मेस्सी आबद्ध एमएलएसभन्दा आफू आबद्ध साउदी प्रो लिग उत्कृष्ट भएको रोनाल्डोको दाबी
“साउदी प्रो लिग एमएलएसभन्दा उत्कृष्ट छ। अब सबै खेलाडी यहाँ (साउदी) आउँदै छन्। एक वर्षभित्रमा अरू उत्कृष्ट खेलाडी पनि साउदी अरेबिया आउनेछन्,” रोनाल्डोले भने।
पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सी आबद्ध मेजर लिग सकर (एमएलएस)भन्दा आफू आबद्ध साउदी प्रो लिग उत्कृष्ट भएको बताएका छन्। साउदी अरेबियन क्लब अल नासर र स्पेनिश क्लब सेल्टा भिगोबीच सोमबार भएको मैत्रीपूर्ण खेलको पहिलो हाफपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उक्त खेलमा अल नासरले ५-० को हार बेहोर्यो। रोनाल्डोले दोस्रो हाफ खेलेनन्।
सञ्चारमाध्यमसँग कुरा गर्दै रोनाल्डोले आफू अमेरिका वा यूरोपको कुनै क्लबमा जाने योजनामा नभएको पनि स्पष्ट पारे। “म शतप्रतिशत निश्चित छु- म कुनै पनि यूरोपियन क्लबमा आबद्ध हुँदिनँ। म ३८ वर्ष पुगिसकें,” उनले भने, “यूरोपियन फूटबलले आफ्नो गुणस्तर गुमाइसकेको छ। राम्रो गरिरहेको एक मात्र भनेको इंग्लिस प्रिमियर लिग हो। उनीहरू अरू लिगभन्दा निकै माथि छन्।”
आफूले बाटो खोलिदिएकै कारण साउदी लिग अरू खेलाडीको पनि रोजाइमा परेको रोनाल्डोले बताएका छन्। उनी साउदी प्रो लिगमा आबद्ध भएपछि करीम बेन्जिमा, एनगोलो कान्टे लगायत पनि साउदी क्लबमा आबद्ध भएका छन्।
“साउदी प्रो लिग एमएलएसभन्दा उत्कृष्ट छ। अब सबै खेलाडी यहाँ (साउदी) आउँदै छन्। एक वर्षभित्र अरू उत्कृष्ट खेलाडी पनि साउदी अरेबिया आउनेछन्,” रोनाल्डोले भने।
विश्वकप विजेता मेस्सी गत आइतबार अमेरिकी मेजर लिग सकरको क्लब इन्टर मियामीमा आबद्ध भएका छन्। साउदी अरेबियन क्लब अल हिलालको आकर्षक सुविधा अस्वीकार गर्दै उनी अमेरिकी क्लबमा आबद्ध भएका हुन्।