विमानस्थल भन्सारका सुब्बा र अजेन्टलाई कारबाही, अधिकृतलाई निलम्बन गर्न सिफारिश
करीब १०० किलो सुन तस्करीमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीलाई कारबाही गरिएको छ भने एक जनालाई निलम्बन गर्न सिफारिश गरिएको छ।
भन्सार विभागले विमानस्थल भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा कुमार ढकाल र भन्सार अजेन्ट यादव पराजुलीलाई निलम्बन गरेको हो। त्यस्तै, भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गर्न अर्थ मन्त्रालयमा सिफारिश गरेको छ।
सुन आउने वेला ड्यूटीमा रहेका तीनै जनालाई कारबाही अगाडि बढाइएको भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए। “विभागले निलम्बन गर्न सक्ने सुब्बा र भन्सार अजेन्टलाई निलम्बन गरिएको छ,” निर्देशक खड्काले हिमालखबरसँग भने, “अधिकृतलाई विभागबाट गर्न नमिल्ने भएकाले निलम्बन गर्न मन्त्रालयलाई सिफारिश गरिएको हो।”
साउन ३ गते साँझ मोटरसाइकल र स्कूटरको ‘ब्रेक शू’ मा राखेर १०० किलो सुन ल्याइएको थियो। हङकङबाट आएको सुनलाई विमानस्थल भन्सार कार्यालयबाट गेट पास गरेर बाहिर ल्याउँदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो।
भन्सारबाट पास गराउँदा बनाइएका कागजात अनुसार भन्सार अधिकृत चन्द, सुब्बा ढकाल र भन्सार अजेन्ट यादव ड्यूटीमा थिए। कागजातमा भन्सार अधिकृत यादवको हस्ताक्षर रहेको पाइएको छ।
भन्सार विभागले छानबिन गर्न छानबिन समिति गठन गरेको छ। विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा गठन भएको छानबिन समितिले काम शुरू गरिसकेको छ।