प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय
नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो भए १० दिनभित्र उजुरी गर्न पनि आह्वान गरिएको छ।
संघीय संसद्, संसदीय सुनुवाइ समितिले परराष्ट्र सेवाका ६ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। आज बसेको समितिको बैठकले प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र उनीहरूको नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने पनि निर्णय गरेको छ।
सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्वीट्जरल्यान्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर वली (थाइल्यान्ड)का लागि राजदूतमा नाम सिफारिश गरी संसदीय सुनुवाइका लागि पठाएको थियो।
आजको बैठकमा केही सदस्यले भने विगतका संसदीय सुनुवाइमा झैं प्रस्तावित राजदूत सिफारिश गर्ने सन्दर्भमा संविधानको मर्म र भावना अनुरूप समावेशी सिद्धान्त अपनाउने विषयमा के कसो भएको हो भन्नेबारे जिज्ञासा राखेका थिए। परराष्ट्र सेवाभन्दा बाहिरका व्यक्तिको नाम प्रस्तावित गरिंदा बैठकमा उठेका विषयलाई सरकार र राजनीतिक दलले गम्भीरताका साथ लिनुपर्ने सदस्यहरूको भनाइ थियो।
यस्तै, मन्त्रालयबाट सिफारिश हुँदा केही व्यक्तिलाई दोहोर्याइएको, इच्छाएकै स्थानमा पठाइने गरेको तथा केहीले भने त्यो अवसर नपाउने गुनासो रहेकाबारे पनि सदस्यले बैठकलाई जानकारी गराएका थिए।