प्रधानमन्त्री दाहाल इटाली प्रस्थान
संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनको ‘फूड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली प्रस्थान गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतले बिदाइ गरेका छन्।
प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा स्वकीय सचिव एवं छोरी गंगा दाहाल, कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मी सहभागी छन्।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेशन्स फूड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’ मा दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदै छ।
प्रधानमन्त्री दाहाल यही साउन ८ गते कार्यक्रमको उद्घाटनसत्रमा सहभागी हुनेछन्। यस्तै, अति कम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यस्तै, साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजना हुने छलफल समेतमा सहभागी हुनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालको खाद्य सुरक्षाका अलावा, नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगबारे त्यस अवसरमा महत्त्वपूर्ण छलफल हुने कार्यक्रम छ। यस्तै, रोममा गैरआवासीय नेपाली संघले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री दाहाल सहभागी हुनेछ। भ्रमण पूरा गरी दाहाल यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ।