लम्पी स्किन रोगबाट रसुवामा १५९ पशु मरे
गोसाइँकुण्ड गाउँपालिकामा मात्र करीब ८०० पशु लम्पी स्किन रोगबाट संक्रमित छन्।
रसुवामा लम्पी स्किन रोगका कारण हालसम्म १५९ पशुचौपाया मरेका छन्। जिल्लाका पाँच वटै गाउँपालिकाका पशुचौपायामा लम्पी स्किन रोग फैलिएको छ।
गोसाइँकुण्ड गाउँपालिकामा मात्र लम्पी स्किनबाट हालसम्म २१ चौंरी, एउटा याक र ४१ स्थानीय जातका गाईगोरुको मृत्यु भएको त्यहाँ कार्यरत पशु सेवा प्राविधिक प्रमुख सुरेश बडालले जानकारी दिए।गोसाइँकुण्डभित्र करीब ८०० पशु लम्पी स्किनबाट संक्रमित छन्।
“रोग नियन्त्रणको प्रयास भइरहेको छ, स्वास्थ्यको टोली वडा वडामा खटिएको छ,” उनले भने। लम्पी स्किनबाट संक्रमित पशुचौपायालाई छुट्टै क्वारेन्टाइनमा राख्नुपर्ने आवश्यकता रहेको बडालको भनाइ छ। हिमाली क्षेत्रको खाली पाखामा पशुचौपाया छोड्ने चलनले रोग बढी फैलिएको उनी बताउँछन्।
जिल्लाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा पनि लम्पी स्किन रोगबाट पशुचौपायामा क्षति भएको छ। आमा छोदिङ्मो बाहेक अन्य गाउँपालिकामा झण्डै एक हजार ५०० पशुचौपायाको उपचार भइरहेको सम्बन्धित गाउँपालिकाका प्राविधिकले जानकारी दिएका छन्।
कालिका गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख बुद्धिनाथ न्यौपानेले दक्षिणी रसुवाकाका पालिकका पशुचौपायामा लागेको लम्पी स्किन रोग नियन्त्रणका लागि प्राविधिक समूह खटिएको बताए। संक्रमणका कारण अधिकांश गोरु बिरामी परेकाले किसानलाई रोपाइँ गर्न समस्या भएको छ। -रासस