“जारीमा सङ्गतको भरमै अभिनय गरें, ‘गाउँ आएको बाटो’का लागि भाषाविज्ञान पढ्नुपर्यो”
‘बजार जता गइरहेको छ, त्यतै काम नगरेको भए मलाई कलाकारको रूपमा टिकिरहन कठिन नै हुन्थ्यो। यो बाहेक अरू काम जानिएको छैन। भविष्यका लागि पनि त सोच्नुपर्ने रहेछ।’
अभिनेता दयाहाङ राई कबड्डी-४ र जारी फिल्मबाट प्राप्त सफलताका कारण पछिल्लो समय व्यस्त छन्। उनी अभिनीत दीपेन्द्र लामाको निर्देशनमा बनेको नाङ्गो गाउँ तथा निश्चल बस्नेतको निर्देशनमा बनेको दिमाग खराबको छायाङ्कन सकिएको छ। त्यस्तै, रामबाबु गुरुङको डिग्री माइला, सिमोस सुनुवारको हात्तीछाप र दीपक रौनियारको राजागञ्जको तयारी तथा छायाङ्कनमा व्यस्त छन् अहिले।
केही दिनअघि हङकङमा भेटिएका राईसँग हिमालखबरका लागि डम्बरकृष्ण श्रेष्ठले जारीले पाएको सफलतासँगै उनको फिल्मी करिअरको आरोह-अवरोह, नेपाली समाजको फिल्मप्रतिको बदलिंदो दृष्टिकोणबारे कुरा गरेका थिए। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:
फिल्म जारीले नेपालमा प्रदर्शनको १०० दिन, दार्जीलिङमा ५१ दिनसँगै विभिन्न मुलुकमा नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ। जारीको यो सफलतालाई व्यक्तिगत रूपमा कसरी लिनुहुन्छ?
फिल्म जारीले उठाएको विषयमा जारी प्रथासँग सम्बन्धित भावना जोडिएका छन्, त्यो मुख्य कुरा हो। यसमा मान्छेले आफ्नो कथा सर्लक्क पाउँछन्। कुनै वेला मैले हिमालमै भनेको थिएँ- हाम्रो अनुहार आइरहेको छ, तर कथा आएको छैन। जारीले चाहिं हाम्रो कथा पनि भनेको छ।
हाम्रो भन्नाले कुनै एउटा समुदायको मात्र भन्न खोजेको होइन। नेपाल सांस्कृतिक, सामाजिक सबै हिसाबले विविधतायुक्त छ। हरेक संस्कार, संस्कृति र भूगोलका आआफ्ना मान्यता छन्। तिनमा आधारित कथा चाहिं आएका थिएनन्। जारीले एक तहमाथि खोतलेर आफ्नो कथा आनन्दले भन्ने कोशिश गरेको छ।
आफ्नो कथा भएर नै होला, त्यहाँ नयाँपन देखियो। जसले पनि फिल्ममा आफूलाई पाउने भयो। लिम्बू संस्कृतिसँग अपरिचितले पनि ‘लिम्बू संस्कार त यस्तो हुँदो रहेछ’ भन्ने बुझ्न सक्ने भयो।
म आफैं मुन्धुम दर्शनमा बाँचेको मान्छे। यो फिल्मले मुन्धुम दर्शन सर्लक्क देखाउने र त्यो दर्शन पछ्याउनेहरू कुन विश्वासमा हिंड्दा रहेछन् भन्ने देखेपछि मान्छेलाई आकर्षित गर्यो। त्यसैको प्रतिफल हो जस्तो लाग्छ, जारीको सफलता।
हङकङमा हाउसफुल। बेलायत, अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, यूएई, मलेशियाका हलमा प्रदर्शन। यो सब देख्दा जारीले नेपाली फिल्मको आयामलाई नै परिवर्तन गरिदिएको जस्तो लाग्दैन?
