काभ्रेमा लम्पी स्किन संक्रमित ६८१ पशु मरे
काभ्रेमा पहिलो पटक लम्पी स्किन रोग २०७७ साल साउनमा देखिएको थियो। अहिले यो रोगले जिल्लामा महामारीको रूप लिएको छ।
लम्पी स्किन रोगका कारण काभ्रेमा हालसम्म जिल्लाका १३ स्थानीय तहका ६८१ पशुचौपाया मरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लामा ३० हजार ७४३ वटा पशु लम्पी स्किन रोगबाट संक्रमित छन्।
जिल्लामा तीन लाख गाईभैंसी रहेको बताइएको छ। संक्रमितमध्ये ३० हजार ४६४ गाई र २७९ भैंसी छन्।
केन्द्रका निमित्त प्रमुख डा. नितेश कार्कीका अनुसार हालसम्म ३२ हजार ८०० पशुमा रोग विरुद्ध खोप लगाइएको छ। खोप लगाइएका पशुमा रोग देखिएको छैन।
बनेपा नगरपालिकामा सबैभन्दा धेरै संक्रमणदर रहेको छ। बनेपाका ६ वटा वडामा ११८ पशु मरिसकेको तथ्याङ्कले देखाएको छ।
नगरको पशु सेवा शाखाका अनुसार बनेपामा ६ हजार १५ वटा पशुमा संक्रमण भएकामध्ये पाँच हजार गाईलाई खोप लगाइएको छ। बनेपाका वडा नं १, २, ३, ४, ५ र १० मा संक्रमण फैलिएको जनाइएको छ।
केन्द्रका अनुसार पाँचखाल नगरपालिकामा १०० पशु मरिसकेका छन्। धुलिखेल नगरपालिकामा ७२, पनौती नगरपालिकामा २५, मण्डनदेउपुर नगरपालिकामा ६४, नमोबुद्ध नगरपालिकामा ४१ पशु मरेका छन्।
यस्तै, तेमाल गाउँपालिकामा ३५, खानीखोलामा ७९, बेथानचोकमा २५, रोशीमा ३१, भुम्लुमा २०, चौंरीदेउरालीमा ४२ र महाभारत गाउँपालिकामा २९ पशु मरेका छन्। चौंरीदेउराली गाउँपालिकाले मरेका प्रतिपशु रु.१० हजार तत्कालका लागि कृषकलाई राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ। धुलिखेल नगरपालिकाले बाछी खरीदका लागि साझेदारी गर्ने जनाएको छ।
जिल्लामा महामारीको रूप लिएको लम्पी स्किन रोग नियन्त्रण बाहिर गएको बताइएको छ। जिल्ला प्रशासन कार्यालयले भने जिल्लामा पशुहरूको ओसारपसारमा विशेष सतर्कता अपनाउँदै उपचार, राहत, जनचेतना तथा बीमाको रकम भुक्तानीका लागि तीन तहकै सरकारको समन्वय र सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड दिएको छ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले १३ वटै स्थानीय तहका पशु स्वास्थ्य शाखा तथा सम्पूर्ण कृषकलाई सचेत रहन अनुरोध गर्दै हरेक पालिकाबाट नियमित रिपोर्टिङ गर्न र थप पशु मर्न नदिन खोप लगाउन भनिएको बताए।
उक्त रोग लागेपछि गाईभैंसीले कचेरा निकाल्ने, फिंज धेरै निकाल्ने, सिंगान बग्ने तथा शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना-ठूला गिर्खा तथा फोका देखिने हुन्छ। संक्रमित पशुबाट दूध उत्पादन पनि २५ देखि ८० प्रतिशतसम्म घट्छ भने पशुको गर्भ तुहिने लगायत समस्या हुन्छ।
यो रोगको हालसम्म कुनै ठोस उपचार पत्ता लागेको छैन। लम्पी स्किन संक्रमण सन् १८८८ मा अफ्रिकाबाट शुरू भएको थियो। सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी यूरोप, रूस, कजाखस्तान र बाङ्लादेश हुँदै २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलो पटक देखिएको थियो।
काभ्रेको पनौतीमा भने सोही सालको साउनमा एक भैंसीमा देखिएको थियो। -रासस