निगमको न्यारोबडी जहाजले आजबाट नियमित उडान गर्ने
नेपाल वायुसेवा निगमको एउटा न्यारोबडी जहाजले आज साँझबाट नियमित उडान गर्ने भएको छ।
केही दिनदेखि ग्राउन्डेड रहेको ९एन-एकेडब्यू जहाजको नियमित मर्मतसम्भार भइरहेको निगमले जनाएको छ। दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको र अहिले मर्मत भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जनाएका छन्।
निगमले सोमबार प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘जहाज मर्मतपश्चात् आज बेलुकीसम्ममा नियमित उडानमा पठाइने जानकारी गराइन्छ।’
त्यस्तै, अर्को ९एन-एकेएक्स जहाजको बायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको प्रवक्ता पौडेलले जनाएका छन्। यसको इन्जिन मर्मत गराउने प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ।
यससँगै दुई वटा ए-३२० जहाजमा चरा ठोक्किएर प्राविधिक समस्या आएकाले ग्राउन्डेड रहेको निगमले जनाएको छ। ती जहाजको सट्टा अन्य जहाजबाट पूर्व निर्धारित उडान सुचारू गरिएको प्रवक्ता पौडेलले जनाएका छन्।