जारीले माहोल बनाएको छ। यो माहोलमा फिल्मकर्मीसँगै चलचित्र विकास बोर्ड, मन्त्रालय लगायत नीति निर्माताले पनि समन्वय गरेर अघि बढे भने यो क्षेत्रमा अझ धेरै गर्न सकिन्छ।
यो माहोल भनेको फिल्म चल्नु, एउटा निर्माता वा निर्देशक वा कलाकारले पैसा कमाउनु मात्र होइन नि। हामीले सिनेमालाई भनिरहेको ‘सफ्ट पावर’ यसमा जोडिन्छ।
भर्खरै बेलायत पुगेर आएँ। त्यहाँ २५-२६ दिनको लागि हल ‘बूक’ भइरहेको थियो। एकै दिन एउटा ‘स्क्रिनिङ’ ले नपुगेर लगातार तीन वटा ‘स्क्रिनिङ’ गर्नुपरेको थियो।
के जारीले यस्ता फिल्म बनाए चल्छ, दर्शकले रुचाउँछन् भन्ने सन्देश पनि दिएको हो?
हो, मुख्य कुरा चाहिं एउटा निर्देशकले आफू विश्वस्त भएको कथा आत्मादेखि भन्न सक्नुपर्छ। हामी के गल्ती गर्छौं भने एउटा जारी चल्यो भने के कारणले चल्यो भन्ने खोज्दैनौं। सतही रूपमा हेर्छौं। यसमा यो यो कुरा छ भनेर मसलाका रूपमा हेर्ने अनि ‘फर्मुला’ का रूपमा अर्को फिल्ममा हालिदिने हुन्छ। त्यसले समस्या पर्छ।
नेपालमा कति धेरै कथा छन्। ती कथाका आफ्नै मूल्य, मान्यता र विश्वास छन्। जारीले दिएको सन्देश पनि ती मूल्य, मान्यता र विश्वासमा आधारित भई फिल्म बनाउने हो भने चल्दो रहेछ भन्ने हो। खासमा जारीको सफलताबाट नेपाली फिल्म क्षेत्रले लिन सक्ने फाइदाबारे हुनुपर्ने जति बहस भएको छैन।
कुनै समय लूट फिल्म चल्यो। लूट चलेपछि यस्तो ‘ह्वीम’ आयो कि सबैले त्यस्तै फिल्म मात्र बनाउने थाले। फेरि कबड्डी चल्यो, कबड्डी जस्तै मात्र बन्न थाले। त्यसरी त हुँदैन नि। हामीले सूक्ष्म तरीकाले, गहन रूपमा अध्ययन गरेनौं।
जारीको सफलतालाई नेपाली फिल्मकर्मी, सञ्चारमाध्यमले कसरी लिएको पाउनुभयो?
आम फिल्मकर्मी र लेखकहरूले भर्खर मात्र राम्रोसँग विश्लेषण गरिरहनुभएको होला। सञ्चारमाध्यममा फिल्म समीक्षा हेर्दा कुन विश्वासमा फिल्म बनिरहेको छ, त्यो नसमातीकनै परम्परागत मूल्यमान्यताकै आधारमा समीक्षा गरिरहनुभएको पनि देखिएको छ।
यो फिल्म पछाडि एउटा गज्जब छलफल गर्नुपर्थ्यो जस्तो लाग्छ मलाई। तर, छलफल नगरी फिल्म सामान्य तरीकाले मात्र हेरिएको जस्तो देखिन्छ। गम्भीर रूपमा हेरेको पाइँदैन। देश-विदेशका आम दर्शकले त्यतिकै यो फिल्म मन पराउनुभएको त पक्कै हैन नि।
सात वर्षअघि तपाईंले ‘नयाँ कथा बोकेका ऊर्जावान् मान्छेहरूले फिल्म बनाउँदैनथे भने मेरो जस्तो अनुहार फिल्मको पर्दामा आउन सक्दैनथ्यो’ भन्नुभएको थियो। फिल्म क्षेत्रमा दुई दशक बिताइसक्दा कस्तो अनुभव भइरहेको छ?
