वरकी लक्ष्मी सापकोटा (परिवर्तित नाम)। प्रमाणपत्र तहसम्म पढेकी उनले काफ्लेलाई दुई करोड नगद र २१ तोला सुन बुझाएको जाहेरीमा छ।
‘तपाईं जत्तिको महिलाले गाडी चढ्ने हो’ भन्दै शुरूमा १० लाख मागिएकोमा सापकोटाले सरक्क दिइन्। अनेक समस्या र प्रलोभन देखाई ५२ लाख रुपैयाँ फुत्काएपछि काफ्लेले उनलाई २०७६ माघमा २३ कट्ठा जग्गा पास गराइदिने भन्दै बाराको सिमरा पुर्याए। “जग्गा पास गराउने भएपछि मैले थप ४८ लाख दिएँ,” उनी भन्छिन्। तर, जग्गा उनको नाममा आएन।
हिमालखबरले पाएको कागजात अनुसार सिमरामा रहेको काफ्लेको स्वामित्वको जग्गा २०७७/७८ मै बिक्री भइसकेको छ। काफ्लेकी सहयोगी तिवारीको नाममा सिमरामै २३ कट्ठा जग्गा भने रहेको अभियोगपत्रमा छ। सिमराको जग्गा नपाएपछि अर्की सहयोगी न्यौपानेको नरेफाँटको घर बन्धकी राखेर १ वर्षभित्र तिर्ने शर्त सहित ६० लाख रुपैयाँको घरायसी कागज गरियो। कागज भने काफ्लेले नै फुत्काए। “खै कसरी हो, उसले हामीलाई एकोहोर्याएछ,” सापकोटा भन्छिन्, “मैले खै के सोचेर कागज त्यही पातकीलाई बुझाएँ।”
ठग्ने व्यक्तिलाई नै यसरी लगातार विश्वास गरिनुलाई सम्मोहन (हिप्नोटाइजेशन) को प्रभाव मान्छन्, बालाजुस्थित ओम हिप्नोसिस एकेडेमीका थेरापिस्ट रूपक बस्नेत। ‘सम्मोहक थेरापी’ मार्फत बिरामीको मानसिक उपचार गर्दै आएका उनका अनुसार यो विधिभित्र विभिन्न साधनाबाट मानिसलाई सम्मोहन (बेसुद्धी) गराउन सकिन्छ।
अवचेतन मनमा रहेका तनाव र आघातहरू पन्छाउनसम्म यो विधि सहयोगी हुने भए पनि पूर्ण उपचारमा चिकित्सा विज्ञानलाई नकार्न नमिल्ने उनको मत छ। “बाबाहरूले सम्मोहन विद्याबाट बिरामीलाई मानसिक राहत दिनसम्म सक्छन्,” उनी भन्छन्, “त्यसकै प्रभावमा उनीहरू आफूलाई साँच्चै भगवान् भन्दै प्रचार गराउँछन्। अनि ज्ञानको दुरुपयोग गर्दै लूटपाट र ठगी गर्छन्।”
होस्टायलको आशङ्का
काफ्लेले आर्थिक ठगी मात्र होइन यौन उत्पीडन समेत गरेको खुलेको छ। एक पीडितका अनुसार काफ्लेले महिलाहरूको निधारमा लिङ्ग छुवाउने गर्थे। “यसको दर्शन गरे महिलाको मुक्ति हुन्छ भन्दै निधारमा टच गराइदिन्थ्यो,” उनी भन्छिन्।
काफ्लेमाथि १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप समेत छ। हाल १८ वर्ष पुगेकी ती किशोरीले प्रहरीमा जाहेरी दिने तयारी गर्दागर्दै ‘होस्टायल’ बनाइएको यसबारे जानकार एक पीडितले बताइन्।उनका अनुसार हनुमानथानस्थित एउटा ल फर्मलाई जाहेरी लेख्ने जिम्मा समेत दिइएको थियो। तर, जाहेरी तयार भएपछि किशोरी हच्किइन्।
