सप्तरीमा नाबालिगमाथि सामूहिक बलात्कार, चार जना पक्राउ
कैलाशले नै सुदीप, मनोज र दीपेशलाई निर्देशन दिई आफ्नै अगाडि बलात्कार गर्न लगाएको बयानबाट खुल्न आएको प्रहरी स्रोतले बताएको छ।
सप्तरीको कञ्चनरूप नगरपालिकामा एक नाबालिगमाथि सामूहिक बलात्कार भएको छ। वडा नम्बर १२ धर्मपुर टोलमा गत शुक्रबार राति १७ वर्षीया नाबालिगमाथि बलात्कार भएको हो।
बलात्कार घटनाका योजनाकार सहित चार जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार राईले जानकारी दिए। “घटनामा संलग्न चारै जनालाई हामीले नियन्त्रणमा लिएका छौं,” उनले भने, “थप अनुसन्धान भइरहेको छ।”
प्रहरी नायब उपरीक्षक राईका अनुसार पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका-१२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी छन्।
कैलाशले नै सुदीप, मनोज र दीपेशलाई निर्देशन दिई आफ्नै अगाडि बलात्कार गर्न लगाएको बयानबाट खुल्न आएको प्रहरी स्रोतले बताएको छ।
प्रहरीका अनुसार शुक्रबार मध्यराति ती नाबालिगको घरमै पसेर चारै जनाले कोही नबस्ने छेउको सोमबहादुर मगरको घरमा लगी कैलाशको निर्देशनमा खुकुरी देखाएर धम्की दिंदै पालैपालो बलात्कार गरेका थिए।
घटनापछि नाबालिग र उनका अभिभावकले जाहेरी दिएका थिए।