आन्तरिक उडानमा हवाई भाडा बढ्ने
आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन्।
नेपाल वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गरी आजदेखि लागू हुने गरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको छ। सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातायात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ।
वायुसेवा सञ्चालक संघले भनेको छ, ‘सरकारबाट बजेट वक्तव्य मार्फत अनिवार्य गरेको उक्त व्यवस्था अनुसार यस संघमा आबद्ध सम्पूर्ण वायुसेवा कम्पनीले आजदेखि लागू हुने गरी हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने व्यहोरा जानकारी गराइन्छ।’
एअरलाइन्सले मूल्य अभिवृद्धि कर उठाएसँगै आन्तरिक उडानको हवाई भाडा केही वृद्धि हुने संघले जनाएको छ।
यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आन्तरिक उडानको भाडा ६ प्रतिशतसम्म बढ्नेछ। प्रवक्ता बर्तौलाले भने, “इन्धन र विमानस्थल कर पनि भ्याट सहितको लिने गरिएको छ, यसमा थप अतिरिक्त शुल्क लाग्दैन।”