म जस्तो अनुहार भएको मान्छे फिल्ममा आइसकेपछि ‘ए, हामी जस्तो मान्छेको पनि कथा हुँदो रहेछ’ भनेर मान्छेहरू आकर्षित हुनुभयो। तर, त्यसपछि पनि हामीले हाम्रा कथाहरू नभनिदिंदा त्यही घिसिपिटी, त्यही फर्मुलामै गइरहेको थियो।
तर, अब कथाहरू आउँदै छन्। कथा बनाउन, कथा भन्न समय लाग्दो रहेछ।
जारी, गाउँ आएको बाटो, नीरफूलकै कुरा गरौं। अब चाहिं बिस्तारै कथा आउन शुरू गरेका छन्। कथा आउन थालेपछि व्यावसायिक रूपमा पनि सफल हुँदो रहेछ। सिर्जनात्मक रूपमा पनि सफल हुँदो रहेछ।
लूटबाट निश्चल बस्नेतले नयाँ शैली दिए। हाइवे र सेतो सूर्यले दीपक रौनियारसँगै दयाहाङलाई पनि अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुर्यायो। रामबाबु गुरुङको कबड्डी शृङ्खलाले फरक स्वाद दियो। त्यसपछि जारी हुँदै अब नवीन सुब्बाको गाउँ आएको बाटो पनि प्रदर्शनको तयारीमा छ। यी उदाहरण हेर्दा हाम्रो कथा र कथा भन्ने तरीकाको निरन्तरता छ जस्तो लाग्छ कि लाग्दैन?
मैले काम थालेको पाँच वर्षपछि हाइवे जस्तो सिनेमा गरें। त्यसको पाँच वर्षमा सेतो सूर्य जस्तो सिनेमा गरें। त्यसको ६-७ वर्षपछि जारी जस्तो, गाउँ आएको बाटो जस्तो फिल्ममा काम गर्न पाएँ। यो चाहिं मेरो निरन्तरता हो।
शुरूआतमा त ‘लोकल मार्केट’ मा स्थापित हुनुपर्यो। त्यसपछि हामी बाँच्न सक्छौं। लोकल मार्केटका लागि आफ्नो शैली खोज्दै जारी, लूट, कबड्डी जस्ता फिल्ममा काम गरिरहेका छौं।
अन्तर्राष्ट्रिय बजारका लागि जो जो लागिरहनुभएको छ, उहाँहरूसँग पनि सहकार्य गर्ने मौका पाइरहेको छु। भलै मेरो प्रयत्न कलाकारका रूपमा मात्र भइरहेको छ, मेरा दुई-तीन वटा फिल्मले अन्तर्राष्ट्रिय बजारमा राम्रै गरे। मलाई अपेक्षा छ, गाउँ आएको बाटोले यसलाई निरन्तरता दिनेछ।
बीचमा एकपछि अर्को फिल्म खेल्न थालेपछि एक पटक नवीन सुब्बाले ‘दयाहाङ पनि अरू जस्तै भयो, फरकपन देखिन छाड्यो’ भन्नुभएको थियो। यस्तो सुन्दा कस्तो लाग्थ्यो?
हो। म ती प्रतिक्रिया हेरेर आफूमाथि पनि समीक्षा गरेर अघि बढिरहेको छु। त्यो वेला चाहिं बजार जता गइरहेको छ, त्यतै काम नगरेको भए मलाई कलाकारका रूपमा टिकिरहन कठिन नै हुन्थ्यो। हामी कलाकारको पेन्सन पनि हुँदैन। यो बाहेक अरू काम पनि जानिएको छैन। भविष्यका लागि पनि त सोच्नुपर्ने रहेछ।
तर, त्यति वेला पनि मैले छानेरै फिल्म खेलेको हो। मन परेका फिल्म नै खेलेको हो। अहिले चाहिं म आफूलाई पूरै मन परेको स्क्रिप्ट भए मात्र फिल्म गरिरहेको छु।
स्क्रिप्ट र विविधताको कुरा गर्दा तपाईं जारीमा लिम्बू, नीरफूलमा तामाङ, कबड्डीमा मुस्ताङको थकालीको भूमिकामा देखिनुभयो। फिल्म कर्साङमा शेर्पा बनेर देखिंदै हुनुहुन्छ। फरक जातको भूमिकामा अभिनय गर्नुलाई कसरी लिनुहुन्छ? आफू कत्तिको ‘फिट’ भएको जस्तो लाग्छ?
