ईर्ष्याको घेरामा ‘ब्रह्मास्त्र’
समकालीन नेपाली कथा साहित्यको प्रचलित बहावभन्दा अलग्गै जरुवा बनेर आएको ब्रह्मास्त्रले ‘स्ट्रीम अफ कन्सस्नेस’ लाई अँगालेको छ। तर अचम्म चाहिं, शैलेन्द्र अंग्रेजी साहित्यका विद्यार्थी होइनन्।
- एउटा बौद्धिक व्यक्ति, कलेजमा पढाउने मान्छेले यस्तो अश्लील कथा नलेखेको भए हुन्थ्यो।
- शैलेन्द्रले आफू जस्तो छ त्यस्तै कथा लेखेछ।
- मरिजाऊँ मैले चाहिं केही बुझिनँ, के लेख्या!
- लेखकले जे लेखे पनि हामी पाठकले मानिदिनुपर्ने?
- के कथा हुन्थ्यो, दिमागमा भएको फोहोरको थुप्रो मात्र हो। कथाको बेइज्जत!
- कथा कस्तो हुन्छ ब्रह्मास्त्र पढ्नुस् र सिक्नुस्।
- वाह! लेखाइ होस् त ब्रह्मास्त्रको जस्तो! अब चाहिं नेपाली साहित्य पनि परिपक्व भएछ है।
-अरूले के भन्छन् मलाई सरोकार भएन तर शैलेन्द्रले नेपाली कथा साहित्यमा राम्रै हस्तक्षेप गर्यो।
- आँट चाहिं मान्नैपर्छ। अरूले घुमाएर भन्थे, शैलेन्द्रले सीधै भन्यो।
साहित्यमा अलिअलि रुचि भएकादेखि राम्रै दखल राख्ने साहित्यकारहरूका बीच भेटघाट हुँदा विगत एक–दुई महिनादेखि मैले सुन्दै आएका टीकाटिप्पणी हुन् यी। सन्दर्भ चाहिं कथाकार शैलेन्द्र अधिकारी र उनको कथासङ्ग्रह ब्रह्मास्त्रको हो।
हुन त ब्रह्मास्त्रको मैले गत चैततिरै आद्योपान्त रसास्वादन गरिसकेको थिएँ। साहित्यको विद्यार्थीका नाताले मलाई यो सङ्ग्रहका कथाहरू अलि पृथक् र बौद्धिक बहसमा जाने कोटिका लागेका हुन्। तर, जब साथीभाइ र साहित्यिक व्यक्तिहरूका फरक फरक प्रतिक्रिया सुन्न थालियो, मैले पनि आफूलाई लागेका कुरामा पुनर्विचार गरेर हेरें।
मैले पाठ्यक्रममा समावेश बाहेक थोरै मात्र किताब दोहोर्याएर पढेको छु। तर बजारमा ब्रह्मास्त्रबारे आएका प्रतिक्रियाले फेरि एक पटक सबै कथा पढ्ने झोक चलेर हालै पढें। लाग्यो, किताब मन परेपछि मैले आफ्ना कुरा पहिल्यै राख्नुपर्थ्यो। तर फेरि सोचें, मलाई कथाहरू मन पर्नु, राम्रो लाग्नुमा शैलेन्द्र साथी भएको प्रभावले पनि त धेरथोर काम गरेको हुन सक्छ!
त्यसैले साथीसङ्गत, निकटता सबै कुराबाट पन्छिएर आफूले पढेका, जानेका साहित्यका सबै स्रोतमा ब्रह्मास्त्रलाई राखेर हेरें। यति गर्दा पनि मलाई यी कथाहरूको लेखन शैलीले निकै तानिरह्यो। अनि म निष्कर्षमा पुगें, ब्रह्मास्त्र शैलेन्द्रले लेखेको भएर मलाई राम्रो लागेको होइन रहेछ, कथाले अपनाएको शैली र फरक स्वादले तानेको रहेछ।
के छ त ब्रह्मास्त्रमा?
