नागढुंगा–सिस्नेखोला सुरुङमार्ग: मुख्य टनेल करीब चार सय मिटर खन्न बाँकी
एक वर्षभित्र गाडी चलाउन मिल्ने बनाउने गरी सुरुङमार्गको काम तीव्र रूपमा अघि बढाइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सहित उच्च अधिकारी सहितको टोलीले (नागढुंगा–सिस्नेखोला) सुरुङमार्गको आज अनुगमन गरेको छ। भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्व मन्त्री गंगालाल तुलाधर, सडक विभाग र विश्व ब्यांकका उच्च अधिकारीको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गको स्थलगत निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। निर्माण प्रक्रियामा कुनै व्यावहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने उनले बताए।
मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे पनि जानकारी लिए। त्यस क्रममा सुरुङमार्गको मुख्य टनेल करीब ४०० मिटर र रेस्क्यू टनेल करीब ३५ मिटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनीयर नारायण दुवाडीले जानकारी दिए।
अबको केही महीनामा रेस्क्यू टनेल जोडिसक्ने र छिटै मुख्य टनेल जोड्ने तयारी छ। आउँदो एक वर्षभित्र गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्र रूपमा अघि बढाइएको उनले बताए।
सुरुङमार्गको शिलान्यास २०७६ कात्तिकमा गरिएको थियो। यसको लम्बाइ २.६८ किलोमिटर छ। यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यू टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन्।
कोरोना महामारी लगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महीना थपिएको हो। थपिएको समय अनुसार २०८१ असोजसम्म सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालन हुनेछ।