कांग्रेसलाई नयाँ पार्टीहरूबाट चुनौती छ: डा. कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नयाँ आएका पार्टीहरूबाट कांग्रेसलाई चुनौती थपिएको बताएका छन्।
आइतबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै डा. कोइरालाले कांग्रेसमाथि पुराना पार्टीले आक्रमण गरिरहेको उल्लेख गरे। डा. कोइरालाले भने, “मलाई यो भनिरहँदा कुनै सङ्कोच छैन कि हाम्रो पार्टी यतिखेर चौतर्फी विरोधी विचारहरूबाट मात्र आक्रमणमा परिरहेको छैन, राष्ट्रिय र क्षेत्रीय रूपमा उदाएका नयाँ पार्टीहरूबाट पनि चुनौतीको घेरामा छ।”
उनले यो चुनौती चिर्दै अघि बढ्नुपर्नेमा जोड दिए। त्यसका लागि आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने गरी आजैबाट तयारी गर्नुपर्ने उनको भनाइ थियो। “कांग्रेसले गठबन्धन गरेर ठीक वा बेठीक गर्यो भनी अब बस्ने समय छैन, आगामी निर्वाचनहरू कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौं भनी शपथ खानुपर्नेछ,” डा. कोइरालाले भने, “किनकि गत निर्वाचनबाट हामीले प्राप्त गरेको पपुलर मत विभाजित कम्युनिस्ट पार्टीभन्दा पनि कम छ।”
उनले सरकारका कामकारबाहीको पनि समीक्षा गर्नुपर्ने बताए। सरकार दण्डहीनतालाई संस्थागत गर्नतर्फ लागेको उनको भनाइ थियो।
“राज्यका जिम्मेवार निकायहरूकै कारण देशमा पछिल्ला दिनहरूमा दण्डहीनता बढेर गएको छ। नीतिगत रूपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको छ,” डा. कोइरालाले भने, “हाल संसद्मा रहेको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ तत्काल खारेज गरिनुपर्छ। यदि यो विधेयक संसद्बाट पारित भए देशमा दण्डहीनताले संस्थागत रूप लिन्छ। जनता दण्डहीनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने चाहना राख्छन्।”
डा. शखेर कोइरालाले राखेकाे धारणा:
आज हामी झन्डै एक वर्षको अन्तरालपछि यहाँ भेला भएका छौं। कैयन् साथीहरूलाई विधान विपरीत यसरी एक वर्षपछि भेला हुने अवस्था किन र कसरी उत्पन्न भयो होला भन्ने जिज्ञासा हुन सक्छ। यसको जवाफ सभापति र पदाधिकारी साथीहरूबाट आउने नै छ भन्ने विश्वास गरौं।
१) बैठक लाइभ सम्बन्धी: अहिलेको विश्व लोकरिझ्याइँमा चलेको छ। शायद त्यसैको सिको हामी पनि गर्दै छौं। केन्द्रीय समितिको बैठक लाइभ गर्नु त राम्रै हो र हाम्रा लागि नयाँ प्रयोग पनि हो। यसले पारदर्शितालाई प्रवर्द्धन त गरेको छ तर यो शुरू गर्दा कार्यविधि तय गरेर गरेको भए राम्रो हुने थियो जस्तो लाग्छ। कुन विषय बन्द कोठामा गर्ने र कुन विषय खुला गर्ने भन्ने कुराको परिधि तय गरिनुपर्थ्यो। मलाई लाग्छ परराष्ट्र, समसामयिक विषयहरू, अन्तरदलीय विषय, निर्वाचन रणनीति आदि कुराको स्पष्ट गाइडलाइन बनाऔं।
२) महामन्त्रीको सांगठनिक कार्यतालिका: महामन्त्रीले प्रस्तुत गर्नुभएको पार्टीको सांगठनिक कार्यतालिका समग्रमा राम्रै छ। कांग्रेस मासबेस्ड पार्टी भनिन्छ, तर सांगठनिक कार्यक्रम क्याडरबेस्ड आधारित देखिन्छ। केन्द्रले जिल्ला लगायत तल्लो तहमा कार्यक्रम गर्दा प्रदेश समितिसँग समन्वय र जानकारी गराउनुपर्ने प्रावधान थपिनुपर्छ। किनकि यसले संघीयताप्रति हामी प्रतिबद्ध छौं भन्ने कुरा उजागर गर्छ। अर्कोतर्फ अन्य महत्त्वपूर्ण नेताहरूको स्मृति दिवस छुटेको छ, ती पनि समावेश गरिनुपर्छ।
