बूढीगण्डकी आयोजना हरहालतमा अगाडि बढाइन्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइने बताएका छन्।
राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको ‘फील्ड अफिस’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यसको निर्माण कार्यलाई उच्च प्राथमिकता दिन सम्बद्ध सबैलाई निर्देशन समेत दिए। गोरखाको सिउरेनीटारमा आयोजनाको फील्ड अफिस उद्घाटन गरिएको छ।
“बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढ्छ, हरहालतमा अगाडि बढाइन्छ। यस आयोजनाका निम्ति कम्पनी खडा गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई काम अगाडि बढाउने तयारी भइरहेको छ। जग्गा अधिग्रहणको मूल हिस्सा सम्पन्न भएको छ,” दाहालले भने, “सरकारको नीति तथा कार्यक्रममा पनि यसलाई उच्च प्राथमिकतामा राखिएको छ।”
आयोजना निर्माणका लागि सबै अध्ययन प्रतिवेदनहरू तयार गर्ने कार्य सम्पन्न भइसकेका छन्। बूढीगण्डकी परियोजना निर्माणका लागि चाहिने लगानी व्यवस्थापनका लागि सरकारले आवश्यक गृहकार्य गरी तयारी गरिरहेको प्रधानमन्त्री दाहालले बताए।
“यो ‘रेडी टू गो’ आयोजना हो। आयोजनालाई जतिसक्दो छिटो अगाडि बढाउन तयारी गरिरहेका छौं। अब कुनै पनि तर्क वा बहानामा काम ढिलाइ गर्न छूट छैन,” दाहालले भने, “आयोजना निर्माणको काम अगाडि बढाउन ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड लगायत आयोजनासँग सम्बद्ध सबैलाई यसै कार्यक्रम मार्फत निर्देशित समेत गर्दछु।”
मुलुकमा ऊर्जा क्षेत्रको विकासका लागि यस आयोजना कोशेढुङ्गा सावित हुने प्रधानमन्त्री दाहालको भनाइ छ। एक हजार २०० मेगावाट उत्पादन क्षमता रहेको जलविद्युत् आयोजना गोरखा र धादिङको मात्र नभएर सिङ्गो देशको विकास र समृद्धिमा गुणात्मक योगदान गर्ने राष्ट्रिय गौरवको बहुआयामिक आयोजना रहेको उनको भनाइ थियो।
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ। काठमाडौंस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए।
सरकारले २०७९ असारमा आयोजना निर्माणका लागि कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो। नेपालको ऊर्जा सुरक्षाका लागि महत्त्वपूर्ण मानिएको आयोजना निर्माणका लागि सरकारले ६० अर्ब अधिकृत पूँजी रहने गरी कम्पनी स्थापना गरेको थियो।