गलत समाचार लेख्ने पत्रकारबाट तीन करोड भराउन अदालतको आदेश
गलत समाचार लेखेको ठहर गर्दै भारतको दिल्ली उच्च अदालतले तेहेल्का डटकम तथा त्यसमा सम्बद्ध तीन पत्रकारबाट तीन करोड २० लाख (दुई करोड भारतीय रुपैयाँ) भराउन आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीश नीना वंशल कृष्णाको इजलासले तेहेल्काका पत्रकारहरू तरुण तेजपाल, अनिरुद्ध भेल र म्याथ्यु सामुएल तथा तेहेल्का डटकमलाई क्षतिपूर्ति तिर्न आदेश दिएको हो। उनीहरूबाट सेवानिवृत्त सैनिक अधिकृत एमएस अलुवालियालाई क्षतिपूर्तिस्वरूप उक्त रकम भराउने आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सन् २००१ मा मेजर जनरल अलुवालियाले सैन्य सामग्री खरीदमा भ्रष्टाचार गरेको आरोप लगाउँदै तेहेल्का डटकमले ‘स्टिङ अप्रेशन’ गरेर खरीद सम्बन्धी विवरण सार्वजनिक गरेको थियो। तेहेल्काले सार्वजनिक गरेका समाचार सामग्री गलत रहेको र त्यसबाट आफ्नो मानहानि भएको जिकिर गर्दै जनरल अलुवालियाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए। उनीमाथि प्रतिरक्षा सामग्री आयातमा ठूलो घोटाला गरिएको आरोप लगाइएको थियो।
प्रतिरक्षा उपकरण उत्पादक बेलायती कम्पनीका नक्कली बजार प्रतिनिधि बनेर तेहेल्काका दुई जना पत्रकारले ‘स्टिङ अपरेशन’ गरेका थिए। उनले एक सीसी ब्ल्यू लेबल ह्वीस्की र १० लाख घूस मागेको श्रव्य सामग्री तेहेल्काले प्रसारण गरेको थियो।
समाचार प्रकाशित हुने बित्तिकै भारतीय सेनाले जनरल अलुवालियामाथि छानबिन थालेको थियो। छानबिनबाट प्रसारित श्रव्य सामग्री असत्य भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो।
यसमा तेहेल्का र पत्रकारहरूले अदालतमा क्षमायाचना पनि गरेका थिए। तर, न्यायाधीश कृष्णाले भ्रामक समाचारबाट पीडितको चरित्रहत्या भएको र सार्वजनिक मानप्रतिष्ठामा ठूलो आघात पुगेको तथा क्षमायाचनाबाट त्यो आघात नमेटिने भएकाले क्षतिपूर्ति भर्न आदेश दिएकी हुन्।