३) गठबन्धनबारे: कांग्रेसले गठबन्धन गरेर ठीक वा बेठीक गर्यो भनी अब बस्ने समय छैन, आगामी निर्वाचनहरू कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौं भनी शपथ खानुपर्नेछ। किनकि गत निर्वाचनबाट हामीले प्राप्त गरेको पपुलर मत विभाजित कम्युनिस्ट पार्टीभन्दा पनि कम छ। गएको आम निर्वाचनमा गठबन्धन गरेर कांग्रेस संसद्भित्र ठूलो दल भएको छ। ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न हामीलाई प्राविधिक कारणले सम्भव भएन तर पनि अहिले हाम्रो समर्थनको संघीय सरकार छ र प्रदेश सरकारमा पनि हामी छौं। संसद्मा कांग्रेस पार्टीभित्र अपेक्षित ऊर्जा प्रस्फुटन हुन किन नसकिरहेको होला भन्ने प्रश्न हाम्रो सामु छ। मलाई यो भनिरहँदा कुनै सङ्कोच छैन कि हाम्रो पार्टी यतिखेर चौतर्फी विरोधी विचारहरूबाट मात्र आक्रमणमा परिरहेको छैन, राष्ट्रिय र क्षेत्रीय रूपमा उदाएका नयाँ पार्टीहरूबाट पनि चुनौतीको घेरामा छ।
४) सरकारको कामकाज: सरकारको कामकाज समीक्षा र प्रभावकारिताबारे अहिले भनिहाल्नुपर्ने समय भएको छैन तर गठबन्धनको मर्म अनुसार सरकार सञ्चालन भएको छ कि छैन वा मन्त्रीहरूले स्वतस्फूर्त काम गर्न पाएका छन् कि छैनन् भन्ने विषयमा भने सोच्नुपर्ने समय आएको छ। स्थानीय सरकारदेखि प्रदेश हुँदै केन्द्र सरकारसम्म सहभागी कांग्रेस प्रतिनिधिहरूबाट जनअपेक्षा अत्यन्त बढी छ र त्यस अनुरूप हामीले जनतालाई चित्त बुझाएर काम गर्न नसक्दा हाम्रो पार्टीको भविष्य मात्र अन्धकार हुने होइन नेपालको लोकतन्त्र पनि कमजोर र दिशाहीन हुन जानेतर्फ साथीहरू सचेत हुनुहुनेछ। महँगी र कालाबजारीले जनता आक्रान्त छन्। जनजीविकाको सवालमा जनताले सरकार भएको अनुभूति गर्न सकेका छैनन। यसप्रति हामी र पार्टीबाट मन्त्री बनेकाहरू गम्भीर हुनैपर्छ। कांग्रेस सरकारमा छ भन्ने अनुभूति जनतालाई दिलाउनेतर्फ साथीहरू सचेत हुनुहोला।
५) दण्डहीनता: राज्यका जिम्मेवार निकायहरूकै कारण देशमा पछिल्ला दिनहरूमा दण्डहीनता बढेर गएको छ। नीतिगत रूपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको छ। हाल संसद्मा रहेको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-२०८०’ तत्काल खारेज गरिनुपर्छ। यदि यो विधेयक संसद्बाट पारित भए देशमा दण्डहीनताले संस्थागत रूप लिन्छ। जनता दण्डहीनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने चाहना राख्छन्।
६) अन्य राजनीतिक दल सम्बन्धी: समाजवादी मोर्चा किन बनेको हो? गठबन्धनभित्रैबाट बनेको यसको औचित्य के हो ?
७) भ्रष्टाचार र सुशासन: भ्रष्टाचार र सुशासन दुई विपरीत दिशामा हिंड्छन। कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा भोट माग्न जान अब सम्भव छैन।
८) भूटानी शरणार्थी प्रकरण: भूटानी शरणार्थी प्रकरण अत्यन्तै संवेदनशील र पेचिलो विषय हो। यस विषयमा केवल भावनामा बगेर र हलुका टिप्पणी गरेर पन्छिन सक्ने अवस्था छैन। यो प्रकरणले अन्तर्राष्ट्रिय तहमै नेपालको छवि धमिलिएको छ। यसमा हामी सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता छ। यस विषयमा यो केन्द्रीय समितिले पारदर्शिता र सुशासनका पक्षमा उभिन सक्ने नैतिक बल दिनेछ भन्ने विश्वास लिएको छु।
९) निर्वाचन प्रणाली: प्रत्यक्ष निर्वाचन प्रणालीभित्रबाटै समानुपातिक र समावेशीको सुनिश्चितता गरिनुपर्छ र त्यसको पहल नेपाली कांग्रेसले गर्नुपर्छ।
१०) विदेशमा बस्ने नेपालीहरूको मताधिकार: विदेशमा बस्ने नेपालीहरूलाई समानुपातिक प्रणालीमा मताधिकार दिने भनेर निर्वाचन आयोगले भनेको छ। यस सम्बन्धी कानून बनाएर कार्यान्वयनका लागि कांग्रेस पार्टीले जोड दिनुपर्ने आवश्यकता छ।
११) बदलिंदो भूराजनीति: बदलिंदो भूराजनीतिलाई मध्यनजर गर्दै नेपालको अन्तर्राष्ट्रिय कूटनीतिमा देखिएको असङ्गति र अस्थिरतालाई देशको जिम्मेवार र ठूलो पार्टीको नाताले एक पटक गम्भीरतापूर्वक सोचौं, हामी अन्तर्राष्ट्रिय राजनीतिको क्रीडास्थल नबनौं।
