हिमालपारिको न्यानो
हिमालैहिमालको देशमा जन्मिएकी मैले मनाङ पुगेर पहिलो पटक हिउँ छोएँ। हिउँसँग रमाउँदा अनुहारमा कान्ति थियो, मनमा गहिरो शान्ति।
बाटाहरू कतै सोझै तन्किन्थे, कतै फनक्क घुम्थे, कतै एकनास उकालो लाग्थे। तर, प्रकृतिले सजाएको हिउँको दरबारमा लम्किरहँदा न गोडा थाके न आँखा टट्टाए।
हिमालपारिको जिल्ला मनाङ गएर हिउँसँग रमाउने लामो समयदेखिको रहर बल्ल पूरा भएको थियो। लामो यात्रा छिचोलेर गन्तव्यमा पुगियो। भौगोलिक सौन्दर्य र हिउँको स्पर्शमा रमाउँदा भुइँमा खुट्टा थिएनन्। हिमाली सौन्दर्य चाखेपछि संसार नै पाए जस्तो, वर्षौंदेखिको प्यास तृप्त भए जस्तो अनुभूतिले लट्ठ्यायो। आत्मा हाँस्यो। फुरुङ्ग मन चरा झैं उड्यो।
लमजुङको बेसीशहरबाट अगाडि बढेसँगै एकातिर मर्स्याङ्दी नदीको तीरैतीर अर्कातिर ठाडो भीरैभीरले लामो समय छाडेन। मर्स्याङ्दीको एकोहोरो सुसाइ झ्याउँकीरी जस्तै बजिरह्यो।
मनाङको सदरमुकाम चामे नजिकिंदै गर्दा दुवैतिर अग्ला पहाडबीचको बाटाले स्वागत गर्यो। थप स्वागतमा बाटो छेउमै हात हल्लाइरहेका थिए निगालो र सल्लाका बोटहरू।
००
चामेमा हिउँ चुम्न वैशाख १५ मा यात्रा जुराइएको थियो। बेसीशहरबाट हिंड्दा सिमसिम पानी पर्दै थियो। रहर बल्ल पूरा हुने भयो उमङ्गले मन निथ्रुक्क भिजिसकेको थियो। तर, गन्तव्य पुग्ने उल्लासलाई जोखिमपूर्ण बाटोले वेलावेला झस्काइरहेको थियो।
हामी सवार बोलेरो बडेमानका ढुङ्गाका बीचबाट गुड्दा कति ठाउँमा सासै रोकिएला जस्तो हुन्थ्यो। पूरै बाटो कच्ची थियो र साँघुरो पनि। तर, रहरको गन्तव्य पुगिछाड्ने हुटहुटीलाई तमाम कठिनाइले खलबल्याउन सकेनन्।
बाटामा ससाना गाउँ र बजार थुप्रै देखिन्थे। ठाउँ ठाउँमा भेटिने पसलमा चिया, बिस्कुट र चाउचाउ बाहेक अर्थोक खासै पाइँदैनथ्यो। अगाडि बढ्दै जाँदा व्यवस्थित खाजाघर भेट्यौं। खाजाघर सञ्चालक निमेष दाइ सुझाव दिंदै थिए, “यात्रामा निस्किँदा टिमुर र लसुन चाहिं बोक्नैपर्छ।”
जलवायु परिवर्तनका कारण वर्षा प्रक्रिया लगायतमा गडबडी देखिन थालेको अनुभव पनि उनले सुनाए। पानी पर्ने वेला घाम लाग्ने, चरक्क घाम लाग्ने याममा हिउँ पर्ने जस्ता अड्कल नै गर्न नसकिने मौसमी घटनाले हिमाली जनजीवनलाई चकित बनाइरहेको छ।
हुन पनि आधा बाटोमा पुग्दा थाहा भयो, मध्य वैशाखमा माथिल्लो मनाङमा हिमपात भइरहेको थियो। यो प्रतिकूल मौसमी चक्र भए पनि हामी भने हिउँ पर्दापर्दैको अनुभव गर्न पाइने आशाले रोमाञ्चित थियौं। हिमपात भएको क्षेत्रमा पुगिहाल्ने बेचैनी ह्वात्तै बढिदियो।
