सिनामंगलमा शङ्कास्पद वस्तु राखेको आरोपमा एक युवक पक्राउ
काठमाडौंको सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसल अगाडि शङ्कास्पद वस्तु राखेको आरोपमा एक युवक पक्राउ परेका छन्।
शङ्कास्पद वस्तु राखेको आरोपमा रौतहटका २८ वर्षीय खजाञ्जी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। उनलाई प्रहरी वृत्त, गौशालामा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।
बुधबार बिहान सुनचाँदी पसल अगाडि शङ्कास्पद वस्तु भेटिएको थियो। त्यसलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारिसकेको छ।
शङ्कास्पद वस्तु राखिएको ठाउँमा नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा भेटिएको थियो। पर्चामा सुनचाँदी पसलका सञ्चालकलाई सहयोग गर्न भनिएको थियो।
पर्चामा ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुस्। तपाईंको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो। यहाँ आरडीएक्स बारुदको बम राखिएको छ। सावधान रहनुहोला’ भनिएको थियो।