ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ, अहिलेसम्म को-को पक्राउ परे?
कागजात कीर्ते गरेर ललिता निवासको सरकारी जग्गा किनबेचमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप एक जनालाई पक्राउ गरेको छ।
सीआईबीका एसएसपी दिनेश आचार्यका अनुसार आइतबार नापी कार्यालयका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरिएको छ। श्रेष्ठ सहित पक्राउ पर्नेको संख्या २१ पुगेको आचार्यले बताए।
पक्राउ पर्नेमा निर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मीनबहादुर गुरुङ, पूर्व कर्मचारीहरू धर्मप्रसाद गौतम, गोपाल कार्की, घमनकुमार कार्की, रमेशकुमार पोखरेल, लोकहरि घिमिरे र ध्रुवप्रसाद अर्याल छन्। त्यस्तै, नारायणराज मिश्र, योगराज पौडेल, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोदप्रसाद पौडेल, केशव तुलाधार र सीपीका खेतानलाई पनि सीआईबीले पक्राउ गरिसकेको छ।
यसैगरी, देवनारायण महर्जन, बाबुराजा महर्जन र शिवजी भट्टराई पनि प्रहरी हिरासतमा छन्। महर्जनद्वय मोही हुन् भने भट्टराई पूर्व वडाध्यक्ष हुन्। सञ्चार सचिव कृष्णबहादुर राउत भने दुई साता हिरासतमा बसेपछि सर्वोच्च अदालतको आदेशबाट नेपाल बाहिर जाँदा अदालतको अनुमति लिनुपर्ने गरी थुनामुक्त भएका छन्।
असार १२ गते मालपोतका पूर्व कर्मचारीहरू कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई पक्राउ गरे पनि सर्वोच्च अदालतले २०७९ साउनमै कीर्ते कसूरमा पक्राउ नगर्न आदेश दिएकाले लगत्तै छुटेका थिए। आदेश खारेज गर्न सीआईबीले दिएको निवेदन सर्वोच्चले सदर गरिदिएपछि उनीहरूलाई समेत पक्राउ गर्ने बाटो खुलेको छ।
२०७८ पुसमा सीआईबीले रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीलाई पनि पक्राउ गरेको थियो। सुवेदी दम्पती अदालतको आदेशबाट छुटेका थिए। यो प्रकरणमा ४०० भन्दा बढी आरोपित रहेको सीआईबीले जनाएको छ।