१२) पार्टीमा एकताबद्ध हुन आह्वान: विभिन्न कारणले कांग्रेसको मूलधारबाट अलग्गिएका र छेउ किनारामा पुगेका कांग्रेसजनलाई सम्मानजनक रूपमा घर फर्कने बाटो खोलिनुपर्छ। कांग्रेस पार्टीले व्यक्तिको राजनीतिक सुरक्षा र राष्ट्र निर्माणमा समान अवसर सबैलाई दिन्छ भन्ने सन्देश प्रवाह गर्नसके हामीसँग अनेकन् कारणले असन्तुष्ट भएकालाई फेरि मूलधारमा ल्याउन सकिन्छ। तसर्थ यसअघि जुनसुकै कारणले कांग्रेसबाट अलग्गिएका साथीहरूलाई पार्टीमा पुनः एकताबद्ध हुन आह्वान गरौं।
१३) जनतासँग जोडौं: सत्तालाई मात्र अन्तिम सत्य मान्दा राजनीतिक मूल्य, मान्यता, सिद्धान्त र आदर्श कमजोर बन्दै गएको छ। हामी जनतासँग टाढिएका छौं। जनता र हामीबीचको खाडल पुर्नुपर्ने अहिलेको पहिलो आवश्यकता हो। लोककल्याणकारी राज्य निर्माणमा हामी चुकेका छौं। जसका कारण पार्टीमा नैतिक र सांस्कृतिक विचलन आएको छ। यसलाई क्रमशः न्यून गर्दै पार्टीको नैतिक पक्षलाई पुन:स्थापित गरेर बीपी कोइराला लगायत हाम्रा अग्रजहरूको सोचको कांग्रेस फेरि निर्माण गर्नु छ। जनताले पत्याउने र भरोसा गर्ने कांग्रेस निर्माण गर्ने कार्य अब पनि ढिलो गर्दा हामी असान्दर्भिक हुने खतरा बढ्दो छ।
तसर्थ, नेपाली समाजको बदलिंदो आर्थिक, सामाजिक र सांस्कृतिक आलोकमा पार्टीभित्र अनेकन् पेशा, व्यवसाय, वर्ग र समुदायको सहभागिता अनिवार्य नै भएको छ। पार्टीलाई देशभित्र र बाहिरका श्रमिक, विज्ञ, विशेषज्ञ, पूर्व प्रशासक र समाजका प्रतिष्ठित व्यक्तिहरूसँग नजोडी पुरानो शैलीमा मात्र पार्टी सञ्चालन गर्ने समय अब रहेन। त्यसकारण पार्टीका विभिन्न तहमा निश्चित प्रतिशत तय गरी यस्ता व्यक्तिबाट पार्टीले लाभ लिने व्यवस्था गरौं।
१४) विधान अनुसार चलौं: हाम्रो राजनीतिक भविष्य मात्र होइन, देशको लोकतन्त्रको भविष्य पनि हाम्रो चरित्र र कार्यशैलीद्वारा निर्देशित हुन्छ। हामी सबै एउटा खेलको नियममा बाँधिएका छौं र बाँधिनुपर्छ। जसरी देश संविधानबाट चल्छ त्यसैगरी कांग्रेस पनि पार्टी विधानबाट अगाडि बढाउने परम्परा बसालौं। हाम्रा भ्रातृ र शुभेच्छुक संस्थाहरूलाई पनि विधान अनुरूप अगाडि बढाउने काम गरौं। विधानले सबैले गर्ने काम तोकेको छ। हामी कतिले के के गर्यौं, मनन गरौं। लामो समयपछि बसेको केन्द्रीय समितिको बैठक आरोप-प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो। यो राम्रो लक्षण हैन। यसले हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौं।
१५) महासमिति बैठक: १४औं महाधिवेशनले नेतृत्व चयन मात्र गर्यो। कुनै पनि पार्टी उसको नीति, सिद्धान्त र कार्ययोजनाले मात्रै जीवन्त रहन्छ। नेपाली कांग्रेस विचारले भरिएको पार्टी हो तर १४औं महाधिवेशन पछाडि यसले आफ्नो राजनीति दस्तावेज ल्याएको छैन। अहिले पार्टीमा विचारको खडेरी छ। त्यसकारण विधान अनुसार अविलम्ब महासमितिको बैठक बोलाई नीति तथा कार्यक्रम ल्याउनेतर्फ जानुपर्छ।
अन्त्यमा, पार्टी सुधारको कुरा कसैलाई सुनाउन वा देखाउनलाई होइन। पार्टीलाई जीवन्त र समयसापेक्ष राख्न हो। सस्तो लोकप्रियता र लहडले संगठन चल्दैन। परिपक्व र जिम्मेवार बनौं। दूरदराजका जनताको आवाज सुनौं। केवल शब्द रटानमा मात्रै होइन, व्यावहारिक रूपमै आफूलाई परिवर्तन गरौं। विधानले व्यवस्था गरे अनुसार बसौं र छलफल गरौं। कांग्रेसलाई बहस, चिन्तन र विचारको नयाँ युगमा प्रवेश गराऔं। कांग्रेस रूपान्तरण भनेकै यही हो।
जय नेपाल!