सङ्ग्रहमा पारम्परिक धारभन्दा पृथक् १० वटा कथा छन्। कथा परम्पराको लामो इतिहासमा पात्र, कथानक, उपकथा आदिको साँचोमा बाँधिएका कथा यत्रतत्र पढ्न पाइन्छन्, तर त्यसभन्दा अलि अगाडि बढेर कथाभित्र पाठकको उपस्थिति अझ भनौं पाठक नै कथाको पात्र बनेका कथा कमै पढ्न पाइन्छ। त्यस्तै कथाहरूको सँगालो हो, ब्रह्मास्त्र।
सङ्ग्रहमा समाविष्ट कथाहरूले उठान गरेका विषय मानव मस्तिष्कमा गुजुल्टिएर बसेका विविध विषय नै हुन्। सबै कथाले जगत्ले भन्ने गरेका सकारात्मक/नकारात्मक दुवै उकुसमुकुस बाहिर ल्याउने प्रयत्न गरेका छन्।
के त्यसो भए ब्रह्मास्त्रका कथामा विषयवस्तुको विविधता छैन त?
त्यसो पनि होइन।
सङ्ग्रहका १० कथाले मानव र जगत्का फरक तथ्यहरूमाथि फरक दृष्टिकोण प्रस्तुत गरेका छन्।
‘मथिङ्गल’ शीर्षकको कथाले सङ्कीर्णता बीचबाट पनि मानिस कसरी बाहिरी दुनियाँसँग अङ्कमाल गरिरहेछ भन्ने मनोवैज्ञानिक चिन्तन केलाउने प्रयास गरेको छ। सन्तुष्टि र असन्तुष्टिलाई जीवनका विभिन्न परिघटनासँग जोडेर अर्थ दिने शैलेन्द्रले यस कथा मार्फत मानव मस्तिष्कमा रहेका यावत् विचारलाई संशोधनको ऐनाले नहेर्ने हो भने सबै मस्तिष्कमा विकार र संस्कार समान अनुपातमा रहेको अर्थ लगाएका छन्। लोकले राम्रो र नराम्रो भनेका सबै गतिविधिको स्रोत त्यही मस्तिष्क भएको घोषणा गरेका उनका अन्य नौ कथा पनि मथिङ्गलकै चङ्गुलभित्र छन्।
मस्तिष्कमा नराम्ररी गाडिएको, जड बनेर बसेको दमित इच्छा र कामनाको प्रतिविम्बन हो, ‘चित्तरञ्जन’ कथा। यौन मनोविज्ञानको सेरोफेरोमा बुनिएको कथाले मानव चित्त कति वेला रञ्जित हुन्छ या हुन सक्छ भन्ने फेहरिस्त प्रस्तुत गरेको छ। मनोविज्ञान संशोधन नगरी पस्किने हो भने कस्तो रूपमा बाहिर आउला भन्ने दृष्टान्त पनि यस कथामा छ।
जस्तै, बेहुला–बेहुलीलाई हतार छ भनेर विवाहको दिन चाँडै रात पर्दैन। (पृष्ठ ४९)
‘बयलपुर’ कथा उत्तरआधुनिकतावाद अझ भनौं ज्याक डेरिडाको ‘केन्द्रीयताको विखण्डन’ भर्सनको पटाक्षेप हो। उत्तरआधुनिकतावादले उठान गरेको विषय ‘संसारमा सबैथोक उपभोग भैसक्यो’ बाट प्रभावित भएर पात्रको खोजीमा निस्किएका लेखकले संसारभरि अर्गानिक पात्रको अभाव झेलेपछि आफैं प्रताडित हुनु र पाठक स्वयंलाई पात्रदोषको भागी बनाउनु यसैको एक उदाहरण हो। कथाका अनेक स्वरूप पस्किँदै अन्त्यमा पाठकलाई नै कथालेखनको भागीदार बनाउनु कथाकारको चातुर्य हो। कथाकार पाठकलाई प्रश्न गर्छन्, सुन्नुहोस् त ! खासमा मलाई यी कथा लेख्नै मन छैन। म के गरूँ? (पृष्ठ ७३)
‘पात्रद्रोह’ कथामा लेखकीय स्वतन्त्रता, पात्र र परिवेशले जन्माउने लेखनबीचको जबर्जस्त संघर्ष छ। पात्रसँग अन्य कथामा भन्दा यस कथामा अलि बढी असहिष्णु बनेका कथाकार विद्रोही चेत पस्किँदा पस्किँदै आफ्नै पात्रको चङ्गुलमा परिसकेको पत्तै पाउँदैनन्।
