रोपाइँको वेला घर्किन लाग्यो, एकतिहाइ खेत बाँझै
यस वर्षको धान रोपाइँ हुने मुख्य मौसम सकिन लाग्दा एकतिहाइ खेत अझै बाँझो रहेको देखिएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार साउन ५ सम्म देशको ६८ प्रतिशत खेतमा मात्रै रोपाइँ सकिएको छ। गत वर्षको तुलनामा करीब २० प्रतिशत बिन्दुले रोपाइँ कम भएको देखिएको हो। गत वर्षको साउन ५ गतेसम्म देशका ८८ प्रतिशत खेतमा रोपाइँ सकिएको थियो।
मनसुन भित्रिन ढिला भएको, पानी पर्याप्त नपरेको तथा गाईगोरुमा देखापरेको लम्पी स्किन रोगका कारण रोपाइँ ढिला भएको मन्त्रालयको दाबी छ। रोपाइँको मुख्य मौसम सकिन करीब एक साता मात्रै बाँकी छ। यद्यपि मन्त्रालयले मधेशमा साउनको अन्तिमसम्म नै रोपाइँ हुने भएकाले करीब ९०–९५ प्रतिशत खेतमा यो वर्ष रोपाइँ हुने अनुमान गरेको छ।
देशको अन्नभण्डार भनेर चिनिने मधेश प्रदेशमा रोपाइँ आधा पनि सकिएको छैन। मधेशको ४६ प्रतिशत खेतमा मात्रै रोपाइँ सकिएको तथ्याङ्क छ। गत वर्षको यही अवधिमा मधेशमा ८८ प्रतिशत खेतमा रोपाइँ सकिएको थियो।
मधेशमा रोपाइँ कम हुँदा धान उत्पादनमा कमी आउने जोखिम हुन्छ। देशको कुल धान उत्पादनको एकचौथाइ हिस्सा मधेशमा उत्पादन हुन्छ।
त्यस्तै, कोशीमा ७३, बागमतीमा ६५, लुम्बिनीमा ७४ प्रतिशत खेतमा रोपाइँ सकिएको छ। मन्त्रालयका अनुसार धान रोपाइँ हुने देशको १३ लाख ५७ हजार हेक्टर खेतमध्ये नौ लाख २७ हजार हेक्टरमा मात्रै धान रोपाइँ सकिएको छ।
रोपाइँ ढिला हुँदा धान कम फल्न सक्ने जोखिम हुन्छ। मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले धान रोपाइँ ढिला हुँदा धान उत्पादनमा चुनौती थपिन सक्ने बताए। गत आर्थिक वर्ष २०७९/८० मा ५४ लाख ८६ हजार मेट्रिक टन धान फलेको थियो।
विश्वको सर्वाधिक धानचामल निर्यात गर्ने मुलुक भारतले बिहीबार मात्रै चामलको निर्यातमा रोक लगाएको छ। यसले देशको चामलको मागको आपूर्तिमा चुनौती थपेको छ। नेपालमा यो वर्ष धानको उत्पादन अपेक्षा अनुसार भएन भने चामलको आपूर्ति व्यवस्थामा थप व्यवधान आउने र मूल्य बढ्ने जोखिम छ।