मिटरब्याज पीडितको पक्षमा सरकार दृढतापूर्वक उभिएको छ: मन्त्री शर्मा
मन्त्री शर्माले मिटरब्याज सम्बन्धी कानूनमा देखिएका समस्या संशोधन मार्फत हल गर्ने बताएकी छिन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिटरब्याज पीडितहरूको पक्षमा सरकार दृढतापूर्वक उभिएको बताएकी छिन्। जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले समान्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई समाप्त पार्न सरकारले ऐन नै निर्माण गरेको पनि बताइन्।
उनले ऐनका सवालमा केही असन्तुष्टि भए पनि तिनलाई बिस्तारै समाधान गरेर जाने बताइन्। “कानून बिस्तारै संशोधन गर्दै जाने भएकाले मिटरब्याज सम्बन्धी कानूनमा देखिएको समस्यालाई संशोधन मार्फत हल गर्नेछौं। यसमा कोही असन्तुष्ट हुनु भएन,” उनले भनिन्।
मन्त्री शर्माले जनतालाई सुशासन दिन पनि सरकार दृढतापूर्वक उभिएको बताएकी छिन्। सरकार भ्रष्टाचारको विरुद्धमा पनि उभिएको र सेवा प्रवाहमा समेत विगतको भन्दा सुधार भएको बताउँदै उनले सुशासन स्थापना गरेरै छाड्ने बताइन्।
फरक सन्दर्भमा मन्त्री शर्माले सुन तस्करीमा पूर्व सभामुख कृष्णबहादुर महराको नाम कुनै तथ्यमा आधारित नभई गलत किसिमले आएको बताइन्। उनले नागरिकता सम्बन्धी नियमावली निर्माणको क्रममा रहेकाले छिटै आउने पनि बताइन्।