काफ्लेले किशोरीकी आमालाई शुरूमा फाइनान्समा रकम राखे संस्थापक सदस्य बनाउने भन्दै २५ हजार रुपैयाँ फुत्काए। त्यसपछि फाइनान्सका लागि बजारमा रकम उठाउन खटाए। काफ्लेकै उक्साहटमा महिलाले पतिसँग सम्बन्धविच्छेद गरिन्।
काफ्लेले आमा र दुई छोरीलाई कोटेश्वरको ग्रामर स्कूलछेउ कोठा खोजेर राखे। त्यही वेला नाबालिकालाई आश्रममा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ।एसपी थापा बालिका बलात्कारको कुरा सीआईबीमा मौखिक रूपमा उठे पनि जाहेरी नआएको बताउँछन्।
यो ठगीधन्दामा धर्मका नाममा त्रास, आश र अन्धविश्वासलाई मुख्य हतियार बनाइएको पाइन्छ। एक पीडित महिलाका अनुसार काफ्लेले २०७२ को एक दिन उनका बुबा बेलुकी ७ बजेपछि बित्ने भविष्यवाणी गरे। हचुवामा हानेको वाण ठाउँमै लाग्यो, बाबु ७ बजेपछि नै बिते।
यसपछि अन्धविश्वास झन् प्रगाढ भइदियो। “पछि रकम माग्दा तेरो छोराछोरी मारिदिन्छु भन्यो। सबै कुरा थाहा हुनेले मार्छ होला भन्ने लाग्यो र चूपचाप बसियो,” उनी भन्छिन्। जाहेरी दिनेमा एक लाख रुपैयाँभन्दा कम ठगिने कोही छैनन्।
‘भाइरल’ बाबाहरूको शङ्कास्पद धन्दा
पछिल्ला दिन टिकटकमा दुई व्यक्ति निकै ‘भाइरल’ छन्- सीमान्त गुरु भनिने भरत भट्टराई र प्रकाश भुजेल।
हेरेकै भरमा जुनसुकै रोग निको पार्ने दाबी सहित भट्टराई मुलुकका विभिन्न ठाउँ पुगेर ‘स्वास्थ्य शिविर’ चलाउँछन्। बिरामीको घर घर चहारेर इलाज गरे जस्तो गर्छन्। उनले पोखरा, पाल्पा, सुर्खेत, तुल्सीपुर लगायत शहरमा पटक पटक यस्ता गतिविधि गरेका प्रमाण टिकटकमा छरपस्ट भेटिन्छन्।
‘मनको कुरा बुझ्ने म सीमान्त’- टिकटकदेखि स्वास्थ्य शिविर भन्दै टाँगिएका पोस्टरमा उनको परिचय लेखिएको हुन्छ। किड्नी, प्यारालाइसिस लगायतका बिरामी र दीर्घरोगीको सफल उपचार गर्ने ‘ग्यारेन्टी’ गरिरहेका हुन्छन्। उनीसँग स्वास्थ्योपचारको कुनै औपचारिक विशेषज्ञता भने छैन।
शुरूमा काठमाडौं, कोटेश्वरलाई अड्डा बनाएका भट्टराईले अहिले तारकेश्वर नगरपालिका-७ मनमैंजुमा ‘श्री अलौकिक मनोवैज्ञानिक शास्त्री ज्योतिष प्रालि’ खोलेका छन्। “तेल झारफुक गरिदिने भनेर वडा कार्यालयमा पनि दर्ता छ,” वडाध्यक्ष सानुकाजी खत्री भन्छन्, “त्यहाँ उपचारका लागि मानिसको भीड लाग्छ। खै के हो के हो?”
