नर्सिङ, फार्मेसी र एचएको अध्ययन शुल्क बढाउने निर्णय खारेज नगरे आन्दोलन गर्ने डा. केसीको चेतावनी
नयाँ शैक्षिक सत्रदेखि एचएका विद्यार्थीले अध्ययन शुल्क पाँच लाख २३ हजार ८२० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि उनीहरूले चार लाख चार हजार तिर्ने गरेका थिए।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले नर्सिङ लगायतका प्राविधिक विषय अध्ययनको शुल्क बढाएको भन्दै आपत्ति जनाएका छन्। एकै वर्षमा २५ देखि ३० प्रतिशत शुल्क बढ्दा विद्यार्थी र अभिभावकको ढाड सेकिएको भन्दै उक्त निर्णय तत्काल खारेज नगरे आन्दोलन गर्ने डा. केसीले चेतावनी पनि दिएका छन्।
उनले विज्ञप्ति जारी गर्दै सीटीईभीटीमा स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका पार्टीका कार्यकर्ता तथा माफिया पदाधिकारीका कारण यस्तो निर्णय भएको बताएका छन्।
‘चिकित्सा शिक्षा ऐन अनुसार चिकित्सा शिक्षा आयोग बनिसकेको आजको अवस्थामा आयोगको परामर्श विना सीटीईभीटीले यस्तो निर्णय गर्नु समेत गलत र बदनियतपूर्ण देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
सीटीईभीटीले नयाँ शैक्षिक सत्रदेखि लागू हुने गरी नर्सिङ, सामान्य चिकित्सा (एचए) र फार्मेसीको अध्ययन शुल्क बढाएको थियो। बढाइएको शुल्क तालिका अनुसार अब नर्सिङ पढ्ने विद्यार्थीले तीन वर्षमा ६ लाख २४ हजार २३० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि नर्सिङको पढाइ शुल्क चार लाख ७५ हजार थियो।
त्यस्तै, एचएका विद्यार्थीले पाँच लाख २३ हजार ८२० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि एचएका लागि चार लाख चार हजार शुल्क तोकिएको थियो।
यसैगरी, फार्मेसीका विद्यार्थीले तीन वर्षमा चार लाख २३ हजार ६६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। पहिले, फार्मेसीको अध्ययन शुल्क तीन लाख ३७ हजार मात्र थियो।