‘घरजग्गा कारोबारमा शिथिलता देखिनु र सरकारी राजस्व उठ्न नसक्नु अहिलेको समस्या हो’
नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा कारोबारमा शिथिलता देखिनु तथा सरकारी राजस्व उठ्न नसक्नु नै अहिलेको समस्या भएको बताएका छन्।
प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बिहीबारको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने बताए।
पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको, ब्याजदर घट्दो क्रममा रहेको, पर्याप्त तरलताको अवस्था लगायत केही सकारात्मक सूचक देखिए पनि मूल्यवृद्धि नियन्त्रण हुन नसकेको, सञ्चित कोष घाटामा रहेको, कर्जा विस्तार सुस्ताएको लगायत समस्या कायमै रहेको उनको भनाइ छ।
“गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको वाञ्छित सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको छ। सञ्चित कोष एक खर्ब ९३ अर्बले घाटामा छ। निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको विस्तार घटेको छ,” गभर्नर अधिकारीले भने।
अघिल्लो वर्षको तुलनामा अहिले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको पनि उनले बताए। त्यस्तै बजारमा माग घट्नु र लगानी विस्तार खुम्चिएका कारण कर्जाको माग घटिरहेको भए पनि अहिले निक्षेप र कर्जाको ब्याजदर निरन्तर घट्ने क्रममा रहेको गभर्नर अधिकारीको भनाइ छ।
“अहिले ब्यांकिङ प्रणालीमा ८८ अर्ब ५४ करोड अधिक तरलता छ,” उनले भने। गत जेठ मसान्तसम्म एक लाख ४७ हजार ५१० जनाले सहुलियतपूर्ण कर्जा लिएका छन्।
गभर्नर अधिकारीले हाल चालू खाता घाटा ७० अर्ब रहेको र बजारमा शिथिलता देखिएका कारण कर्जा असुलीमा समस्या भएको बताए। अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न के-कस्ता उपकरण प्रयोग गर्ने भन्ने विषयमा राष्ट्र ब्यांकले उचित निर्णय लिने पनि उनको भनाइ छ।
“घरजग्गा क्षेत्र कारोबारमा शिथिलता देखिनु तथा सरकारी राजस्व र पूँजीगत खर्च लक्ष्य अनुसार उठ्न नसक्नु अहिलेको समस्या हो,” गभर्नर अधिकारीले भने, “मौद्रिक नीतिसँग सबै उपकरण हुँदैनन्। हामीसँग भएका उपकरण प्रयोग गर्छौं।”
आगामी साता मौद्रिक नीति जारी गर्ने तयारी रहेको पनि उनको भनाइ छ। कर्जा र निक्षेपको ब्याजदर तथा आधारदर घट्ने क्रममा रहेको र सिडी रेसियो ८२ प्रतिशतमा आएको पनि राष्ट्र ब्यांकको भनाइ छ। चालू आर्थिक वर्षका लागि सरकारले मूल्यवृद्धि साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने गरी लक्ष्य तय गरेकामा सोही आधारमा मौद्रिक उपकरण परिचालन गरिने राष्ट्र ब्यांकले जनाएको छ। -रासस