‘अप्रितम यात्रा’ साँच्चिकै अप्रितम लाग्छ, जब कथित धर्मभीरुहरूको द्वैध चरित्रले यस भौतिक संसारमा धर्मको चारित्रिक प्रमाणपत्र नै नष्ट गरिदिन्छ। धर्म शाश्वत तर निरपेक्ष रहन्छ भन्ने अन्तर्यमा विकसित भएको यस कथामा हरेक धर्मका नाइकेसामु पुग्दा ‘धर्म आफैंमा के हो’ छर्लङ्ग पारिदिएका छन् कथाकारले। कथामा प्रयुक्त भाषिक शक्ति भने ईर्ष्या गर्न लायक छः
– कस्सम ! मैले जति पनि भगवान्हरू भेटें, ती सबै कमजोर, शक्तिहीन र विवश थिए। एउटा सत्य के रहेछ भने जो बलियो छ, उही भगवान् हुने रहेछ। (पृष्ठ १०२)
भौतिकवादी मस्तिष्कको कठघरामा योभन्दा उपल्लो स्तरको मूल्याङ्कन शायदै होला।
‘हराएकी पात्र’ कथा आधुनिक समाजमा विद्यमान खोक्रो आदर्श र अन्तरनिहित यथार्थका बीच महिला पात्रको लैङ्गिक मूल्याङ्कन हो। समाजले एक ऊर्जाशील युवतीलाई कसरी शारीरिक या मानसिक कुनै न कुनै रूपले दुष्कर्म गर्छ भन्ने फेहरिस्त अगाडि सारेर कथाकार कसैलाई केही नभनी आफैंसित आक्रोशित भेटिन्छ। शायद कथाकार स्वयम् पुरुष भएकाले हुनुपर्छ।
शीर्षकदेखि विषय, प्रस्तुति र सन्दर्भ सबैले परिपक्व लाग्ने कथा हो ‘इति’हास’। इति अर्थात् अन्त्य। इतिहासलाई ‘इति’हासमा पुर्याएका कथाकारले मानव मनका आमोद–प्रमोदको चित्र उतारेका छन्, नारीलाई केन्द्रका राखेर उनकै जीवनका अवयवका पत्र केलाउँदै। गज्जब चाहिं नारीलाई केन्द्रमा राखेर पुरुष मनोविज्ञान खेलाउनु पक्कै पनि ‘डेरिडाको वायनेरी अपोजिशन’को तुलोमा फस्नु नै हो।
‘रिसर्चः अ पोलिटिकल स्टोरी’ नितान्त पूँजीवादी ऐनाबाट राजनीतिको धज्जी उडाएको कथा हो। सर्वहाराबाट नवधनाढ्यको यात्रा आफैंमा रिसर्चको एक उर्वर क्षेत्र हो भन्नेमा सन्देह नहोला।
‘मनोविकार’ मनोवैज्ञानिक कल्पना कम, यथार्थ बढी झल्कने कथा हो। आदर्शका सस्ता भाषण छाँट्ने शिक्षकको पर्दा बाहिरको यथार्थले कुनै एक अधिकारी सरको झल्को दिएको छ। एक आदर्शवादी मानिस पूँजीवादको अगाडि लमतन्न पसारिएको चित्र कम रोचक छैन।
दसौं कथा ‘सुसाइड’ कता कता अघिल्लो कथा ‘मनोविकार’ को प्रतिफल त हैन भन्ने प्रतीत हुन्छ। किनभने ‘मनोविकार’ को अन्त्यमा आत्मस्वीकारोक्ति छ:
– मृत्यु केवल अन्तिम सत्य हो। (पृष्ठ १७७)
भने ‘सुसाइड’ शुरू हुन्छः
– मन ठीक ठाउँमा छैन। सुसाइड गर्न मन लागिरहेको छ धेरै दिनदेखि। (पृष्ठ १८१)
मृत्युलाई सहर्ष स्विकार्ने मानवचेतबाट अभिप्रेरित यो कथा मृत्युपश्चात् गरिने ढोंगमाथि राम्रैसँग खनिएको पाइन्छ।
दश वटै कथा यस्ता गुणयुक्त छन् भने साहित्यवृत्तमाः
– के लेख्या यस्तो ?
