राष्ट्रपतिको विषयमा दाहालले ढाँटे कि खड्काले?
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको अभिव्यक्तिले राष्ट्रपति निर्वाचन र एमाले–माओवादी गठबन्धनको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले राख्दै आएको धारणाको खण्डन गरेको छ।
प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने प्रतिबद्धता जनाएपछि नै आफूहरूले प्रतिपक्षको बेन्चबाट दाहाललाई विश्वासको मत दिएको उपप्रधानमन्त्री तथा कांग्रेस नेता खड्काले बताएका छन्। खड्काले साउन २ मा शुरू भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै गत पुस १० गते नयाँ समीकरण बनेपछि संघ र प्रदेश सरकारबाट बाहिरिएको कांग्रेसले राष्ट्रपति पाउने पक्का भएपछि विश्वासको मत दिएको खुलासा गरेका हुन्।
उपप्रधानमन्त्री खड्काले बैठकमा भने, “आज मैले भन्नुपर्छ, त्यो विश्वासको मत हामीले दिएपछि राष्ट्रपतिको निर्वाचनमा एउटा वातावरण बनाएर नेपाली कांग्रेसको उम्मेदवारको पक्षमा फर्कने वातावरण बनाउनका लागि वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, एउटा तहमा। हाम्रो सभापतिको नेतृत्वमा विभिन्न चरणमा भएका वार्ताक्रममा भएको थियो। त्यही विश्वासका आधारमा हामीले विश्वासको मत दियौं। त्यही विश्वासको मतबाट पुस १० गते भत्किएको गठबन्धन पुन:स्थापित हुने एउटा राजनीतिक वातावरण बन्यो।”
प्रधानमन्त्री दाहालले भने गत पुस २६ मा कांग्रेसले विश्वासको मत दिइसकेपछि र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिने दिन प्रतिनिधि सभा विघटन ठीक थियो भन्ने आशयको भाषण गरेपछि एमाले–माओवादी गठबन्धन भत्किएको दाबी गर्दै आएका छन्।
तीन साता पहिले कान्तिपुर टेलिभिजनलाई दिएको अन्तर्वार्तामा दाहालले भनेका छन्, “मैले विश्वासको मत लिने दिन एमाले नेतृत्वबाट जसरी संसद् विघटन ठीक थियो भनेर त्यसलाई पुष्टि गर्ने जुन कोशिश भयो, वस्तुत: यथार्थमा भन्नुहुन्छ भने त्यही दिन त्यो मोर्चा विघटन भयो।”
कान्तिपुर टेलिभिजनका पत्रकार दिलभूषण पाठकसँगको अन्तर्वार्तामा दाहालको भनाइ:
मूल कुरो के हो भने एमाले नेतृत्वसँग सरकार बनाउने कुरामा सँगै जाने सहमति भएपछि जे जे कुरा गर्ने वा जे जे कुरा नगर्ने भनिएको थियो त्यो एमालेको नेतृत्वबाट पालन भएन भन्ने मेरो मुख्य दाबी पनि छ, आरोप पनि छ। किनकि विगतको संसद् विघटन सही थियो वा गलत भन्नेमा एमाले र हामी बिल्कुल विपरीत ध्रुवमा उभिएका थियौं। त्यसकारण यो विषयलाई कम्तीमा दुई-तीन वर्ष चर्चै नगरौं, जे सहमति हुन्छ त्यसै अनुसार जाऔं भनिएको थियो। तर, मैले विश्वासको मत लिने दिन एमाले नेतृत्वबाट जसरी संसद् विघटन ठीक थियो भनेर त्यसलाई पुष्टि गर्ने जुन कोशिश भयो, वस्तुत: यथार्थमा भन्नुहुन्छ भने त्यही दिन त्यो मोर्चा विघटन भयो। किनकि त्यो कुरा मैले स्विकार्न सक्ने थिएन। संसद् विघटनका विरुद्ध त्यत्रो संघर्ष गरेको, त्यसको नेतृत्व गरेको, कतिपय वेला लाखौं जनतालाई सडकमा ल्याएर आन्दोलन गरेको नेतृत्व विघटन सही थियो भन्नेसँग सँगै बस्न सम्भव थिएन।
केन्द्रीय समिति बैठकमा उपप्रधानमन्त्री खड्काद्वारा व्यक्त विचार:
हाम्रो सभापतिको नेतृत्वमा भएको गठबन्धन पुस १० गते विविध कारणले विभाजित भयो। पुस १० को दुर्घटनापछि नेपाली कांग्रेस संघमा, प्रदेशमा र सबै ठाउँमा सत्ता बाहिर हुन पुग्यो। सरकारमा मात्रै होइन राज्यका अन्य निकायमा पनि कांग्रेस बाहिर रहने अवस्था प्रारम्भ भयो। पुस १० गते बेलुकीदेखि नै भत्किएको गठबन्धनलाई पुन:स्थापित गर्ने प्रयत्नको प्रारम्भ गरियो। १० गतेको परिदृश्यलाई २६ गते १६ दिनको बीचमा हामीले एउटा परिस्थिति निर्माण गर्यौं। आज मैले भन्नुपर्छ, त्यो विश्वासको मत हामीले दिएपछि राष्ट्रपतिको निर्वाचनमा एउटा वातावरण बनाएर नेपाली कांग्रेसको उम्मेदवारको पक्षमा फर्कने वातावरण बनाउनका लागि वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, एउटा तहमा। हाम्रो सभापतिको नेतृत्वमा विभिन्न चरणमा भएका वार्ताक्रममा भएको थियो। त्यही विश्वासका आधारमा हामीले विश्वासको मत दियौं। त्यही विश्वासको मतबाट पुस १० गते भत्किएको गठबन्धन पुन:स्थापित हुने एउटा राजनीतिक वातावरण बन्यो।
प्रधानमन्त्री दाहालको भनाइलाई विश्वास गर्ने हो भने उपप्रधानमन्त्री खड्काले केन्द्रीय समिति बैठकमा झूटो बोलेको देखिन्छ। तर, खड्काको धारणा सही हो भने चाहिं दाहालले सरासर ढाँटेको प्रस्ट हुन्छ।