समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न कांग्रेस रूपान्तरण अभियानको माग
नेपाली कांग्रेस रूपान्तरण अभियानले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न माग गरेको छ।
अभियानका अगुवाहरूले साउन २ गते कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएको प्रतिवेदनमा संसदीय चुनाव प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत गर्नुपर्ने उल्लेख छ।
१६ पृष्ठको प्रतिवेदनमा स्थानीय, प्रदेश र संघीय संसद्को विद्यमान संरचना परिवर्तन गर्न माग गरिएको छ। राष्ट्रिय सभालाई समानुपातिक समावेशी बनाउनुपर्ने, राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग र समुदायको बनाउनुपर्ने, उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्ने अभियानको माग छ।
पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन भनिएको प्रतिवेदन मुख्यसचिव पौडेललाई बुझाइएको हो। अभियानका अगुवाहरूले केन्द्रीय समिति बैठक शुरू हुनुअघि प्रतिवेदन बुझाएका हुन्।