भट्टराईले टिकटकमा राखेको कागजात अनुसार उक्त संस्था गत वैशाख २० गते वडामा दर्ता भएको छ भने कर कार्यालयमा पनि दर्ता छ। संस्थामा भीडभाड बढेपछि तीन महिनाअघि प्रहरी वृत्त बालाजुले सेवा बन्द गराएको डीएसपी मनोजित कुँवर बताउँछन्। “फेरि उपचार हुन थालेकोबारे जानकारी छैन,” उनी भन्छन्, “भीडभाड नहुने गरी व्यवस्थित नबनाई नचलाउनू भनेर बन्द गराएका हौं।”
आफूलाई झाँक्री भन्ने भुजेलले पनि जोरपाटीमा ‘भुजेल मानव सेवा संस्कृति पूजा केन्द्र’ खोलेका छन्। आँखा नदेख्ने, बोली नफुटेका, मानसिक सन्तुलन गुमेकाहरूको उपचारदेखि पूजापाठ मार्फत वैदेशिक यात्रामा जान चाहनेको भिसाको ग्यारेन्टीसम्म। धामी बसेरै गरिदिने भन्दै टिकटकमा अनेक भिडिओ पोस्ट गरेका छन्। बिरामीलाई एम्बुलेन्समा राखेर उनीकहाँ पुर्याइएको भिडिओ समेत देख्न सकिन्छ। तर, स्वास्थ्योपचरमा उनको विशेषज्ञता र औपचारिक योग्यता कतैबाट पुष्टि हुँदैन।
बौद्ध प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेतका अनुसार भुजेलको संस्था कतै दर्ता छैन। “भीडभाड बढेपछि तीन-चार महीनाअघि पनि गएर बुझेका थियौं। त्यहाँ आउनेहरूले भगवान्प्रति आस्था राखे जसरी धामीझाँक्रीको विश्वास गरेर आएको बताए,” उनी भन्छन्, “आस्थाको कुरा भएको र ठगिएको जाहेरी नपरेकाले प्रहरीले निगरानी राख्ने बाहेक केही गर्न सक्दैन।”
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजाल भने प्रहरीलाई समेत गालीगलौज गरेको भिडिओ पोस्ट गरेकाले भुजेल खोजी सूचीमा रहेको दाबी गर्छन्। डीएसपी बस्नेत भुजेल डेढ महीनादेखि जोरपाटीमा नरहेको बताउँछन्।
तर, प्रहरीको दाबी गलत भएको पोल भुजेलले नै खोलेका छन्। फरार भनिएका उनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न सिंहदरबार पुगेकोदेखि हरेक दिन आफू कहाँ छु भन्ने जानकारी टिकटक मार्फत दिइरहेका हुन्छन्।
साउन १ गते उनले गृहमन्त्री श्रेष्ठलाई भेट्न मन्त्रालय पुगेको भन्दै भिडिओ पोस्ट गरेका छन् भने साउन ६ गते त ललितपुरको महालक्ष्मी नगरपालिका-७ को एउटा सार्वजनिक कार्यक्रमको प्रमुख अतिथि नै बनेका छन्। बाइकमान्डु नेपालले आयोजना गरेको तेस्रो सिजनको फूटसल प्रतियोगिताको फाइनल खेलमा भुजेल प्रमुख अतिथि रहेको बाइकमान्डुले फेसबूक, इन्स्टाग्राममा पोस्ट गरेको भिडिओमा देखिन्छ।
साउन ३ को अर्को भिडिओमा आफू आश्रममै रहेको भन्दै विदेशमा रहेका अनुयायीका लागि ह्वाट्सएप नम्बर बाँडिरहेका छन्। सोही दिन चाँगुनारायण र वज्रयोगिनी मन्दिरमा पनि पूजाआजा गरिरहेका देखिन्छन्। पोखरा, चितवनमा पनि उनका शाखा कार्यालय छन्।
विवादित विगत
अलौकिक शक्ति मार्फत दीर्घरोग निको पारिदिने दाबी गर्ने भट्टराई र भुजेलबीच अरू पनि थुप्रै समानता छन्। यी दुवै टिकटकमा रोग निको भएका भनिएका बिरामीका भिडिओदेखि विभिन्न गीतमा आफैंले अभिनय गरेका सामग्री अपलोड गर्छन्। अनि ‘अरूले त ढोंगी भन्छन्, म त्यस्तो लाग्यो त?’ भन्दै गरेको प्रश्नमा बिरामीले ‘होइन’ भनी जवाफ दिएका भिडिओलाई प्राथमिकता साथ प्रचार गराउँछन्।
