गाँजा छोड्दै, कफी रोप्दै
मकवानपुरको राक्सिराङ गाउँपालिकाका अधिकांश किसानले गाँजालाई मुख्य आयस्रोत बनाइरहेको अवस्थामा अहिले भने समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उनीहरूलाई कफी खेतीतर्फ प्रेरित गरिएको छ।
पुस्तौंअघिदेखि गाँजा खेती गर्दै आएका मकवानपुरको राक्सिराङ गाउँपालिका-९ का किसान उमेश चेपाङले अहिले आफ्नो बारीमा कफी लगाएका छन्। गाँजा खेती गर्दा रोप्दादेखि बेच्दासम्म डरैडरमा बस्नुपर्ने भएकाले कफी खेती गर्न थालेको उनी बताउँछन्।
“हाम्रो जीविकोपार्जन हुने भए पनि कुन दिन जेलमा पुगिने हो, पत्तो नहुने। डरैडरमा किन गाँजा खेती गर्नु? म त कफी खेती गर्न पाउँदा धेरै खुशी छु,” चेपाङले भने।
उनी मात्रै होइन, अहिले यस क्षेत्रका अन्य किसान पनि कफी खेतीमा आकर्षित भइरहेका छन्।
राक्सिराङ-६ का चन्द्रमान प्रजा र ५ का वियोग लामाले पनि कफी लगाएका छन्। लामाका अनुसार पहिला वेलाबखत बागमती प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय, मकवानपुरको टोली आफूहरूले खेती गरेको गाँजा नष्ट गर्न आउँथे। त्यति वेला आफूलाई पनि कारबाही गर्ने हुन् कि भन्ने त्रास पनि हुने गर्थ्यो। गाँजा नष्ट गर्न प्रहरी आउँदा किसान गाउँ छाडेर भाग्थे।
तर, अहिले तिनै किसान प्रहरीकै हातबाट कफीको बिरुवा रोपिरहेका छन्। “अब यसैलाई हुर्काउने हो, यसैबाट आम्दानी लिने हो,” लामाले भने, “जे लगाए पनि हाम्रो जीविका चल्ने आय हुनुपर्यो।”
मकवानपुरका विभिन्न स्थानमा ठूलो परिमाणमा गाँजा खेती हुने गरेको छ। विशेषगरी राक्सिराङ गाउँपालिकामा अधिकांश किसानको मुख्य आयस्रोत नै गाँजा हो। कैलाश गाउँपालिका र मनहरी गाउँपालिकामा पनि गाँजा खेती हुने गरेको छ।
कानूनी रूपमा अवैध गाँजाको खेती गर्न छुटाएर किसानलाई वैकल्पिक खेतीमा आकर्षित गराउन लामो समयदेखि प्रहरी र स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराइँदै आएको थियो। २०६५ सालमा मकवानपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी मार्फत स्थानीय किसानहरूले आफूहरू गाँजा छाड्न तयार रहेको तर सरकारले विकल्प देखाउनुपर्ने माग गरेका थिए। कृषि मन्त्रालय र गृह मन्त्रालयमा ज्ञापनपत्र पनि बुझाएका थिए। तर, मन्त्रालयले यसलाई गम्भीर रूपमा लिएन।
अहिले भने जिल्ला प्रहरी कार्यालय, मकवानपुर, बागमती प्रदेश प्रहरी कार्यालय लगायतको संयुक्त पहलमा गाँजाको विकल्पमा कफी खेती प्रवर्द्धनको प्रयास गरिएको हो।
मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका-५ स्थित ठाडेचुरेमा मास्के मल्टिपर्पस एग्रिकल्चर एन्ड रिसर्च प्रालि चितवनसँगको सहकार्यमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कफीका चार हजार बिरुवा रोपिएका हुन्। थप १५ हजार बिरुवा गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणा र जिल्ला प्रहरी कार्यालय, मकवानपुरका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीको उपस्थितिमा स्थानीय कृषकले गाँजाको विकल्पमा कफीका बिरुवा रोपेका हुन्।
