‘काठमाडौं महानगरले सहमति कार्यान्वयन नगरेसम्म फोहोर फाल्न दिंदैनौं’
काठमाडौं महानगरपालिकाले यसअघि गरेको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका बासिन्दाले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न नदिने अडान लिएका छन्।
एक वर्षअघि काठमाडौं महानगर र प्रभावित क्षेत्रका बासिन्दाबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै साउन १ गतेदेखि बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा गर्न दिइएको छैन। यो अवरोध माग पूरा नहुँदासम्म जारी रहने ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले बताए।
स्थानीय बासिन्दाको अवरोधकै कारण यसअघि पनि पटक पटक काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको थियो। यस पटक फेरि स्थानीयले अवरोध गर्दा काठमाडौंमा फोहोर थुप्रिन थालेको छ।
नुवाकोटको ककनी गाउँपालिका-३ का वडाध्यक्ष घननाथ बजगाईंले यसअघि काठमाडौं महानगरसँग भएको सहमति पूरा नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने बताए। धुनीबेंसी नगरपालिका-१ का वडाध्यक्ष मानबहादुर तामाङ पनि सहमति गरिएको एकवर्ष हुँदासम्म महानगरले माग पूरा गर्न चासो नदेखाएकाले फोहोर व्यवस्थापनमा रोक लगाउनुपरेको बताउँछन्।
काठमाडौं महानगरका पूर्वाधार सल्लाहकार सुनील लम्सालले स्थानीय बासिन्दाले आसपासको तीन हजार रोपनी जग्गा अधिग्रहण गर्न माग गरेको बताए। तर, काठमाडौं महानगर एक्लैले त्यो काम गर्न नसक्ने लम्सालको भनाइ छ।
१५ वर्षदेखि सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकाको फोहोर गत भदौ ७ गतेदेखि बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिएको हो। फोहोर व्यवस्थापनमा रोक लगाएपछि फोहोरमैला व्यवस्थापन संघले अदालतमा रिट दर्ता गरेको थियो।
रिटमा सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिप्परसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको थियो। तर, स्थानीय बासिन्दा भने माग पूरा नभएसम्म फोहोर व्यवस्था गर्न नदिने अडानमा छन्।
हाल काठमाडौं उपत्यकाका १८ स्थानीय तहबाट दैनिक ३०० गाडी फोहोर बञ्चरेडाँडामा व्यवस्थापन गरिंदै आएको छ। तीन दिनदेखि फोहोर व्यवस्थापनमा अवरोध भएपछि समस्या उत्पन्न भएको छ।