जयनगरबाट बिजलपुरा आइपुग्यो रेल
भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भंगाहा बिजलपुरासम्म रेल सेवा सञ्चालन भएको छ।
आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सितापुर भंगहामा आयोजना गरिएको कार्यक्रममा विस्तार गरिएको रेल सेवाको शुभारम्भ गरेका छन्। मन्त्री ज्वालाले रेल सेवाको विस्तार यातायात क्षेत्रमा कोशेढुङ्गा सावित भएको बताए। उनले रेल सेवा विस्तारको कार्य अझ अगाडि बढाइने बताए।
जयनगर-जनकपुरधाम-कुर्थासम्मको ३५ किलोमिटरमा १५ महीनादेखि सञ्चालनमा हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटर समेत गरी ५२ किलोमिटरको दूरीमा सञ्चालन भएको छ। दोस्रो चरणको भौतिक पूर्वाधार निर्माणपछि रेल सेवा बिजलपुरासम्म विस्तार गर्न लागिएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले बताए।
तर, जग्गाको मुआब्जा विवादको कारण तेस्रो चरणको विस्तार कार्य रोकिएको छ। बिजलपुराबाट बर्दिबाससम्मको रेल्वे पूर्वाधार निर्माण हुन सकेको छैन।
यसअघि न्यारोगेज रेल्वे बिजलपुरासम्म सञ्चालनमा थियो। भारतमा शासन गरिरहेको तत्कालीन इस्ट इन्डिया कम्पनीले काठ ओसार्न भंगाहासम्म रेल सञ्चालन गरेको थियो। पछि बाढीले ट्र्याक बगाएपछि जनकपुरधामदेखि जयनगरमा सीमित बनेको थियो।
जयनगर-कुर्था ३५ किलोमिटर दूरीमा अहिले दैनिक दुई पटक रेल ओहोरदोहोर गर्दै आएको छ। यात्रुको चाप बढ्दै गएको नेपाल रेल्वे कम्पनीले जनाएको छ। सोमबारदेखि थप सेवा विस्तार गरी दैनिक तीन पटक ओहोरदोहोर गर्ने महाप्रबन्धक झाले बताए। यद्यपि भंगाहा स्टेशनबा६ दिनको एक पटक मात्र बिहान जाने र साँझ फर्किने सेवा प्रदान गरिनेछ।