सर्वोच्चमा मुद्दाको चाप छ, पुराना मुद्दा टुङ्ग्याउन दुई वर्ष लाग्छ: प्रधानन्यायाधीश कार्की
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अहिलेकै तरीकाले काम गर्दा सर्वोच्च अदालतमा रहेका पुराना मुद्दा टुङ्ग्याउन दुई वर्ष लाग्ने बताएका छन्।
आइतबार सञ्चारकर्मीसँगको छलफलमा प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतमा मुद्दाको चाप बढेको बताए। समयमा न्यायाधीश नियुक्त नहुँदा मुद्दा फर्स्योटमा ढिलाइ भएको उनले बताए।
प्रधानन्यायाधीश कार्कीले भने, “सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सहित २१ न्यायाधीश रहने व्यवस्था छ, त्यस अनुरूप हुन नसक्दा पाँच न्यायाधीशले मात्र काम गर्नुपरेको अवस्थामा मुद्दाको चाप बढेको हो।”
अहिले सर्वोच्च अदालतले मुद्दा फर्स्योट प्रक्रिया तीव्र रूपमा अघि बढाएको उनको भनाइ थियो। “अहिलेको तरीकाले काम गरेमा दुई वर्षमा पुराना मुद्दा फर्स्योट गर्न सकिन्छ,” कार्कीले भने।
आर्थिक वर्ष २०६७/६८ सम्मका मुद्दाको छिनोफानो भएको जानकारी दिंदै प्रधानन्यायाधीश कार्कीले एक वर्षको अवधिमा तीन हजार ५०० सयभन्दा बढी पाँच वर्ष नाघेका मुद्दा फर्स्योट भइसकेको बताए। पुराना मुद्दालाई साताको चार दिन चार इजलासमा प्राथमिकता दिएर हेरिरहेको उनले जानकारी दिए।
उनले समयमा न्याय परिषद्को बैठक बस्न नसक्दा न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ भएको बताए। प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ हुँदा मुद्दा फर्स्योटमा कठिनाइ भएकाले जतिसक्दो छिटो परिषद्को बैठक राख्ने तयारी गरिरहेको बताए।
सर्वोच्च अदालतमा सात तथा उच्च अदालतमा ६० न्यायाधीशको पद खाली हुन लागेको उल्लेख गर्दै उनले भने, “संवैधानिक व्यवस्था अनुसार एक महीना अगाडि नै सिफारिश हुनुपर्ने हो, तर न्याय परिषद्को बैठक बस्न नसक्दा ढिलाइ भएको छ।”
प्रधानन्यायाधीश कार्कीले उच्च र जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झार्ने योजनाका साथ काम गरिरहेको बताए। आफूले अनुगमनका क्रममा पनि मुद्दा फर्स्योट प्रभावकारी तरीकाले भएको पाएको उल्लेख गरे।