– मैले चाहिं केही बुझिनँ!
– ह्या, कथाले तानेन!
टाइपका प्रतिक्रिया चाहिं किन त फेरि?
कुरो स्पष्ट छ।
धेरैजसो नेपाली पाठक पारम्परिक कथावाचनमा अभ्यस्त छन्, जो यो सङ्ग्रहमा पाइन्न।
यी कथाहरूले अलि बौद्धिक चिन्तन र बहसको अपेक्षा गर्छन्, जो आम पाठकलाई त्यति रुचिकर नहोला। कथा पढ्नुअघि नै जसले मैनाली, प्रधान, राई आदि कथाकारका चित्र मस्तिष्कमा बनाउँछ वा निर्वेदको शैलेन्द्र अधिकारीलाई दिमागमा राखेर कथा पढ्न शुरू गर्छ, उसलाई झुर लाग्नु स्वाभाविक हो।
यस सङ्ग्रहका कथाहरूको उद्देश्य ती यावत् कुराभन्दा भिन्न छ। यी कथाको आनन्द लिन सबैभन्दा पहिले पाठकले शैलेन्द्रलाई आफ्नो दिमागबाट केही समय भए पनि बाहिर निकाल्नैपर्छ। जबसम्म शैलेन्द्रको छाया कथामा आइरहन्छ, विरोधाभासले गर्दा कथा बोझिलो बन्न जान्छ।
अर्को कुरा, विपठनबाट कथाको पठन शुरू गर्ने हो भने यी सबै कथाको अन्तर्यमा पुग्न सकिन्छ। अनि भेटिन्छन् फ्रायड, डेरिडा, जेम्स जोयस, स्यामुयल बेकेट, भर्जिनिया उल्फ आदि।
नेपाली साहित्यमा ‘स्ट्रीम अफ कन्सस्नेस’ लाई अँगालेर पछिल्लो चरणमा लेखिएको कृति ब्रह्मास्त्र बाहेक अर्काे नहोला। तर अचम्म चाहिं, शैलेन्द्र अंग्रेजी साहित्यका विद्यार्थी होइनन्। त्यसैले उनी ती उपल्लो कोटिका लेखकहरूका शैलीबाट प्रभावित भए होलान् भन्न सक्ने अवस्था पनि छैन। तर जे होस् मानव अवचेतन मनलाई यसरी खेलाउन सकेकामा व्यक्तिगत रूपमा मैले शैलेन्द्रको क्षमतालाई मानें।
हाम्रै पुस्तामा यस्तो शब्दधर्मी जन्मियो!
त्यसो हो भने, ब्रह्मास्त्रका कथाहरूमा ‘कथात्व’ चाहिं केही छैन त? मात्र अवचेतन मनको गन्थन हो ?
त्यस्तो पनि होइन।
कला छ, शिल्प छ, सन्देश छ, वैचारिकी छ। फरक यत्ति हो, कसले के चाहन्छ!
अराजकतालाई मानव मस्तिष्कको यथार्थ मान्ने शैलेन्द्रलाई यस्तो अराजक बनाएको हाम्रै समय, समाज र व्यवस्थाले हो। त्यसैले तिनकै सामुन्ने उकुसमुकुस भएर बसेको जीवनको यथार्थ कथा मार्फत बोलेको मात्र हो शैलेन्द्रले।
‘बयलपुर’ मा रहेका यी वाक्य– ‘हातखुट्टा हुँदैमा, बोल्न जान्दैमा, लाज लागेर गुप्ताङ्ग छोप्दैमा, भोक लागेर अन्न खाँदैमा, मान्छे हुँदैनन्। मान्छे हुनलाई त मानवीय चेतना पनि आवश्यक हुन्छ’ ले जीवनदर्शनको कुन चाहिं पाटोलाई छोएका छैनन्?
क्रान्तिकारिताको ढोंग र बहुलठ्ठीपनामा शैलेन्द्रले बोलेका यी वाक्य वस्तुगत यथार्थको कत्ति पनि टाढा छैनन्।
– उनीहरूमा विद्रोहको आगो कसरी पो बालिदिऊँ?
