‘मोनुमेन्ट अफ काठमाडौं भ्याली’ सार्वजनिक
भूकम्प अघि र पछिको सम्पदाको फेहरिस्त रहेको रोहित रञ्जितकारको पुस्तक ‘मोनुमेन्ट अफ काठमाडौं भ्याली’ सार्वजनिक गरिएको छ।
शुक्रबार ललितपुरको पाटनढोकामा आयोजित एक कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो। कार्यक्रममा बोल्दै नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले पुस्तकको प्रकाशनको काममा दूतावास संलग्न हुन पाएकोमा गर्व लागेको बताए।
नेपाल विकासोन्मुख मुलकमा स्तरोन्नति हुँदै गर्दा निर्माणका धेरै काम हुने भएकाले पुनर्निर्माणको मुद्दामा गम्भीर हुनुपर्ने बताए। “सम्पदाको क्षेत्रमा लाग्नेहरूको निस्वार्थ लगाव र कामप्रतिको निष्ठाले यो काम सम्पन्न भएको हो। त्यो अनुकरणीय छ,” थम्पसनले भने।
त्यस्तै, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले यस पुस्तकले पुननिर्माणको यात्रालाई दस्तावेजीकरण गरेको बताए। यो पुस्तक भोलिका दिनमा जिर्णोद्धार, मर्मतसम्भार तथा अनुसन्धानमा सहयोगी हुने उनको भनाइ थियो। “हामीले भूकम्पपछि हजार संरचना पुनर्निर्माण गरिसकेका छौं,” गौतमले भने, “नेपालभरका ८० प्रतिशतभन्दा बढी संरचना र उपत्यकाका ८० प्रतिशतभन्दा बढी संरचना पुनर्निर्माण भइसके।”
पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले मन्दिर लगायतका कुनै पनि सांस्कृतिक सम्पदाको साना तत्वहरूको पनि ठूलो महत्त्व हुने बताए।
“प्रत्येक तत्वले इतिहास बोकेको हुँदोरहेछ,” ज्ञवालीले भने, “भूकम्पपछि काष्ठमण्डप पुनर्निर्माण गर्नुपर्दा त्यसबारे जान्ने एक जना मात्र वृद्धा जिवित हुँनुहुँदो रहेछ र उहाँबाट कुरा सुन्नुपर्ने अवस्था थियो। अब हामीलाई मान्छेबाट मान्छेलाई सर्ने ज्ञान हस्तान्तरण होइन कि पुस्ताबाट अर्को पुस्तालाई ज्ञान हस्तान्तरण गर्न पुस्तक सहयोगी हुनेछ।” उनले यो पुस्तकलाई दस्तावेजीकरण मात्र नभएर इतिहासको संरक्षणका रुपमा पनि अर्थाए।