घाइते अवस्थामा फेला परे डीएसपी यादव
मधेश प्रदेश प्रहरी गणमा कार्यरत डीएसपी यादव बिहीबार राति करीब १० बजे घाइते अवस्थामा फेला परेका थिए।
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादवमाथि अज्ञात समूहबाट कुटपिट भएको छ। मधेश प्रदेश प्रहरी गणमा कार्यरत डीएसपी यादव कुटपिटबाट घाइते भएको प्रहरीले जनाएको छ।
बिहीबार राति करीब १० बजे महोत्तरीको जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनी घाइते अवस्थामा फेला परेका थिए।
हाल काठमाडौंस्थित प्रहरी अस्पतालमा यादवको उपचार भइरहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठले जानकारी दिए। मधेश प्रदेश प्रहरी कार्यालयले एसपी श्रेष्ठको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको छ।
श्रेष्ठका अनुसार डीएसपी यादवमाथि कुटपिट भएको हो वा दुर्घटनामा परेर घाइते भएका हुन् भन्ने सम्बन्धमा छानबिन भइरहेको छ।
यादव त्यति राति जनकपुरधामबाट जलेश्वर किन गए भन्ने पनि खुलेको छैन।