अभिनेता भएपछि विविधतामा काम गर्नैपर्ने हुन्छ। मुख्य कुरा मैले समुदायलाई जान्नका लागि पनि अभिनय गरेको हुन्छु। थकाली वा तामाङ अथवा लिम्बू, राईकै कुरा गर्दा यी समुदायका पात्रको भूमिका गर्दा म यी समुदायका मूल्यमान्यता र विश्वासलाई नजिकबाट बुझ्ने मौका पाउँछु।
हुन त कसैको संस्कृति जति बुझे पनि म कहिल्यै लिम्बू हुन सक्दिनँ, तामाङ हुन सक्दिनँ। तर, त्यो अनुभूतिलाई महसूस भने गर्न सक्छु।
नढाँटी भन्दा म फरक समुदायको भूमिकामा फिट चाहिं छैन। म अलि लोकप्रिय भएँ होला। निर्देशकले पनि मलाई अलि बढी दबाब दिनुभयो होला। तर, निर्देशकले पनि अब जुन समुदायको कथा हो, त्यही समुदायभित्रकै मान्छेलाई काम गराउनुपर्यो।
समुदाय अनुसार पानीलाई हेर्ने दृष्टिकोण फरक हुन्छ। मान्यता फरक हुन्छ। त्यो अनुसार मेरो विश्वास अर्कै हुन्छ होला, भावना फरक हुन्छन् होला। अब आउने निर्देशकले यी कुरालाई मनन गर्नुपर्छ।
जारीका लागि कुरा हुँदा पनि निर्देशक उपेन्द्र सुब्बालाई भनेको थिएँ, “दाइ, म लिम्बू टोन चाहिं निकाल्न सक्दिनँ, त्यो क्यारिकेचर मात्र हुन्छ।”
सतही हुने कुरा म सक्दिनँ। त्यो मलाई चाहिएको होइन।
कर्साङ फिल्मका निर्देशकसँग पनि कुरा गरें, “क्यारिकेचर चाहिं गर्दिनँ, तर उसको इमोसनसँग चाहिं काम गर्न सक्छु। तर, बोलीमै आउन त कि मलाई एक डेढ वर्ष त्यसैको प्राक्टिस गर्न छाडिदिनुपर्यो कि त्यही समुदायको एक्टर लिएर आउनुपर्छ।”
गाउँ आएको बाटोकै कुरा गर्दा हामीले भाषाविज्ञानसम्म पढ्यौं। राई मातृभाषा बोल्नेहरूले कसरी बोल्छन्, कसरी त्यस्तो टोन आउँछ भन्ने कुरा सिक्यौं।
जारीमा लिम्बू युवाको भूमिकामा देखिनुभयो, अब नवीन सुब्बाले बनाइरहेको राईको गाउँको कथामा आधारित फिल्ममा काम गर्नुभएको छ। अनुभव कस्तो रहयो?
हाम्रो विश्वास करीब करीब उस्तै छ। मुन्धुममै आधारित हुन् राई र लिम्बू। नवीन दाइले राईको कथा सोच्नुभयो। दाइलाई पनि सहज त थिएन, धेरै अध्ययन गर्नुभयो।
मैले चाहिं जारीको नामसाङको पात्र गर्दा दाइले जस्तो अध्ययन गरिनँ। नढाँटी भन्दा सङ्गतको भरमा गरेको हो। मलाई के लाग्थ्यो भने यो किसिमको चरित्र चाहिं अहिलेको समयको पुरुषको एउटा ‘इगो कल्चर’ नजिक भएकाले सहज मात्र भएको हो। गहिराइका कारण होइन।
नुमाफुङ जस्तो फिल्म बनाएर फरक धार देखाइसकेका नवीन सुब्बासँग काम गर्दा र त्यसपछि आएका अरू निर्देशकसँग काम गर्दा के फरक हुँदो रहेछ?