मर्स्याङ्दीको किनारैकिनार तन्किएको बाटोभरि प्रकृतिका अनुपम छटा छरिएका थिए। मून फल छाँगो, बुलुम लगायत झरनाहरूले यात्राको झिंजो मेटाइरहेका थिए। बाटोछेउमा सेतो, रातो र गुलाबी रङका गुराँस झुरुप्पै फुलेका देखिए। नजिकै धूपी, सल्ला र चिलाउनेका रूखमा बसेर चराहरूले प्रकृतिको हरियालीमा सङ्गीत मिसाइरहेका थिए।
त्यसैबीच हामीलाई च्याम्सेको झरनाले स्वागत गर्यो। यात्राको थकान कता हरायो पत्तै भएन। चारैतिर फैलिएका कारण अक्टोपस झरनाको नामले चिनिने यसले हरेक आगन्तुकलाई चुम्बकले झैं तानिरहेको देखिन्थ्यो। कोही झरनामा रुझ्दै थिए, कोही पालो कुरेर भए पनि फोटो खिच्न पंक्तिबद्ध थिए।
केही बेर सुस्ताएपछि यात्रा फेरि अगाडि बढ्यो। ठूल्ठूला चट्टानको छेउबाट गाडी कुदिरह्यो। बाटो निकै साँघुरो थियो, अर्कोतिरबाट गाडी आएमा ब्याक गरेर अलि फराकिलो कुनोमा रोकेपछि मात्र मुश्किलले पार हुन्थ्यो। एकातिर सानो रेखा कोरिएको जस्तो बाटो र अक्करे भीरबीचको यात्रा, अर्कातिर सडकमुनि मडारिएको मर्स्याङ्दी। घरीघरी सातो जान्थ्यो।
त्यस्तो कठिन र जोखिमपूर्ण बाटोमा स्थानीय महिला र पुरुषहरू बेपरवाह भई ठमठम हिंडेको देखियो। कुन शक्तिले यसरी हिंडायो भनी सोध्दा उनीहरूले हाँस्दै मन छुने कुरा गरे, “बाध्यताले गराउँछ हजुर। सुख-दुःख जेनतेन परिवार चलाएकै छौं।”
गाडीमै सरर यात्रा गर्दा पनि अनेक गुनासो गर्ने हामी उनीहरूको संघर्षकथा सुनेर मौन भयौं। वास्तवमै विकट भूगोलमा उनीहरूको जीवनयापन कति कष्टकर हुँदो हो, अनुमान मात्र गर्न सकिन्छ। कमजोर पूर्वाधार, दयनीय स्वास्थ्य सेवा, पोषणयुक्त खानाको अभाव देशका अन्य क्षेत्र जस्तै त्यस भेगको पनि विशेषता थियो। त्यति हुँदाहुँदै कोही पनि उदास देखिंदैनथे। आफ्नै पौरखमा पूर्ण विश्वास सँगालेर जीवनमा डटिरहेका उनीहरू कुनै साहसिक कथाका पात्र झैं लाग्थे।
यात्रा अगाडि बढ्दै जाँदा मर्दी खोला पुगियो। केही बेर गुडेपछि खोलाकै छेउमा सडकभन्दा अलि तल रहेको ताल गाउँ हेर्न रोकियौं। झरना झरिरहेको र पहाडले घेरिएको सानो तर सौम्य गाउँ बिछट्टै सुन्दर देखियो।
उकालो पार गर्दै हामी फेरि मर्स्याङ्दीको किनारैकिनार अघि बढ्यौं। बीचबीचमा रोकिंदै सुस्ताउँदै करीब दुई घण्टा गाडी हुइँकिएपछि बल्ल पुग्यौं चामे बजार।
मर्स्याङ्दी किनारमै रहेको चामेको सुन्दरतामा रमाउन राति त्यहीं बस्ने निधो भयो।
बजार घुमेपछि सरासर होटल गएर ज्यान बिसायौं। त्यहाँको रैथाने खाजा टेबलमा आइपुग्यो। पिरो खाजा खाँदा जिब्रो मात्र रमाएन, चिसो मौसममा शरीर तात्यो पनि। पिरोले घरीघरी सास बढाउँथ्यो। पसलकी नुमा दिदी भन्दै थिइन्, “डराउनु पर्दैन। यत्तिको पिरो खाएन भने त चिसोमा यहाँ बस्नै सकिंदैन नि।”
