त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ।
विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको सुन बरामद गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए। अहिले पनि अपरेशन जारी रहेकाले सुन ठ्याक्कै यति नै छ भनेर भन्न नसकिने विभागका महानिर्देशक ढुंगानाको भनाइ छ।
विभागका महानिर्देशक नवराज ढुंगानाले भने, “बरामद गरिएको सुन ८० देखि १०० किलोको बीचमा रहेको छ।” यो सुन हङकङबाट आएको खुलेको उनले बताए।
विभागको टोलीले तीन जनालाई पक्राउ गरेको छ। एक जना ट्याक्सी चालक र दुई जना सुन ल्याउने व्यक्ति भएको जनाएको छ।
विमानस्थल पास भएर आएको सुन भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका वेला बरामद गरिएको उनले बताए। अपरेशन जारी रहेकाले विस्तृत विवरण आउन समय लाग्ने विभागले जनाएको छ। -रासस