एक खेल बाँकी छँदै नेपाल इमर्जिङ कपबाट बाहिर
नेपाल एक खेल बाँकी छँदै एसीसी इमर्जिङ टीम्स कपबाट बाहिरिएको छ।
श्रीलंकाको कोलम्बोस्थित आर. प्रेमदशा रङ्गशालामा भएको खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। नेपालले दिएको १६८ रनको लक्ष्य भारतले २२.१ ओभरमै एक विकेट गुमाएर सजिलै पूरा गरेको छ।
भारतका लागि दुवै जना प्रारम्भिक ब्याटरले अर्धशतक प्रहार गरे। अभिषेक शर्माले ८७, साई सुदर्शनले ५० र ध्रुव जुरेलले २१ रन बनाए।
नेपालका लागि रोहित पौडेलले एक विकेट लिए। अन्य बलर प्रभावशाली बन्न सकेनन्।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३९.२ ओभरमा १६७ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ६५ रन बनाएका थिए। त्यस्तै, नेपालका लागि गुल्सन झाले ३८, देव खनालले १५ र सोमपाल कामीले १४ रन बनाएका थिए।
भारतका लागि निशान्त सिन्धूले चार, राजवर्द्धन हंकगरकरले तीन, हर्षित रानाले दुई र मानव सुथरले एक विकेट लिएका थिए।
यो जितसँगै भारत ‘ए’ को चार अङ्क भएको छ। त्यस्तै, पाकिस्तान ‘ए’ को पनि चार अङ्क छ। रनरेटका आधारमा भारत शीर्षस्थानमा छ। दुवै टोली यो समूहबाट सेमिफाइलनमा पुगेका छन्।
नेपालसँगै समूह ‘बी’ मा यूएई ‘ए’ ले पनि अङ्क जोड्न सकेको छैन। नेपाल र यूएई प्रतियोगिताबाट बाहिरिएका हुन्। अब अन्तिम खेलमा साउन ३ गते नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ।