शिवचन्द्र कुसवाहा सहित पाँच नेतालाई कारबाही
जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधान विपरीत काम गरेको भन्दै पाँच नेतालाई कारबाही गरेको छ।
बाराबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा उम्मेदवार रहेका शिवचन्द्र कुसवाहा पनि कारबाहीमा परेका छन्। जनमत पार्टी, केन्द्रीय अनुशासन समितिले नेताहरू कुसवाहा, गुलाब मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवानदास यादवलाई कारबाही गरेको हो। उनीहरूलाई पार्टीको अनुशासन विपरीत काम गरेकाले कारबाही गरिएको पार्टीका राष्ट्रिय उपाध्यक्ष दीपककुमार साहले विज्ञप्ति मार्फत जनाएका छन्।
पार्टीका प्रवक्ता शरदसिंह यादवले निर्वाचन सकिएसँगै कुसवाहा पार्टी कमजोर बनाउने अभियानमा लागेको र सचेत गराउँदा समेत नमानेपछि कारबाही गरिएको बताए। उपनिर्वाचनमा उपेन्द्र यादव विरुद्ध बारा–२ मा उम्मेदवार बन्न कुसवाहा नेकपा (माओवादी केन्द्र) छोडेर जनमत पार्टी प्रवेश गरेका थिए।
यस्तै, सप्तरीका मण्डललाई एक वर्षका लागि निलम्बन गरिएको छ। मन्दिरको व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको आरोपमा पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बन गरिएको जनाइएको छ।
त्यस्तै, सप्तरीकै शंकर खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै उनलाई पनि एक वर्षका लागि निलम्बन गरिएको छ।
केन्द्रीय निर्देशनको उल्लंघन गरेको र गर्न लगाएको तथा गुटबन्दी गरेको भन्दै रुपन्देहीका भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट तीन महीनाका लागि निलम्बन गरिएको छ।
यस्तै, कपिलवस्तुकै भगवानदास यादव पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बनमा परेका छन्। उनीमाथि पार्टीका बैठकहरूमा होहल्ला गर्दै पटक पटक अनुशासनहीनता देखाएको आरोप छ।
सीके राउतले धोका दिए: कुसवाहा
जनमत पार्टीबाट निकालिएका शिवचन्द्र कुसवाहाले सीके राउतले आफूलाई धोका दिएको बताएका छन्। निर्वाचनमा राउत आफूलाई सहयोग गर्नुको साटो आफ्नो पार्टी र चिह्नलाई मात्रै स्थापित गराउनमा लागेको बताउँदै यसैकारणले आफू हारेको उनको भनाइ छ।
उनले भने, “मैले जनमत पार्टीको सदस्यता कहिले लिएको थिएँ? म त केवल बारा–२ को उपनिर्वाचनमा चुनाव मात्रै लडेको थिएँ। त्यसकारण निष्कासनको औचित्य छैन।”