अमेरिका–चीन व्यापार वार्ता सांघाईमा शुरु, ट्रम्पकाे ट्वीटले वार्ता बिथाेलिन सक्ने चिन्ता
एक वर्षदेखि जारी अमेरिका–चीन ‘व्यापार युद्ध’को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरूको वार्ता सांघाईमा बुधबार पुनः शुरु भएको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका पछिल्ला ट्वीटले वार्तालाई नै ओझेलमा पारेको छ ।
व्यापारमा समस्या देखिएको भन्दै अमेरिका र चीनले एकअर्काका करीब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । अमेरिकाले चिनियाँ सामानको निर्बाध र खुकुलो प्रवेशका कारण व्यापार असन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिकी प्रविधि चीनले चोरी गरेको आरोप लगाउँदै आएको छ ।
यतिखेर अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अर्थमन्त्री स्टिभेन मन्चिन सांघाईमा छन् ।
चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँका उपप्रधानमन्त्री लिउ हे ले गरेका छन् । दुवै टोली बुधबार बिहान एकअर्कासँग हात मिलाएर वार्तामा बसेका थिए । अमेरिकी अधिकारीहरू वार्ताका लागि मंगलबार नै सांघाई पुगेका थिए ।
यहीबीच, अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै व्यापार वार्ताप्रति चीन त्यति गम्भीर नरहेको आरोप लगाएका छन् । उनले भनेका छन्– “मेरो टोलीले अहिले चिनियाँ पक्षसँग वार्ता गरिरहेको छ, तर चिनियाँहरू आफूलाई लाभ हुने कुरामा मात्र ध्यान दिइरहेका छन् । यस्तो सम्झौता हाम्रा लागि कुनै महत्वको होइन ।”
चीन सरकारले अमेरिकी कृषिजन्य उत्पादन खरीद गर्ने प्रतिबद्धता जनाएको तर महीनौंदेखि कतिपय सामान नकिनेको अमेरिकी आरोप छ । ट्रम्पले भने– “चीनसँगको समस्या नै यही हो, उनीहरू इमानदार हुन सकेनन् ।”
विज्ञहरूले राष्ट्रपति ट्रम्पका पछिल्ला ट्वीटले पहिल्यैदेखि तनाबमा रहेको व्यापार वार्तालाई सहजीकरण गर्न सहयोग नगर्ने बताएका छन् ।
सांघाई बैठक प्रारम्भ हुनु अघिल्लो दिनमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व व्यापार संगठनमा चीनले पाइरहेको विकासशील मुलुकको दर्जा हटाउने चेतावनी दिएका थिए । अमेरिकी उक्त भनाइलाई चीनले ‘अमेरिकी अहंकार’ भन्दै प्रतिवाद गरिसकेको छ ।