अर्को समानता, यी दुवै विगत समयका विवादित पात्र हुन्। मोरङको पथरी-शनिश्चरे नगरपालिकाका भट्टराईले मोरङ र झापाका युवालाई विदेश पठाइदिने भन्दै रकम उठाएर भागेको आरोप छ।
हिमालखबरलाई प्राप्त कागजात अनुसार झापाका तेजबहादुर अधिकारीले २०७३ भदौमा वैदेशिक रोजगार विभागमा भट्टराईले विदेश पठाइदिन्छु भनी तीन लाख रुपैयाँ ठगेको जाहेरी दिएका थिए। अरू पीडितले पनि निःशुल्क कानूनी परामर्श केन्द्र मार्फत विभाग र प्रहरीमा उजुरी दर्ता गराएका थिए। तर, भट्टराई कानूनी कारबाहीमा आएनन्।
भुजेलको स्थायी ठेगाना भने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, ज्यामिरे हो। परिवर्तन मिडिया नामक यूट्यूब च्यानलले राखेको भुजेलको बायोग्राफी भिडिओमा ‘कालीमातासँग जम्काभेट भएपछि उनमा दैवी शक्ति आएको’ उल्लेख छ।
भुजेल २०६२/६३ मा १९ वर्षको छँदा माओवादीमा लागेको र तीन महीनापछि भागेको विवरण रहेको भिडिओमा उनी राप्रपा, शाही युवा शक्ति नेपाल जस्ता राजनीतिक संगठनमा पनि संलग्न रहेको भनिएको छ। राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने भुजेल आफ्नो पार्टीमा सक्रिय रहेको आफूले कहिल्यै चाल नपाएको बताए।
शाही युवा शक्ति नेपालमा भने आबद्ध रहेको संयोजक पशुपति खड्काले हिमालखबरसँग पुष्टि गरे। “दुई वर्षअघिसम्म हाम्रो केन्द्रीय सदस्य थिए। अहिले सक्रिय छैनन्। झाँक्रीतिर लागेपछि निष्क्रिय भए,” उनी भन्छन्।
शक्ति केन्द्रको संरक्षण
आफूलाई धार्मिक/आध्यात्मिक/तान्त्रिक गुरु भन्नेहरूले सोझासाझाको विश्वास जित्न अक्सर समाजमा स्थापित र राज्य संयन्त्रमा प्रभाव जमाएर बसेकाहरूसँग आफ्नो सम्बन्ध रहेको देखाउने गरेका छन्। २०७० दशकको शुरूतिर चर्चामा आएका मुक्तिनाथ बाबा भनिने स्वामी कमल नयनाचार्यदेखि अहिले भाइरल भइरहेकाहरूसम्मले राजनीतिक साइनो गाँसेका छन्।
कमल नयनाचार्यले प्रभावशाली राजनीतिक व्यक्तिहरूलाई आफ्नो धार्मिक प्रचारमा उपयोग गरे। २०७१ मा बाग्लुङको पञ्चाकोटमा १०८ फिट अग्लो काँसको करुवा-मूर्ति शिलान्यासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका तत्कालीन वरिष्ठ नेता झलनाथ खनाल, तत्कालीन उपाध्यक्ष वामदेव गौतमलाई एकैचोटि उपस्थित गराए।
यस्तै, राजनीतिक सम्बन्धकै कारण २०७३ मा केपी शर्मा ओली प्रधानमन्त्री भएका वेला चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको १५ बिघा जमीन धार्मिक वनका रूपमा नयनाचार्यको आश्रमलाई दिने निर्णय भएको थियो।
