किताब पढ्ने बानी बसाल्न माधव नेपालको निर्देशन
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले किताब पढ्ने बानी बसाल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
काठमाडौंमा शनिबार आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले युवामा किताब बढ्ने बानी नभएको औंल्याए। पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, “अहिलेका युवामा पढ्ने बानी छैन। पढ्ने बानी बसालौं।”
नेता तथा कार्यकर्ताले पनि मुश्किलले किताब लग्ने गरेको उनको भनाइ थियो। “किताब हेरेपछि हाई काढ्ने, किताब किनेर लगिहाल्यो भने पनि तकियामुनि राख्ने, पढ्दै नपढ्ने छन्,” नेपालले भने।
उनले नेता तथा कार्यकर्तालाई अध्ययनशील हुन सुझाए। अध्ययनशील भए मात्रै समसामयिक घटनाको क्रमको तर्कसङ्गत विश्लेषण गर्न सकिने उनको भनाइ थियो।
अब कम्युनिस्टले शत्रु किटान गरेर हिंड्ने समय नभएको नेपालले जिकिर गरे। अहिले पनि शत्रु खोजेर गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको उनको भनाइ थियो। “हाम्रा मित्र को हुन्, शत्रु को हुन्? घुमिफिरी शत्रु कांग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन खोज्दै छ,” नेपालले भने।
उनले सिद्धान्त सोचे जस्तो नहुने भएकाले अहिलेको नेपालको धरातलीय यथार्थ बुझेर अघि बढ्नुपर्नेमा जोड दिए। “व्यवहार सोचे जस्तो हुँदैन, सिद्धान्त सोचे जस्तो हुँदैन। नेपालको अहिलेको धरातलमा टेकेर जानुपर्छ,” नेपालले भने, “यहाँ कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन्।” अहिले सबैले मिलेर अघि बढ्नुपर्नेमा उनको जोड थियो।