नवीन दाइ त हाम्रो अभिभावक नै हुनुभयो। उहाँले हिंडेको बाटोमा हामी हिंडेका हौं। तर, उहाँका कतिपय विचार मात्र समात्यौं, कतिपय बीचमै छाड्यौं होला। कबड्डी बनाउने ताका हामीले के सोच्यौं भने- अन्तर्राष्ट्रिय बजारमा हाम्रो पहुँच छैन। लोकल मार्केटका लागि काम गरौं।
यही सोचेर काम गरेका हौं। कबड्डीको लास्ट स्क्रिप्ट हामीले त्यो हिसाबले निकालेको हो।
शुरूमा हाम्रो कथा भन्नुपर्छ, संसारभर पुर्याउनुपर्छ भनेर लागेकै हौं। तर, हाम्रो स्रोतसाधन र पहुँच बुझेपछि हामी देशभित्रको बजारमा बलियोसँग लाग्नुपर्छ भनेर अघि बढ्यौं।
तर, नवीन दाइ चाहिं पहिल्यैदेखि ‘ग्लोबल’ सोच्ने। अहिले पनि त्यसरी नै सोच्नुहुन्छ। उहाँलाई संसारको फिल्ममा के भइरहेको छ? संसारको फिल्म कहाँ पुगिरहेको छ? सबै कुरा थाहा छ।
यता हामीलाई चाहिं नेपालको बजार के भइरहेको छ भनेर थाहा छ। विश्वबजारबारे कम ज्ञान छ।
दाइसँग काम गर्दा चाहिं मेरो अभिनय, मनोभाव अन्तर्राष्ट्रिय दर्शकले पनि बुझोस् न भन्ने हिसाबले काम गरिन्छ। त्यसको अर्थ बबाल काम होइन। आफ्नो अभिनयमा आफ्नोपन कसरी हाल्ने भन्ने हो।
नवीन दाइले पनि जहिल्यै त्यही दबाब दिनुहुन्छ। ‘तैंले आफ्नोपन चाहिं कहिले बनाउने? हामीले कसरी गर्ने?’ भन्नुहुन्छ।
तपाईंको गाउँ भोजपुरको खावाबाट हिंडेर धरान पुग्न कुनै वेला दुई दिन लाग्थ्यो। अहिले त गाडी पुग्यो। यात्रा अवधि छोट्टियो। खावाबाट हिंडेर धरान आएर गाडी चढी काठमाडौं गइरहँदा आजको दयाहाङ हुन्छु भन्ने लाग्थ्यो कहिल्यै?
त्यो त सोचेकै थिइनँ। तर, मलाई के लाग्थ्यो भने म आफूले रोजेको काम गर्छु। अहिले पनि त्यही हो। म आफूले रोजेको काम गरिरहेको छु।
कहिलेकाहीं तपाईंको फेसबूकतिर पहिलेका गाउँघर र गाउँका साथीहरूको फोटो राखिएको देख्न पाइन्छ। २२ वर्षपछि गाउँ आएको बाटो लिएर गाउँ पुग्दा के सम्झिनुभयो?