आफूलाई सिद्धबाबा, स्वामी कृष्णदास नामले चिनाउने कृष्णबहादुर गिरीले पनि नेतासँगको सम्बन्ध देखाएर प्रभाव जमाएका थिए। २०६५ मा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री छँदा चतरा धाममा यिनै गिरीले भैंसी पूजा गराएका थिए। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्रीहरू ओली, माधवकुमार नेपाल, शेरबहादुर देउवा गिरीको कार्यक्रमका अतिथि बन्न छुटेनन्।
२०७५ सालमा लगाइएको महायज्ञका पाहुना थिए, तत्कालीन राष्ट्रपति भण्डारी, पूर्व प्रधानमन्त्री नेपाल, देउवा र हालका राष्ट्रपति रामचन्द्र पौडेल। २०७६ सालमा गिरी एक अनुयायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परे। यो अभियोगबाट जोगिन पनि उनले राजनीतिक र प्रशासनिक शक्ति निकै उपयोग गरे।
जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले एकपक्षीय सुनुवाइ गर्दै गिरीलाई थुनामुक्त गरिदिए। यद्यपि उक्त फैसला नमिलेको ठहर्याउँदै उच्च अदालत विराटनगरले पुनः तथ्य केलाएर फैसला गर्न भनेपछि मुद्दा विचाराधीन छ।
अहिलेका भाइरल बाबाहरूले समेत यही सिको गरेका छन्। भुजेलले गृहमन्त्री श्रेष्ठदेखि पूर्व मन्त्री प्रेम आलेसम्मलाई भेटेको भन्दै भिडिओ पोस्ट गरेका छन्। त्यसमा उनले असार २७ गते आलेलाई एलिस रेस्टुरेन्टमा भेटेको विवरण छ।
भट्टराईको पनि नेपाली कांग्रेसका नेताहरूसँग विशेष उठबस देखिन्छ। गत जेठ ४ मा टिकटकमा राखिएको भिडिओमा कांग्रेस नेता जगदीशनरसिंह केसीले सीमान्तलाई खादा पहिर्याएर निवासमै स्वागत गरेका छन्।
२०७९ चैत १ गते गण्डकी प्रदेश सभा सांसद बिन्दुकुमार थापालाई पनि उपचारका क्रममा निवासमै भेटेको भन्दै सीमान्तले फोटो सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसका नेता थापा गण्डकी प्रदेशका पूर्व कानून मन्त्री हुन्।
थापाले घरमै निम्त्याउनुभन्दा साता दिनअघि मात्रै कास्की जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य शिविर चलाउन भन्दै पोखरा आएका भट्टराईलाई कार्यक्रम गर्न रोक लगाएको थियो। उनले उपचार गर्ने भन्दै १२३ जनाबाट एक लाख २३ हजार रुपैयाँ उठाएको पाइएको सहायक प्रजिअ गुरुदत्त ढकाल बताउँछन्।
उद्योग वाणिज्य महासंघ कास्कीका सदस्य भरत केसी यो शिविरका आयोजक थिए। “प्रशासनलाई जानकारी थिएन भने उपचार गर्नेको योग्यता पनि खुलाइएको थिएन,” ढकाल भन्छन्, “त्यसैले यस्तो भ्रमपूर्ण काम रोकिदिएका हौं।” उपचारका नाममा उठाइएको रकम धरौटीका रूपमा राज्यकोषमा दाखिला गरेर भट्टराईलाई खोजेका वेला हाजिर हुने शर्तमा छोडिएको उनी बताउँछन्।
त्यसअघि फागुन २० गते त भट्टराईले सुर्खेतको जिल्ला समन्वय समिति (जिसस) भवनमै कार्यक्रम गरेका छन्। जिसस उपाध्यक्ष सचिनकुमार बडुवालले यसको पुष्टि गरे। “बर्दियादेखि पनि उपचार गर्न आएका थिए। लाइन थियो,” उनी भन्छन्, “एकजनाले हजार रुपैयाँ तिरेर उपचार गराए जस्तो लाग्छ। हेरेर, छामेर गुरुले सब ठीक पार्नुहुन्छ भन्थे। म त गइनँ।” भाडा तिरेपछि जोकसैले हल प्रयोग गर्न पाउने उनको भनाइ छ।
