पोखरामा फिर्के खोलाको खोजी
पोखराको अँधेरी कुनादेखि गाईघाटसम्मको आठ किलोमिटरमा कतिपय ठाउँमा ठूल्ठूला भवन त कतिपय ठाउँमा बस्तीद्वारा मिचिएको फिर्के खोलाको खोजी गर्न थालिएको छ।
धनमाया महर्जन २१ वर्षकी थिइन्, जब पहिलो पटक फिर्के खोलाको अन्तिम बिन्दु गाईघाटको बस्तीमा आइन्। त्यति वेला फिर्के खोला कलकल बग्थ्यो। धनमायासँगै गाईघाट बस्ती नै फिर्के खोलाकै पानी पिउँथ्यो।
छेउकै दरबारका राजहाँस पनि खोलामा टहलिन्थे। पानी यति सफा हुन्थ्यो कि खोलाभित्रका सेता ढुङ्गा टल्किन्थे। “सानो थियो, तर सफा थियो,” धनमाया सम्झिन्छिन्।
अहिले धनमाया ६५ वर्षकी भइन्। हेर्दाहेर्दै फिर्के खोला दूषित भएको उनी सुनाउँछिन्। अझ गाईघाट बस्तीले फिर्के खोलाको पानी पिउन छाडेको १० वर्षभन्दा बढी भइसक्यो। “यति सफा पानीमा अहिले प्लास्टिक, सिसा लगायत फोहोरैफोहोर बगेर आउँछ,” उनी भन्छिन्।
साउन ३ बिहानै फिर्के खोला किनारमा पोखराका मेयर धनराज आचार्यसँगै एक हुल मान्छे देख्दा धनमाया खुशी भइन्। अझ फिर्के खोलाको खोजीमा आएको सुनेपछि त उनी पुराना कुरा भन्न थालिन्। मेयर आचार्यसँगै सरकारी टोली खोलाको नापो लगाउन गाईघाट बस्ती पुगेको थियो। सबैलाई सरसर्ती नियाल्दै धनमाया बोलिन्, “हामी पहिल्यैदेखि यहाँ बस्यौं। अब हटाउँछौं भने पनि हामीलाई समस्या छैन, तर टाउकोमाथि वास चाहिं दिनुपर्यो।”
अतिक्रमणको चपेटामा परेको फिर्के खोलाको पुरानो आकार खोज्न प्राविधिक वासुदेव पौडेलेको नेतृत्वमा खोला सीमाङ्कन टोली गठन गरिएको छ। मेयर आचार्य, उपमेयर मन्जुदेवी गुरुङ, सरकारी अधिकारी लगायतको टोली फिर्के खोलाको अन्तिम बिन्दु गाईघाट पुगेको हो।
टोलीले खोलाको सीमा नाप्न प्रारम्भ गरेको छ। पोखरा महानगरपालिका-१८ को अँधेरी कुनामा मुहान रहेको फिर्के खोला पोखराका विभिन्न आठ वटा वडा छुँदै बगेको छ। जसमा वडा नं. २, ४, ५, ७, ८, १७ र ६ छन्। अन्तिमतिर वडा नंं ६ को लेकसाइडमा पुगेर टुङ्गिन्छ।
शहरको भित्री भाग भएर बग्ने फिर्के खोला मिचेर ठूल्ठूला भवन खडा गरिएका छन्। तिनमा व्यापारिक, सरकारी, व्यक्तिगत र धार्मिक संस्था समेत छन्। फिर्के खोलाकै बाटो रहेको पोखरा जिरो किमीमा खोलामाथि नै व्यापारिक भवन ठडिएका छन्। ती भवनबाट निस्किएको ढल, सेप्टिक ट्यांकको फोहोर फिर्के खोलामै मिसाइन्छ। त्यही मिसिएको फोहोर फिर्के खोला भएर बग्दै अन्ततः फेवा तालमा पुग्छ।
धनमाया आएकै वर्ष गाईघाट पुगेका बाबुराम अधिकारीको पनि फिर्के खोलामा पानी होइन, फोहोर बगिरहेको देख्दा मन अमिलो हुन्छ। २०३६ सालदेखि गाईघाट बस्तीमा बस्न थालेका ५८ वर्षीय बाबुराम खोलाकै पानी पिएको सुनाउँछन्। तर, अहिले खोला छुन समेत घिन मान्नुपर्ने अवस्था आएको उनी दुखेसो गर्छन्।
“खोला सानो थियो। त्यही पानी पिउँथ्यौं,” उनी भन्छन्, “१०-१२ वर्ष भयो, फिर्के खोला फोहोर भएको। बस्ती अगाडि त सफा गरेर राखेका छौं, नत्र कहाँ कहाँको फोहोर आएर थुप्रिन्थ्यो।”
