गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने
मौसम पूर्वानुमान महाशाखाले आज गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
यति वेला गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना छ।