नेपाली सेनालाई यसरी अपमान गर्न हुँदैन: वामदेव गौतम
नेपाली सेनाको संख्या घटाउने चर्चा गरेर सेनाको अपमान गर्न नहुने सांसद वामदेव गौतमले जिकिर गरेका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले सेनाको संख्या घटाउने विषयमा अनावश्यक चर्चा गर्न नहुने बताए। गौतमले भने, “नेपाली सेना राज्यशक्तिको नाम हो। सार्वभौमसत्ता, सीमाको रक्षा र राष्ट्रमा आइपर्ने जुनसुकै विपद्मा ज्यानको बाजी राखेर परिआएको खण्डमा बलिदान दिने गरी सेवारत नेपाली सेनालाई यसरी अपमान गर्न हुँदैन।”
देश र जनतालाई अप्ठ्यारो परेका वेला सधैं सहयोग र योगदान गर्ने नेपाली सेनाबारे जथाभावी अभिव्यक्ति दिन नहुने उनको धारणा थियो। नेपाली सेनाको इतिहासको स्मरण गराउँदै सेनाले विभिन्न क्षेत्रमा आफूलाई अब्बल बनाउँदै आएको बताए।
“देशलाई बलिदानी दिन तयार रहेर सेवारत सेनालाई कमजोर बनाइनु हुन्न,” गौतमले भने, “राज्यका चार अङ्गमध्ये एउटा मात्रै अङ्ग कमजोर भए हामीले दुर्घटना बेहोर्नुपर्छ। त्यसैले नेपाली सेनालाई अपमान गर्न हुँदैन।”
उनले अहिले ९६ हजारको हाराहारीमा रहेको सेनाको संख्या बढाएर एक लाख पुर्याउनुपर्ने जिकिर गरे। नेपाली सेनाको संख्या एक लाखमा राखेर विकास निर्माणका लागि अर्कै सैनिक तयार गर्नुपर्ने उनको भनाइ थियो।