गत जेठ ७ गते स्वास्थ्य शिविर गर्न भन्दै दाङ पुगेका भट्टराईलाई जिल्ला प्रशासनले रोक लगाएको थियो। “प्रशासनमा जानकारी नगराएको र उनको काम ढोंगी देखिएकाले कार्यक्रम आयोजना गर्न नदिइएको हो,” सहायक प्रजिअ सावित्रा पुन भन्छिन्। त्यसअघि उनले दाङमै धेरै पटक यस्तो कार्यक्रम गरिसकेका थिए।
मूकदर्शक राज्य
सामाजिक सञ्जाल मार्फत सूचना फैलाएर धर्मका आवरणमा सर्वसाधारणको स्वास्थ्य र सम्पत्तिमा खेलबाड भइरहेका यस्ता घटनामा राज्य संयन्त्र भने मूकदर्शक देखिन्छ। न नियमन छ न त कारबाही।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता रिजाल यस्ता व्यक्ति विरुद्ध उजुरी नपरेकाले ठोस कारबाही अघि बढाउन नसकिएको दाबी गर्छन्। तर, २०७२ ताका ज्योतिर्विद्याका नाममा सामाजिक सञ्जाल मार्फत भूकम्पबारे भ्रामक सन्देश फैलाएको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो जसले इच्छाशक्ति भए नियमन गर्न प्रहरीलाई औपचारिक उजुरीको खाँचो नहुने पुष्टि गर्छ।
२०७६ मा पनि यस्तै सूचना फैलाएर मानिसलाई आतङ्कित बनाएको भन्दै ज्योतिषी अर्जुन क्षेत्रीलाई पक्राउ गरिएकोमा काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाडेको थियो। उनले जेठ २९ गते भूकम्प आउने भविष्यवाणी गरेका थिए।
रोग र शोकले थलिएकाहरूलाई यस्तै अन्धविश्वासमा पारेर उनीहरूको स्वास्थ्यमा खेलबाड गर्नेहरूलाई भने नियामक निकायहरू नदेखेझैं गरिरहेका छन्।
केन्याको नियति नहोस्
अन्धविश्वासले कुन हदसम्मको क्षति गराउँछ भन्ने ताजा उदाहरण हो, केन्यामा गत अप्रिल-मेमा भएको एउटा घटना। साकाहोला हत्याकाण्डका रूपमा परिचित यो घटनामा मर्नेको संख्या २५० नाघेको छ।
केन्याको दक्षिण-पूर्वी क्षेत्र साकाहोला जङ्गलमा बस्ने पाउल थेन्ज म्याकेन्जी नामक पादरीले संसार भस्म हुने भ्रम फैलाउँदै अनुयायीलाई आत्महत्याका लागि प्रेरित गरेका थिए। उपवास मार्फत स्वर्गमा पुगेर जिसस क्राइस्टलाई भेट्न सकिने भन्दै उनले यसका लागि आफ्नो चर्च छिटो र छोटो मार्ग भएको प्रचार गरेका थिए। यति धेरै मानिसले बाँच्ने अभिलाषा त्यागेर भोकभोकै मृत्यु रोजेको घटनाले केन्याको संविधानमा लिखित धार्मिक स्वतन्त्रताको सीमितता कति भन्ने प्रश्न समेत उब्जाएको छ।
न्यूयोर्क टाइम्सका अनुसार केन्याका राष्ट्रपति विलियम रुटोले यो घटनापछि धार्मिक गतिविधिमा नियमन गर्न चर्चहरूको एउटा समूह र कानूनविद्सँग छलफल गरेका थिए। म्याकेन्जीलाई प्रहरीले पक्राउ गरी हत्या, आतंकवाद लगायत अभियोग लगाएको छ।
नेपालमा समेत वेलाबखत उपचारका नाममा झाँक्रीको पिटाइबाट मानिसहरूको मृत्यु हुने गरेको छ। यस बाहेक झाँक्री र कथित धार्मिक गुरुको भरमा अल्झिँदा सही उपचार नपाएर मृत्युवरण गरिरहेकाहरूको संख्या पनि धेरै हुन सक्छ। यस्ता मृत्युहरूको अभिलेख कहीँकतै भेटिंदैन।