स्थानीय चेतराम रनपालसँग फिर्के खोलासँगको रमाइलो अनुभव छ। चेतराम ११ वर्षका मात्र थिए, जब पहिलो पटक गाईघाट बस्तीमा आए। खोलाले बस्ती छेउमै बनाएको तालमा पौडी खेल्दै बीच भागसम्म पुगेर पानी पिउँदै बित्यो उनको बाल्यकाल। अहिले ४९ वर्ष पुगेका उनी भन्छन्, “आजभोलि त तालको बीचमा पुग्न घिन र डर पनि लाग्छ।”
प्लास्टिक मिसिएको फोहोर फिर्के खोलामा बग्दै आउँछ। सेप्टिक ट्यांकको फोहोर पनि मिसिएर आउने भएकाले गन्हाउँछ। त्यही पानी फेवातालमा आइपुग्छ। फिर्के यो रूपमा देख्दा चेतराम चिन्तित छन्।
उत्तरको अँधेरी कुनादेखि शुरू भएको फिर्के खोला पर्स्याङ, मालेपाटन, बुलौंदी हुँदै फेवातालमा मिसिन्छ। आठ किलोमिटरमा बग्ने खोलाको अस्तित्व नै सङ्कटमा छ। स्थानीय बासिन्दाका अनुसार कतिपय ठाउँमा ४० मिटरसम्म फैलिएको थियो। तर, कतिपय ठाउँमा खोलामाथि नै संरचना बनेका छन्।
२०३२ सालमा नापी विभागले फिर्के खोलाको क्षेत्र १० मिटर छुट्याएको थियो। त्यही मापदण्डमा रहेर फिर्के खोला खाली गराउनुपर्ने आवाज उठिरहेको छ। तर, पोखरा महानगरका मेयर आचार्यले पुरानो मापदण्ड उपयुक्त नहुने भन्दै आवाज उठेकाले पाँच मिटर कायम गर्ने बताएका छन्।
फिर्के खोलाको सीमाङ्कन सहित पोल गाड्ने काम थालिएको छ। गाईघाटमा १ नम्बर पोल गाड्दै मेयर आचार्यले मापदण्ड लागू गरिने बताए। शहरको बीचबाट बग्ने फिर्के, सेती लगायत खोलाको मापदण्ड बनाएर कार्यान्वयनका लागि महानगर अघि बढेको उनको भनाइ छ।
त्यसका लागि २०३२ सालको नक्सालाई आधार मानेर खोलाकोे वास्तविक बाटो खोज्न लागिएको हो। उनका अनुसार हाल खोलाको मापदण्ड नभई खोलाघर मात्रै सीमाङ्कन गरिंदै छ। “फिर्के खोलाबाट शुरूआत गरेका छौं। मापदण्डको काम गरिनुअघि पहिलो चरणमा ‘राइट अफ वे क्लियर’ को काम गर्न सीमाङ्कन शुरू गरेका हौं,” आचार्यले भने।
फिर्के मानवीय अतिक्रमणले दुर्गन्धित बनेको र फेवातालमा मिसिएको पाइएको उनले बताए। सेप्टिक ट्ंयाक मिसाउने घरहरूलाई १५ दिनभित्र हटाउन समय दिइएको छ।
त्यस्तै, सीमाङ्कन समितिले एक साताभित्र अन्तिम बिन्दु गाईघाटबाट उद्गम बिन्दु अँधेरी कुनासम्म फिर्केको सीमाङ्कनको काम सक्नेछ। त्यसपछि फिर्के खोलाको मापदण्ड लागू गरेर खाली गरिने पोखरा-१७ की वडाध्यक्ष राधिका शाहीले बताइन्। “फिर्के खोलाको मापदण्ड लागू गर्छौं, जहाँबाट जस्तो दबाब आए पनि रोकिन्न, लागू गरेरै छाड्छौं,” वडाध्यक्ष शाहीले भनिन्।
फिर्के खोलाको संरक्षण फेवा तालको संरक्षणसँग जोडिएको संरक्षणकर्मी रामबहादुर पौडेलको भनाइ छ। फेवा ताल संरक्षण गर्न पनि फिर्के खोला बचाउनुपर्ने पौडेलले बताए। “विभिन्न शक्तिकेन्द्रको आडमा फिर्के मिचिएको छ। २८ ठाउँमा फिर्के खोला विवादित छ, तर त्यसमा कतिपय मानवीय अतिक्रमण छ, कतिपय ठाउँमा प्राकृतिक बाँध पनि भएको छ,” उनले भने। यसको मापदण्ड लागू गरेर फिर्के खोलालाई आफ्नै गतिमा बग्न दिनुपर्ने उनको भनाइ छ।