ललिता निवास प्रकरणमा १७ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति
ललिता निवासको जग्गा हिनामिना भएको घटनामा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आरोपीलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो। अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले बताए।
यस प्रकरणमा प्रहरीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, पूर्व सरकारी कर्मचारी सहित १७ जनालाई पक्राउ गरेको छ। उनीहरू विरुद्ध मुलुकी ऐन, २०२० को कीर्ते सम्बन्धी कसूर र संगठित अपराध कसूरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा कीर्ते गरेर व्यक्तिमा नाममा लगिएको पाइएको छ। यसअघि सीआईबीले अनुसन्धान सकेर ३०० जना विरुद्ध मुद्दा चलाउनुपर्ने राय सहितको प्रतिवेदन बुझाएको थियो। तर, सरकारी वकीलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन फिर्ता गरेको थियो।
त्यसपछि अहिले सीआईबीले पुनः अनुसन्धान थालेको हो। आरोपीमध्ये १७ जनाले थुना बाहिर राखेर अनुसन्धान गर्नुपर्ने गरी सर्वोच्चबाट अन्तरिम आदेश ल्याएपछि सीआईबीले त्यसको खारेजीको माग सहित भ्याकेट निवेदन दिएको छ। केही आरोपीले भने बन्दी प्रत्यक्षीकरणको रिट दिएका छन्।