हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द
हेटौंडा सिमेन्ट उद्योगमा शुक्रबारदेखि सिमेन्ट उत्पादन बन्द भएको छ।
उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ। उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि तत्काल क्लिङ्कर उत्पादन गर्न कठिनाइ भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए।
दुई साताभित्रै विदेशबाट गुणस्तरीय कोइला ल्याएर उत्पादन शुरू गरिने उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए। उनका अनुसार अहिले सिमेन्ट उद्योगको भण्डारमा करीब ८०० मेट्रिक टन कोइला छ। तर, पर्याप्त कोइला नहुँदासम्म क्लिङ्कर उत्पादन गर्न समस्या आइपरेको उनको भनाइ छ।
महाप्रबन्धक पाण्डेले उद्योगमा अहिले दुई लाख ५० हजार बोरा सिमेन्ट रहेको र त्यसलाई काठमाडौं लगायत विभिन्न शहरमा खपतका लागि तयारी अवस्थामा राखिएको जानकारी दिए।
उद्योगको क्लिङ्कर उत्पादन गर्ने आगो बाल्ने भट्टीको केही उपकरणको एक साताभित्रै मर्मतसम्भार गर्ने लक्ष्य रहेको उद्योगका नायब महाप्रबन्धक कर्णले जानकारी दिए। करीब चार दशक पुरानो हेटौंडा सिमेन्ट उद्योगबाट २०४३ मंसीर २६ गतेदेखि व्यावसायिक रूपमा उत्पादन शुरू गरिएको थियो। -रासस