वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेबाटै ओपीडी सेवा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को निर्णय अनुसार वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेबाटै ओपीडी सेवा शुरू भएको हो।
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपीडी) बिहान ८ बजेबाटै शुरू भएको छ। यसअघि बिहान ९ बजेदेखि मात्र ओपीडी सेवा सञ्चालन हुँदै आएको थियो।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपीडी सेवा बिहान ८ बजेबाट शुरू गरिएको जानकारी दिए। दुवै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपराह्न २:३० बजेसम्म निर्धारण गरिएको उनले बताए।
वीर अस्पतालमा शल्यक्रिया सेवा बिहान ८ बजेदेखि शुरू हुने पनि अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले सबै कर्मचारीको ई–हाजिरी अनिवार्य गरिएको पनि जनाएको छ। अस्पतालबाट दैनिक तीन हजार बिरामीले ओपीडी सेवा लिइरहेका छन्।
ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले बिहान ८:१५ बजेदेखि ओपीडी सेवा शुरू गरिएको जानकारी दिए। उनका अनुसार ट्रमा सेन्टर अन्तर्गत रहेका सबै विभागमा बिहानैदेखि ओपीडी सेवा शुरू गरिएको हो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषद्को बैठकले वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपीडी सेवा शुरू गर्ने निर्णय गरेको थियो।