रातको खानासँगै भोलि बिहानको चामे बजारको सुन्दर दृश्य र हिउँले छपक्कै ढाकेको माथिल्लो मनाङको कल्पना गर्दै निदाउने प्रयास गरियो। दिनभरिको यात्राको थकान र अल्टिच्यूडको असहजता लगायतका कारण जीउ तात्न र निदाउन अलिक समय लाग्यो। धन्न हामी कसैलाई स्वास्थ्य समस्या भएन।
झिसमिसे बिहान आँखामा कौतूहल बोकेर प्रकृतिको दर्शन गर्न होटलबाट निस्कियौं। घामको झुल्कोले चुम्दा राताम्मे भएर मुस्कुराएको लजालु हिमाल देख्दा मोहित भइयो।
बाटोभरि कमिलाको ताँती झैं विदेशी पर्यटकको लर्को थियो। चामेले बोकेको यस्तो आकर्षण पहिलो चोटि पुगेको मेरा निम्ति सुखद आश्चर्य थियो।
गएराति माथिल्लो भेगमा बाक्लो हिमपात भएको जानकारी पाइयो। त्यसपछि त हिउँसँग खेल्ने उखरमाउलो व्यग्रता दोब्बर भयो। आतुर हुँदै लामो पाइला चाल्यौं।
चामे पुग्दा नै म आनन्दको लहरामा तानिइसकेकी थिएँ। माथि उक्लिँदै जाँदा सुन्दरताको पर्दा झन् झन् खुल्दै गयो।
केही बेर गाडीको यात्रा गर्यौं। करीब आधा घण्टाको सफरपछि नयाँ संसारमा पुगे झैं लाग्यो। जताततै हिउँ नै हिउँ। हिउँको बाटो, हिउँकै घर। बोट-बुट्यानमा हिउँकै लेपन। स्याउको बगैंचामा हिउँकै घेरा। हरेक दृश्यमा सौन्दर्य थियो।
बाटाका दुवैतर्फ सेताम्य हिमाल– एकअर्कालाई हेरेर हाँसिरहे जस्ता धपक्क उज्याला। प्रकृतिको जादूले मन्त्रमुग्ध बनायो। असीम हर्षले मेरा आँखा टोलाएछन्।
यी दृश्य हेरेर मात्र मन मानेन, स्पर्शको चाहना ह्वात्तै चुलियो। गुम्बा डाँडाको नजिकै पुगेपछि हिउँ खेल्न गाडीबाट उत्रियौं। हिउँको त्यो मनमोहकता हाम्रै प्रतीक्षामा रहे जस्तो लाग्यो। रेलिङ समाउँदै माथि पुग्दा तलतिर बोलेरो गाडीको लस्कर र ससाना चिया पसल देखिए।
कति समयदेखि योजना बनाएर बल्लतल्ल आउन पाएको यात्रामा हिउँलाई मन खोलेर अँगालोमा बेर्न मन लाग्यो। हिउँको स्पर्श गरें। मुटु ठिहिर्याउने चिसोमा पनि हिउँ निकै न्यानो लाग्यो। यो न्यानो हर्षको गहिरो अनुभूतिले छरेको थियो।
हिउँको आलिङ्गनमा रमाएँ। हिमालैहिमालको देशमा जन्मिएकी मैले पहिलो पटक पर्दै गरेको हिउँ छोएकी थिएँ। सिमलको भुवा झैं पोखिएको हिउँले हामीलाई पनि हार्दिकताका साथ अँगाल्यो। सबै सङ्कोच बिर्सेर हिउँको आँगनमा नाचें। असीम ऊर्जा पाए झैं लाग्यो।
फर्कंदै गर्दा अहिलेसम्म नभेटेको सौन्दर्य र आनन्द गुटमुट्याएर ल्याए झैं मक्ख थिएँ। न सास फुलेको थियो न जिउ नै गलेको थियो। बरु त्यो मनोरम दृश्य आँखामा झलझली आइरहेको थियो। अनुहारमा कान्ति थियो र मनमा गहिरो शान्ति।