बीएमडब्लूको ‘आईएक्स-३’ नेपालमा
बीएमडब्लूको सफल मोडल आइएक्स-३ नेपाली बजारमा आएको छ।
लक्ष्मी प्रिमियम मोटर्सले विद्युतीय मोडल आईएक्स-३ नेपाली बजारमा ल्याएको हो। पेट्रोलबाट चल्ने मोडल एक्स-३ को सफलतापछि आईएक्स-३ मोडल ल्याइएको जनाइएको छ।
स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स-३ विश्व बजारमा बीएमडब्लूको सर्वाधिक बिक्री हुने मोडल हो। विश्व बजारको जस्तै नेपाली बजारमा पनि सफलता मिल्ने कम्पनीको विश्वास छ।
नेपालमा बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै शून्य कार्बन उत्सर्जन गर्ने विद्युतीय भेहिकलको माग बमोजिम अल-इलेक्ट्रिक एसएभी आईएक्स-३ ल्याइएको जनाइएको छ।
यसको बलियो पक्ष निकै प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज मानिएको छ। यसमा ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर पाउन सकिन्छ।
आईएक्स-३ मा ५.० इ-ड्राइभ टेक्नोलोजी प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर छ।
यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ। यो ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्छ।