पार्टीको सदस्य संख्या घटेको छैन: एमाले
नेकपा (एमाले)ले पार्टीमा रहेका संगठित सदस्यको संख्या नघटेको जनाएको छ।
एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बिहीबार विज्ञप्ति जारी गरी एमालेको सदस्य संख्या नघटेको जनाएका छन्। “एमालेको सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन,” विज्ञप्तिमा भनिएको छ, “सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्ने क्रममा यस पटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य संख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन्।”
प्रत्येक वडामा मतदाता संख्याको कम्तीमा तीन प्रतिशत पुर्याउने र पार्टीको एघारौं महाधिवेशनसम्म १० लाख गुणस्तरीय सदस्य पुर्याउने लक्ष्य रहेको एमालेले जनाएको छ। दशौं महाधिवेशनका वेला रहेको त्रुटिलाई पनि सच्याउने क्रममा अहिले वास्तविक पार्टी सदस्य संख्या कम रहेको विज्ञप्तिमा जनाइएको छ।
“दशौं महाधिवेशनमा कायम भएका सदस्यमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यको नाम यथावत् थियो भने अर्कोतिर नेकपाकालमा अनुचित ढङ्गले दिइएका सदस्यको ठूलो संख्या पनि त्यसमा पर्न गएको थियो। तसर्थ, त्यो एमालेको वास्तविक सदस्य संख्या थिएन,” एमालेले भनेको छ, “यो कुरा नवौं महाधिवेशनको आँकडा हेर्दा पनि स्पष्ट हुन्छ। २०७१ सालमा सम्पन्न भएको नवौं महाधिवेशनमा दुई लाख ५६ हजार ७७२ जना मात्रै पार्टी सदस्य थिए।”
संगठन विभाग प्रमुख अधिकारीले एमालेले यसअघि एक महाधिवेशनदेखि अर्को महाधिवेशनमा मात्रै सदस्यता नवीकरण हुने गरेको र जसले गर्दा निष्क्रिय सदस्यले पनि नवीकरण गर्ने अवसर पाउने गरेको जनाएका छन्। “नेतृत्वका आकांक्षीबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यको शुल्क तिरिने, दबाब दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामका कारण अनुचित ढङ्गले पनि संख्या बढ्न पुग्थ्यो। एमालेको इतिहासमा यस पटक त्यसमा क्रमभङ्ग गरिएको छ,” एमालेले भनेको छ।