त्यति वेला मलाई आफूमाथि ठूलो जिम्मेवारी आएको महसूस भयो। नवीन दाइलाई पनि भनें मैले। आफ्नो जिल्लामा, छिमेकी गाउँमा आफ्नै कथा भनिरहेका छौं। त्यस वेला मैले दुई कुरा सम्झिएँ। एउटा चाहिं म कलाकार नभएको भए, भोजपुरदेखि काठमाडौं आउन आँट नगरेको भए, मेरो जीवन त्यही गाउँ आएको बाटोको चरित्र नै हुन्थ्यो होला।
अर्को, गाउँमा बाटो आइसकेपछि जनजीवनमा जस्तो किसिमको प्रभाव पर्छ, त्यसले अर्को जिम्मेवारी महसूस गरायो। त्यस मार्फत हामीले विकासलाई कसरी हेर्ने? विकास भन्ने बित्तिकै बाटो, गाडी, बजार मात्र त्यहाँ पुग्ने होइन, हामीले पनि हाम्रो सीपलाई बेच्न सकिएन भने, हाम्रा ज्ञानलाई बाँड्न सकिएन भने गाउँसम्म आएको बाटो हेर्ने मात्र हुने रहेछ भन्ने लाग्छ।
तपाईं दीपक रौनियार, रामबाबु गुरुङ, दीपेन्द्र लामा, निश्चल बस्नेत र उपेन्द्र सुब्बासँग दोहोरिइरहनुहुन्छ। उनीहरूसँग काम गर्दा सहज भएर हो कि छुट्टै टीम तयार गर्दै लगेकाले हो?
टीम नै होला। किनभने हामीलाई पनि नेपाली फिल्मप्रति चिन्ता थियो। कुनै वेला हामी एउटै टेबलमा बसेर, चिया पिएर कुरा गर्थ्यौं। यो भयो, यो भएन भनेर।
तीमध्ये निश्चल निर्देशनमा हामफाले, दीपक, रामबाबुले पनि त्यसै गरे। म पनि कलाकारका रूपमा तयारी गर्दै थिएँ। साथीहरूले गरौं भने, काम गर्दै गएँ। काम गर्दै गएपछि आफ्ना कमीकमजोरी थाहा हुँदै गयो। यसैलाई अलि सुधार्ने अथवा आर्थिक रूपमा अझै सबल हुनुपर्छ भन्ने हिसाबले काम हुँदै गएका हो।
यो कुनै संयोग होइन। कुनै योजना होइन। आफैं भइरहेको हो। एउटै समयमा आएका हामी फरक तरीकाले सिनेमालाई हेर्ने भएर पनि होला, उनीहरूसँग काम गर्न सहज भयो।
नेपाली फिल्ममा फरक अनुहार पनि स्थापित हुने रहेछ भन्ने त देखियो। तर, समग्रमा हेर्दा यो क्षेत्रमा अझै पनि जातीय पूर्वाग्रह हुन्छ कि हुँदैन जस्तो लाग्छ?
पहिला जस्तो त्यति साह्रो त छैन, तर अहिले पनि हुन्छ। कहिलेकाहीं कस्तो हुन्छ भने, हामीले आफ्नो समुदायको कथामा कुनै नाटक बनाइरहँदा वा फिल्म बनाइरहँदा यस्तो वेला, ‘तपाईंहरूलाई आफ्नो समुदायले कति सहयोग गर्छ है?’ भन्ने कुरा आउँछ।
यो पनि एक किसिमको हामीले गरेको सिर्जनाभन्दा पनि समुदायले गरेको सहयोगले त्यसै राम्रो भइहाल्छ भन्ने कुरा हो।
जारी राम्रो हुनुमा पनि कतिले ‘त्यो समुदाय उर्लिएर आयो नि त’ भन्छन्। खासमा हामीले हाम्रो कथा भनेपछि आफूलाई ‘एशोसिएट’ गर्न आउनुभएको हो। ‘राई वा लिम्बू समुदाय आएर हेर्यो, चल्यो’ भन्छन्। तर, समुदायको कथा आएकाले पो समुदाय आएका हुन् त।
यसरी एउटा समुदायको कथामा बनाएको सिर्जना अर्को समुदायले हेर्दै नहेर्ने चलन पनि छ। दयाहाङलाई कलाकारमा राख्यो भने एउटा समुदायले हेर्छ, फिल्म चल्छ भन्नेहरू पनि छन्। त्यस्तो त होइन नि। हाम्रो समुदायको कथा, हाम्रो सौन्दर्य आए हेरिने हो।
यो विषयमा बृहत् बहस हुनुपर्छ जस्तो लाग्छ जुन भइरहेको छैन।