काठमाडौं र ललितपुरका यी ठाउँमा आज ८ घण्टा बिजुली नआउने
काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा आज आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले सूचना प्रकाशित गरी लप्सीफेदी तथा चाँगुनारायण सबस्टेशन निर्माण आयोजनाद्वारा टेकु सबस्टेशन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने गरी काम भइरहेको जनाएको छ। पहिलो चरणको सबस्टेशन निर्माण कार्य सम्पन्न गर्न पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति नहुने प्राधिकरणको सूचनामा उल्लेख छ।
प्राधिकरणका अनुसार आज बिहान ८:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। प्राधिकरणले वैकल्पिक व्यवस्थाद्वारा विद्युत् आपूर्तिको प्रयास गर्ने जनाएको छ। निर्धारित समयअघि काम सकिएमा विद्युत् आपूर्ति सुचारु गरिने पनि प्राधिकरणले जनाएको छ।
विद्युत् आपूर्ति बन्द हुने स्थानमा बागमती फिडर अन्तर्गत सानेपा राम मन्दिर, गुसिंगाल, एड्भान्स कलेज, अमरावती, सानेपा मोड र रेडियन्ट स्कूल क्षेत्र, पुल्चोक फिडर अन्तर्गत बल्खु, हेल्थपोस्ट, झम्सिखेल, पुल्चोक, प्रधान सेनापति निवास लगायतका क्षेत्र छन्।
त्यस्तै, चमती फिडर अन्तर्गत ज्ञानतीर्थ मार्ग, कालीमाटी शालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल, बारूदखाना; कीर्तिपुर फिडर अन्तर्गत बल्खु, खसीबजार, त्रिभुवन विश्वविद्यालय, चोभार, टौदह, ट्यांलाफाँटका केही भाग; त्रिपुरेश्वर फिडर अन्तर्गत टेकु, पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी बस्ती, वर्ल्ड ट्रेड सेन्टर क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द हुनेछ।
यसैगरी, थापाथली फिडर अन्तर्गत टेकु सस हुँदै त्रिपुरेश्वर चोक, आशा अस्पताल, रङ्गशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सानेपा, कुपन्डोल, हिमालयन होटल, स्थानीय विकास मन्त्रालय र पुल्चोक क्याम्पस, भैंसेपाटी फिडर अन्तर्गत महतो मार्ग, भैंसेपाटी आवास, चोक र एकल डाँडा क्षेत्रमा पनि विद्युत् आपूर्ति रोकिनेछ।
क्षेत्रपाटी फिडर अन्तर्गत टेकु ससदेखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क, ल्कु चोकदेखि क्षेत्रपाटीसम्म विद्युत् आपूर्ति नहुने प्राधिकरणले जनाएको छ।