सभाध्यक्षको जानकारी विना संसद् अधिवेशन अन्त्य नगर्न सभामुखहरूको माग
प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रदेश सभाका सभामुखहरूले सभाध्यक्षको जानकारी विना संसद् अधिवेशन अन्त्य गर्न नहुनेमा जोड दिएका छन्।
प्रतिनिधि सभा र प्रदेश सभाका सभामुखहरू तथा राष्ट्रिय सभाका अध्यक्षसँगको परामर्श विना अधिवेशन अन्त्य गर्न नहुने उनीहरूको माग छ। काठमाडौंमा आइतबार सम्पन्न सभामुखहरू, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र उपसभामुखहरूको अन्तरक्रिया तथा अनुभव आदान कार्यक्रमको निष्कर्षमा भनिएको छ, “अधिवेशन आह्वान र अन्त्य, विधेयक लगायतबारे सभाध्यक्षसँग परामर्श गर्ने परिपाटीको कार्यान्वयन गर्ने।”
संसद्को बिजनेशबारे सभाध्यक्षलाई पूर्व जानकारी दिने सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको सभामुख देवराज घिमिरेले जानकारी दिए।
कोशी प्रदेश सरकार गठनको सन्दर्भमा पनि चर्चा भएको तर ठोस निर्णय नगरेको घिमिरेले जानकारी दिए। उनका अनुसार सभामुखहरूले पनि निष्पक्ष भूमिका खेल्नुपर्ने साझा धारणा बनेको छ।