मास्के मल्टिपर्पस एग्रिकल्चर एन्ड रिसर्च प्रालि चितवनका प्रमुख धनबहादुर श्रेष्ठका अनुसार यही सिजनमा रोप्ने गरी अरू पाँच लाख कफीका बिरुवा हस्तान्तरण गर्ने तयारी छ।
प्रहरीले चितवन जिल्लाको राप्ती नगरपालिका-१ मा पनि २० हजार कफीका बिरुवा वितरण गरेको छ।
किसानको हितमा कफी
प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख राणा लागूऔषध खेती हुने क्षेत्रका कृषकलाई वैध र नगदे बालीतर्फ लाग्न उत्प्रेरित गर्न विशेष अभियान शुरू गरेको बताउँछन्। जिल्ला प्रहरी कार्यालय, मकवानपुरका निमित्त कार्यालय प्रमुख कार्की गाँजा र अफिम यस क्षेत्रका लागि जटिल बनिरहेको अवस्थामा कफी खेती किसानको हितमा रहेको बताउँछन्।
प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीका अनुसार यो अभियानले अवैध खेतीमा संलग्न किसानलाई वातावरणमैत्री र लाभदायक उद्यममा रूपान्तरण गर्न प्रेरित गर्नेछ। यस्तै उद्देश्यले आगामी पुस्ताका लागि उज्यालो भविष्य अँगालेर थप सामञ्जस्यपूर्ण र वातावरणप्रति सचेत समाज निर्माण गर्ने लक्ष्य लिएको समेत उनले जानकारी दिए।
कफी नगदे बाली भएकाले गाँजा जत्तिकै आय गर्न सकिने राक्सिराङ गाउँपालिकाका अध्यक्ष मल्ल बताउँछन्। उनका अनुसार यो क्षेत्रको माटो तथा हावापानी पनि कफीका लागि अनुकूल छ।
कफी खेतीका क्रममा किसानलाई केही समस्या भएमा पालिकाको कृषि शाखा मार्फत सहजीकरण गर्न तयार रहेको राक्सिराङ गाउँपालिका-६ का वडाध्यक्ष अकलबहादुर मोक्तानले बताए।
८५ प्रतिशत कैदीबन्दी गाँजाकै कारण जेल परे
गाँजालाई वैधता दिनुपर्ने बहसले वेलावेला संसद्देखि सामाजिक सञ्जालसम्म तताउने गरेको छ। संघीय सरकारका पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडाले गाँजालाई वैधता दिइनुपर्ने भनी संसद्मा समेत पटक पटक आवाज उठाएका थिए। चुनाव प्रचारका वेला खतिवडाले राक्सिराङ, कैलाश, मनहरी गाउँपालिकाका किसानलाई आफूले चुनाव जितेमा गाँजा खेतीलाई वैधता प्रदान गराउने अजेन्डा रहेको पनि बताएका थिए।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट उनी निर्वाचित पनि भए। संसद्मा विषय पनि उठाए। तर, गाँजालाई अवैध मान्ने कानून संशोधन भएन।
हाल मकवानपुर-२ का सांसद महेश बर्तौलाले चुनाव प्रचारका वेला किसानलाई गाँजाको विकल्प दिने अजेन्डा उठाएका थिए। “कानूनी रूपमै प्रतिबिन्धित गाँजालाई लुकेर खेती गर्दै युवाहरू जेल पुग्ने विडम्बना विरुद्धमा मेरो संघर्ष हो,” बर्तौलाले भने, “सोझा किसानका युवा भाइबहिनीहरू गाँजाको कारण जेल पुगेका छन्। उनीहरूको परिवार तहसनहस भएको छ।”
अहिले नेपालको कानून अनुसार कसैको खल्तीमा ५० ग्राम गाँजा भेटियो भने पनि तीन महिना कैद र तीन हजारसम्म जरिवाना हुन सक्छ। केही समयअघि एक गैरसरकारी संस्थाले गरेको अध्ययनबाट हाल मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीमध्ये ८५ प्रतिशत कैदीबन्दी गाँजाकै कारण जेल परेको देखिएको थियो।