– साँच्चै मलाई कथा लेख्न डर लागिरहेछ।
– परिवर्तन त हामी पनि चाहन्छौं। तर, हामी सबै अरू कसैले विद्रोह गरिदेला र परिवर्तन होला भन्ने वाहियात आशमा बाँचिरहेका छौं। (पृष्ठ ७३)
परिवार, समाज, राजनीति, व्यवस्था सबै सबैमा दुर्गन्धको जड नै हाम्रो आफ्नै मस्तिष्क हो भन्ने निष्कर्षमा पुगेका शैलेन्द्रकोे स्वीकारोक्ति पक्कै पनि हाम्रो धरातलीय यथार्थको अगाडि छः
– लाग्यो, यो समस्या मेरो हो। आफ्नो समस्या आफैं समाधान गर्नुपर्छ। हामी जहिल्यै आफ्ना समस्याको समाधान अरूबाट खोजिरहेका छौं र अरूकै हातका पुतली भइरहेका छौं। (पृष्ठ ७९)
बजारिया साहित्य, बिकाउ साहित्य र जबर्जस्ती निर्माण गरिएको भाष्यप्रति शैलेन्द्रको विद्रोह महाभारतको अर्जुनवाणभन्दा कम कहाँ छ र!
– तिमीहरू इतिहास लेख्ने नाममा कुण्ठा लेख्छौ। घृणा लेख्छौ। नभए प्रशंसा र स्तुतिगान लेख्छौ। तिमीहरूको लेखाइले त लाजले पनि आफ्नो मुख ढाक्ला शायद। (पृष्ठ ८७)
धार्मिक स्वतन्त्रताका नाममा गरिने व्यापार, ढोंग र कथित श्रद्धाप्रति पनि शैलेन्द्रको रोष छः
– भक्तहरूको प्रसादले अघाइसकें– फलफूल नखाऊँ भन्यो भने खालि मिठाई चढाउँछन्... मार्छे पार्वतीले। हिजोआजका मिठाई हाइजेनिक छैनन्, खानुहुँदैन है बूढा भन्छे।
– पार्वती ? ... खै एकदिन बाहिर निस्कन्छु भनेर गएकी छे। हिजै पानीपुरी खान मन छ भन्थी ! त्यही खान गई होली। (पृष्ठ ९३)
अर्कोतर्फ, सच्चा भगवानको खोजीमा निस्किएका शैलेन्द्र भक्तको यस्तो प्रतिक्रिया पाएपछि निराश भएर पर्कन्छन्ः
– कहाँ छन् त भगवान्?
– त्यो त मलाई के थाहा र? शायद बसाइँ सरे होलान्। कि त डीभी परेछ कि? अथवा भनौं भगवानको पनि मृत्यु भयो। (पृष्ठ ११०)
अब भन्नुस् त शैलेन्द्रका कथाले वर्तमान ढोंगी भौतिक दुनियाँको प्रतिनिधित्व गरेको छ कि छैन?
चराचर जगत् जताततै ढोंगी, निकम्मा, स्वार्थी देखेपछि यी सबै अवयवबाट मुक्तिको बाटोमा हिंडेका शैलेन्द्र कथाको अन्त्यमा आइपुग्दा आत्महत्यासम्म पुग्छन्। उनलाई लाग्छ- यी सारा दुःखबाट मुक्तिको बाटो मृत्यु हो। तर मृत्यु सहज छैन। उनी भन्छन्ः
– मर्नुपर्छ। मरेपछि सबै समान, सबै बराबर। (पृष्ठ १८६)
यसकी हेर्दा त ब्रह्मास्त्र कथासङ्ग्रहको निचोड त निराशावादी देखियो नि!
हैन, त्यसो भन्न पनि मिल्दैन।
कुनै पनि घटनाको पछाडि केही न कही कारण अवश्य हुन्छ। यी कथाहरूमा वर्णित हरेक विषयका आआफ्नै जड कारण छन्। तिनै कारणले शैलेन्द्रका कथा अराजक, स्वछन्द र असंयमित देखिएका हुन्। तर हरेक समस्याको, कारण र त्यसको जड नै बताइसकेपछि समाधानका उपाय बताइरहनुपर्छ र? त्यसैले शैलेन्द्रका कथाहरू निराशावादी नभई विसङ्गत समय, समाज र पात्रमाथिको नाङ्गो आक्रमण हो।
यी त कथामा आइरहेका आम विषय भए। के छ त ब्रह्मास्त्रमा त्यस्तो ‘वाह’ भन्न लायक?
