रास्वपा रुपन्देहीमा विवाद, कुटाकुटपछि आरोप-प्रत्यारोप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको दुई समूहबीच विवाद उत्पन्न भएको छ। एक-अर्काबीच कुटाकुट भएपछि आरोप-प्रत्यारोपमा उत्रिका छन्।
आगामी मंसीरमा हुने पार्टीको महाधिवेशनलाई लक्षित गरी रास्वपा यति वेला क्षेत्र, जिल्ला र गाउँ तहमा संगठन विस्तारमा लागिरहेको छ। त्यसैवेला रास्वपाको रुपन्देही जिल्ला समितिका दुई समूहबीचको विवाद बाहिर आएको हो।
रास्वपाको सैनामैना नगर र्यापिड एक्सन टीम संयोजक दामोदर खत्रीले प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सदस्य विक्रम तिवारीको समूहले आफ्नो समूहलाई कुटपिट गरेको आरोप लगाएका छन्। बुटवलमा पत्रकार सम्मेलन गर्दै खत्रीले आफ्नो समूहमाथि असार २७ गते राति पार्टी कार्यालयमा बोलाएर कुटपिट गरेको आरोप लगाएका छन्। त्यसपछि उल्टै कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएको बताएका छन्।
पत्रकार सम्मेलन मार्फत खत्रीले पार्टीलाई विधान अनुसार चलाउनुपर्छ भन्ने आफ्नो मागलाई दबाउन प्रदेश उपसभापति घिमिरेको समूह कुटपिटमा उत्रिएको बताए। “आफूमाथि कुटपिट भए पनि पार्टीभित्रको कुरा भनेर प्रहरीमा उजुरी गरेनौं, तर उनीहरूले उल्टै हामी विरुद्ध उजुरी दिएका छन्,” उनले भने।
खत्रीले आफू स्थापनाकालदेखि नै पार्टीमा लागेको र पार्टीलाई विधान अनुरूप सञ्चालन गर्नुपर्छ भनेर आवाज उठाउँदा पार्टीका लुम्बिनी प्रदेश उपसभापति घिमिरे, जिल्ला संयोजक ज्ञवाली र क्षेत्र नं. २ का क्षेत्रीय सदस्य तिवारीको समूहले कुटपिट गरेको बताए।
हालै सम्पन्न भएको पार्टीको क्षेत्रीय निर्वाचनमा समेत प्रदेश उपसभापति घिमिरेले प्रतिनिधिहरूलाई प्रभावमा पारी उनीहरूका मोबाइलबाट आफैंले मत हालेर आफ्नो पदीय मर्यादा विपरीत काम गरेको आरोप लगाए। “सोही कारण पनि ममाथि कुटपिट गरिएको हो,” खत्रीले भने। शनिबारदेखि लागू हुने गरी आफूले पार्टी छोडेको पनि उनले बताए।
रास्वपा रुपन्देहीका संयोजक ज्ञवालीले भने दामोदर खत्रीले पार्टीका विभिन्न तह र पदमा रहेका व्यक्तिलाई मनपरी आरोप लगाउने र पार्टी अनुशासन विपरीत कार्य गर्दै आएकाले सदस्यबाट हटाइएको बताए। “दामोदर खत्रीलाई पार्टीले कुनै जिम्मेवारी दिएको थिएन। आफैंले र्यापिड एक्सन टीम क्षेत्र नं. २ को संयोजक घोषणा गरेका हुन्। पार्टीको निर्णय विपरीत गएकाले कारबाही गरिएको हो,” ज्ञवालीले भने।