ब्यांकिङ कसूरको आरोपमा लुम्बिनीका पूर्व मन्त्री यादव पक्राउ
लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री एवं नेकपा (एमाले)का नेता विजयबहादुर यादव पक्राउ परेका छन्।
ब्यांकिङ कसूर मुद्दामा जिल्ला अदालत, रुपन्देहीले यादवको नाममा पक्राउ पुर्जी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय, बाँकेले पक्राउ गरेको हो। उनलाई पक्राउ गरी जिल्ला अदालत, रुपन्देहीमा उपस्थित गराइने बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पूर्व मन्त्री यादवलाई आइतबार बाँकेको डुडुवा गाउँपालिका–१, होलियाबाट पक्राउ गरेको हो।
नेपाली कांग्रेसबाट राजनीति शुरू गरेका यादव २०७४ सालको चुनावमा टिकट नपाएपछि जनता समाजवादी पार्टी (जसपा)मा लागेका थिए। उनी जसपाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
पार्टी निर्णय विपरीत शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो। त्यति वेला उनले मन्त्रीसँगै प्रदेश सभा सदस्य पद पनि गुमाएका थिए।
जसपाले कारबाही गरेपछि उनी एमालेमा प्रवेश गरेका थिए। गत मंसीरमा भएको प्रदेश सभा चुनावमा एमालेबाट उम्मेदवार बनेका थिए। त्यति वेला उनी जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए।
उनी विरुद्ध ब्यांकिङ कसूरमा उजुरी परेको थियो। गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको ब्यांक अफ काठमाडौंको चेक बाउन्स भएपछि यादवमाथि मुद्दा दर्ता भएको थियो।
रुपन्देहीका प्रहरी प्रवक्ता एवं डीएसपी श्यामू अर्यालका अनुसार मुद्दा दर्तापछि यादव विरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। उनलाई बाँकेबाट रुपन्देही ल्याइँदै गरेको अर्यालले बताए।