कथा भन्ने शैली।
अगाडि नै मैले भनिसकें। अवैयक्तिक भएर यी कथा पढ्ने हो भने यस युगका बाँचेको हरेक व्यक्तिले आफूलाई त्यहाँ पात्रका रूपमा पाउँछ किनकि कथामा प्रयुक्त भाषा वर्तमान पुस्ताको प्रतिविम्बित भाषा हो। सभ्य र असभ्य त मान्छेको दिमागको उपज हो र उसको दृष्टिकोण हो नि! भाषा स्वयंमा सभ्य वा असभ्य कसरी हुन्छ?
म त भन्छु, शैलेन्द्रले प्रयोग गरेको भाषा आम नागरिकको भाषा हो, जो हरप्रहर प्रयोगमा छ तर पत्रपत्रिका, रेडियो, टेलिभिजन, पुस्तक आदिमा आउँदा संशोधित भएर आउँछ र त्यो ‘शिष्ट/शालीन भाषा’ कहलिन्छ।
केही कमजोरी नै छैनन् त उसो भए?
किन नहुनु! भगवान्मा त कमजोरी देखाइसक्यो शैलेन्द्रले। ऊ त अझ एक मान्छे। उसका कमजोरी नहोलान् त!
– स्वछन्द कथा लेखनको अभ्यास गरे पनि कतै कतै लेखकीय निरङ्कुशता लादेका छन् लेखकले। स्ट्रीम अफ कन्सस्नेसमा गएपछि पनि पूर्ण सचेत भएर म यो कथालाई यता यसरी डोर्याउँछु, यसको अन्त्य यसरी गर्छु भनेर पहिले नै फ्रेम बनाएर कक्षा नलेख्नुपर्थ्यो नि हैन र!
– कथाकारका व्यक्तिगत धारणालाई आम जातिविशेष, वर्गविशेष वा लिङ्गविशेषको धारणा नबनाउनुपर्थ्यो हैन र!
– कथालाई कथाकै रूपमा बग्न दिनुपर्थ्यो। पात्रद्रोह कथा अलि बढी निबन्धात्मक भएन र! हुन त कवितात्मक पनि नभएका चाहिं हैनन् है। तिनीहरूको पनि आफ्नै उचाइ चाहिं छ।
– प्रयोग गरिएका केही शब्द जस्तै डाक्टरनी, पुलिसनी आदिले भाष्य निर्माण वा परिवर्तन के गर्ने हुन् सोच्नुपर्थ्यो कि!
हुन त यी पक्षमा ध्यान दिने हो भने मनोवेगमाथिको नियन्त्रण भइहाल्छ नि, हैन! कथाकारलाई लाग्यो, लेखे।
यही त हो मनोवेग लेखनको धर्म। मैले चाहिं यी दुई–चार मसिना विषयलाई शैलेन्द्रको ‘कथामा प्रयोगधर्मिता’ का अगाडि अति सूक्ष्म देखें।
सारमा, मलाई ब्रह्मास्त्रले दुई कारणले तान्यो।
पहिलो, यसको कथावाचनको शैली। अध्ययनको सीमा साँघुरो भएर हुन सक्छ, मैले अंग्रेजी साहित्यमा पढेका फ्रायड, नित्से, बेकेट, हेनरी, जोयस आदिलाई नेपाली कथाशिल्पभित्र पाएर होला ब्रह्मास्त्र मेरा लागि एकदमै नवीन स्वादको कथा कृति बन्यो।
दोस्रो, ईर्ष्या। शैलेन्द्रमाथि मेरो व्यक्तिगत ईर्ष्या। हिजोसम्म सँगै चिया पिउँदै, गफिंदै, हाँस्दै हसाउँदै गरेको साथीले हेर्दाहेर्दै यस्तो कृति लिएर आयो।
कस्सम! मैले शैलेन्द्रका हरेक कथामा कतै न कतै मलाई अझ भनौं हाम्रो समूहलाई पूराका पूरा पाएँ। अनि मन नपर्ने कुरै भएन।
शैलेन्द्र, यस्तो ईर्ष्या अझ धेरै गर्न पाइरहूँ।