सय किलो सुन तस्करी प्रकरणमा ६ जना पक्राउ
राजस्व अनुसन्धान विभागले झन्डै १०० किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ।
विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी भइरहेको छ। अहिलेसम्म ६ जना पक्राउ परेका छन्। उनीहरूको पहिचान भने खुलाइएको छैन।
गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको सुन विभागको टोलीले बरामद गरेको थियो।
विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो। त्यसपछि आज बिहानसम्म थप चार जनालाई पक्राउ गरिएको ढुंगानाले बताए।
सुन हङकङबाट ल्याइएको खुलेको छ। “तथ्य खुल्न बाँकी छ। फरार व्यक्तिको खोजी भइरहेको छ,” ढुंगानाले भने। नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो।